८ वैशाख २०८१ शनिबार
समाज

पत्रकार महासंघ गण्डकी प्रदेशको छुट्टै कार्यालय

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य । तस्बिर : सन्देश/नागरिक

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आफ्नो छुट्टै कार्यालय बनाएको छ । महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ कास्कीको भवनमा तला थपेर आफ्नो छुट्टै कार्यालय बनाएको हो । कार्यालयको शुक्रबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरे ।

महासंघ गण्डकी प्रदेशको कार्यालयमा एउटा प्रेस कन्फरेन्स हलसहित ३ ३ वटा कोठा छन् । जुन निर्माण गर्न ३५ लाख रुपैयाँ लागेको अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए । उनका अनुसार कार्यालय निर्माणका लागि गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यस्तै कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ उपलब्ध गराएकी थिइन् । त्यसबाहेक पोखरा महानगरपालिकाले ४ लाख रुपैयाँ दिएको थियो । त्यस्तै कार्य समितिबाट करिब १ लाख रुपैयाँ संकलन गरिएको थियो । कार्यालय बनाउँदा लागेको खर्चमध्ये १० लाख रुपैयाँ ठेकेदारलाई तिर्न बाँकी रहेको उनले बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष आचार्यले पत्रकार महासंघको नया नेतृत्वका लागि चैत पहिलो वा दोस्रो सातासम्म चुनाव हुने बताए । ‘चैत १६ गते महासंघको स्थापना दिवस हो,’ उनले भने, ‘उक्त दिन नवनिर्वाचित समितिलाई पदभार ग्रहण गराउनेगरी चुनाव गर्ने तयारी भइरहेको छ ।’ उनले चुनावमा जुनसुकै पार्टी निकटको संगठनबाट टिकट लिए पनि निर्वाचित भइसकेपछि त्यो पार्टी र संगठन बिर्सेर सबैको साझा भएर काम गर्नुपर्ने बताए । उनले विगतमा जिल्लादेखि केन्द्रसम्मको अधिवेशनमा नीतिगत छलफलभन्दा पनि राजनीति भएकाले यसपटक साधारण सभा र निर्वाचन छुट्टाछुट्टै गर्न लागिएको बताए । त्यसका लागि महासंघको पोखरा साधारण सभाले विधान नै परिवर्तन गरेर जिल्ला, प्रदेश र केन्द्रको चुनाव एकैदिन गर्ने व्यवस्था गरेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय रामकृष्ण ज्ञवाली र नवीन कुइँकेलले महासंघको चुनाव नजिकिएकाले पत्रकारको हक, हित र अधिकारका लागि लड्न सक्ने नेतृत्व चयनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष पौडेलले आफूहरू निर्वाचित भएर आउँदा कार्यालयसमेत नहुँदा त्यतिबेलै बनाउने संकल्प गरेको र त्यो अहिले आएर पूरा भएकोमा खुशी व्यक्त गरे । ‘निर्वाचित भएलगत्तै महासंघको संस्थापक भएको नाताले महासंघको जग हाल्छु भनेको थिएँ,’ उनले भने, ‘स्रोत र साधनको अभावमा यो चुनौतीपूर्ण थियो, चुनौती पार गर्न सफल भइयो ।’  

कार्यक्रममा कार्यालय भवन निर्माणका लागि सहयोग गर्ने प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सांसद भट्टराई अधिकारी, पोखरा महानगरपालिका, नेपाल पत्रकार महासंघ कास्की तथा महासंघ गण्डकी प्रदेशका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App