१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिसि क्यामेराबाट वडाको निगरानी

सिसि क्यामेराबाट आफ्नो क्षेत्रलाई निगरानी गर्दै नेपालगन्ज–४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहना । तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सल्यानी बाग क्षेत्रबाट केही समयअघि एउटा मोटरसाईकल चोरी भयो । चोरीको हल्ला टोलभरी फैलियो, तर चोर तत्काल पत्ता लगाउन सकिएन । त्यसपछि स्थानीय बासिन्दाको ध्यान नेपालगन्ज उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले जडान गरेको सिसि क्यामेरातर्फ सोझियो ।

प्रहरीको समन्वयमा कार्यालयमा रहेको सिसि क्यामेराको फुटेज हेर्दा चोरको पहिचान गर्न सफल भए । क्यामेराको मद्दतले चोरी भएको मोटरसाईकल फिर्ता पाए । सोही टोलमा केही समयअघि एउटा सडक दुर्घटना भयो । दुर्घटना गराएर मोटरसाईकल भाग्यो । स्थानीयले सल्यानी बागस्थित वडा कार्यालयमा रहेको सिसि क्यामेराको फुटेज हेरेर मोटरसाईकलको नम्बर पत्ता लगाए । त्यसपछि यातायात कार्यालयबाट उक्त मोटरसाईकल धनीको पहिचान गरे र उसलाई पनि कारबाहीको दायरामा ल्याउन सफल भए ।

नेपालगन्ज उपमहानगरपालिका कार्यालयका अनुसार वडा नम्बर ४ बाहेक अन्य वडाले यसरी आफ्नो क्षेत्रमा शान्ति, सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेका छैनन् । उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा ४ नम्बर वडाले गरेको सिसि क्यामेरा जडान कार्य पहिलो भएको बताए ।   

यि त केही प्रतिनिधी मुलक घटना मात्र हुन् । नेपालगन्ज उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले जडान गरेका सिसि क्यामेराका कारण थुप्रै घटना, दुर्घटनामा अनुसन्धान गर्न प्रहरीलाई सहज भएको छ । वडा कार्यालयले दैनिक रुपमा अचेल आफ्नो क्षेत्रको निगरानी सिसि क्यामेराबाटै गरिरहेको छ । कार्यालयले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट विभिन्न स्थानमा १२ वटा सिसि क्यामेरा जडान गरेको थियो । कार्यालयका अनुसार जडित ती क्यामेरा ‘उच्च’ क्वालिटीका हुन् । जसबाट ब्यक्तिको सहजै पहिचान गर्न सकिन्छ ।

वडाअध्यक्ष मोहम्मद सफिक बेहना सिसि क्यामेरा जडान भएपछि चोरी तथा सडक दुर्घटनामा संलग्न ब्यक्तिको पहिचान गर्न धेरै सहज भएको बताउँछन् । उनी भन्छन्, ‘समाजमा बिकृती, चोरी, सडक दुर्घटना, गलत काम नहोस् भनेर नै वडामा भनेर मैले सिसि क्यामेरा जडान गरेको हुँ, वडाको सबै क्षेत्रलाई समेटेर यसवर्ष अझै ४० वटा सिसि क्यामेरा जडान गर्ने मेरो योजना छ ।’ वडाअध्यक्ष बेहनाका अनुसार उक्त वडामा ४० हजार घरधुरी छ । सबै वडाबासीको शान्ति, सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको र यस कार्यले अपराध नियन्त्रणमा प्रहरीलाई धेरै सजिलो भइरहेको उनले सुनाए । नेपालगन्ज उपमहानगरभित्र कुल २३ वटा वडा छन् ।  

नेपालगन्ज उपमहानगरपालिका कार्यालयका अनुसार वडा नम्बर ४ बाहेक अन्य वडाले यसरी आफ्नो क्षेत्रमा शान्ति, सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेका छैनन् । उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा ४ नम्बर वडाले गरेको सिसि क्यामेरा जडान कार्य पहिलो भएको बताए । ‘आफ्नो वडाको शान्ति सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेको यो पहिलो नै हो, मलाई जानकारी भए अनुसार अरु वडाले यस्तो काम गरेका छैनन्,’ उनले भने । सबै वडाले सिसि क्यामेरा जडान गरेर आफ्ना वडाबासीलाई शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउन सक्नुपर्ने राणाको भनाई छ ।

अपराध अनुसन्धान गर्नमा प्रविधीले प्रहरीलाई धेरै सजिलो बनाइदिएको र त्यसमा पनि वडा कार्यालयले जडान गरेका सिसि क्यामेराबाट थप बल पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवम् प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का बताउँछन् । ‘सिसि क्यामेराले सानादेखी ठुला घटनाको निगरानी गर्न सकिन्छ, यस्ता क्यामेरा सबै वडातिर भइदिए धेरै राम्रो हुन्थ्यो,’ उनले भने । प्रहरीले अपराध अनुसन्धान गर्दा जहाँ अप्ठ्यारो हुन्छ, त्यहाँ सिसि क्यामेराको साहारा लिने गरेको वडा प्रहरी इन्चार्ज खड्काले सुनाए ।  

वडाले गरेको कामको नागरिक स्तरबाट पनि प्रशंसा भइरहेको छ । वडा नम्बर ४ का स्थानीय अनिश शाहले सिसि क्यामेरा जडान भइसकेपछि आफ्नो टोलमा भएका थुप्रै घटनामा सफलता प्राप्त भएको बताउँछन् । ‘वडा कार्यालयले सिसि क्यामेरा जडान गरेका कारण धेरै घटना र दुर्घटनामा संलग्न ब्यक्तिलाई समात्न सफल भयौं, यस्तो काम नेपालगन्जका अन्य सबै वडाले पनि गरिदिए धेरैं राम्रो हुन्थ्यो,’ शाहले भने ।

प्रकाशित: १ फाल्गुन २०७७ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App