८ वैशाख २०८१ शनिबार
समाज

‘जहाँ नारीलाई देवीसरह पुजिन्छ त्यहीँ किन बढ्दैछ बलात्कार ?’

प्रधानमन्त्रीलाई छात्राहरूको पत्र

म्याग्दीका प्रजिअलाई ज्ञापनपत्र पढेर सुनाउँदै छात्रा। तस्बिर:नागरिक

विद्यालय पोसाकमै जिल्ला प्रशासन कार्यालय म्याग्दी पुगेका केही छात्रा प्रजिअ उमाकान्त अधिकारीको कार्यकक्षमा प्रवेश गरे। उनीहरूले बालिका र किशोरीमाथि बढ्दो असुरक्षाबारे गुनासोसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसम्म कसरी पुर्‍याउन सकिन्छ भनेर जिज्ञासा राखे।

 प्रजिअ अधिकारीले आफूमार्फत सो कार्य सजिलै हुन सक्ने विश्वास दिलाएपछि ती छात्राहरूले बलात्कारपछिको हत्यामा संलग्नको पहिचान हुन नसक्दा आफूहरूले असुरक्षित महसुस गरिरहेको सन्देश समेटिएको सन्देश प्रधानमन्त्रीसम्म पुर्‍याइदिन अनुरोध गरे। देशका विभिन्न भूभागमा बलात्कारपछि कलिला विद्यार्थीको हत्या हुन थालेको उल्लेख गर्दै उनीहरूले प्रजिअमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफूहरूलगायत देशभरिका बालिका तथा किशोरीमाथि सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखे।

बेनीस्थित लिटल गार्डेन एकेडेमीका छात्राहरूले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यारालाई हदैसम्मको सजायको माग गर्दै शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन्। ज्ञापनपत्र बुझाउने क्रममा विद्यालयकी गुणस्तर वृत्त समूहकी संयोजक एलिशा खड्काले निर्मला पन्तको बलात्कारपछि हत्याजस्तै हरेक किशोरीले त्यही नियति भोग्नुपर्ने हो कि भन्दै पलपल असुरक्षित महसुस हुने गरेको बताइन्।

‘आफ्नै ठाउँमा हिँड्दा पनि कसैको कुदृष्टि त परेको छैन भनेर भयभीत छौं,’ उनले भनिन्, ‘हाम्रै जिल्लामा पनि विगतको तथ्यांकले बलात्कारका घटना प्रशस्तै भएको देखाउँछ,’ उनले भनिन्। ‘जहाँ देवीहरू पुजिन्छन्, नारीलाई सरस्वती, दुर्गा, लक्ष्मीको प्रतीक मानिन्छ, त्यही देशमा ६ महिनाकी बालिकामाथि पनि बलात्कार गरिन्छ,’ खड्काले ज्ञापनपत्र पढेर सुनाइन्।

निकै भावुक मुद्रामा देखिएका छात्राहरूले महिला नै देशको उच्च तहमा पुगेको समाचारले जति उत्साहित बनाए पनि बलात्कार, हत्या र बालबालिकामाथि हुने हिंसाका घटनाले निराश तुल्याएको बताए। ‘प्रधानमन्त्रीलाई हामीले ७७ वटै जिल्लाका छात्राको प्रतिनिधि सन्देशका रूपमा यो ज्ञापनपत्र पठाउँदै छौं,’।

अर्की छात्राले भनिन्, ‘यस्तै अवस्था आए घरलाई नै विद्यालय बनाउनुपर्ने स्थिति आउन सक्छ।’ तीन वर्षअगाडि निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान अझै हुन नसक्दा बलात्कारीलाई हौसला मिलेको उनीहरूको भनाइ थियो। प्रजिअ अधिकारीले ज्ञापनपत्रलाई प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता जनाए। ‘तपाइरूलाई केही समस्या परे मलाई फोन गर्नुहोला,’ उनले भने, ‘म्याग्दीमा बलात्कारजन्य गतिविधिलाई निर्मूल पार्न हामी सक्दो प्रयास गर्छौं।’

महिला अधिकारकर्मीको विरोध

बैतडीकी भट्टको बलात्कारपछि हत्याको विरोधमा म्याग्दीका विभिन्न संघसंस्थाले समेत विरोध कार्यक्रम गरेका छन्। एकपछि अर्को बलात्कारका घटना भइरहेको विरोधमा म्याग्दीमा क्रियाशील राजनीतिक दल, महिला संघसंस्थाले सदरमुकाम बेनीमा विरोध प्रदर्शनसहित घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

सदरमुकाम बेनीसँगै आसपासका ग्रामीण क्षेत्रबाट समेत आएका महिलाले देशभरि बलात्कारका घटनाले महिलाहरू असुरक्षित भएको बताउँदै सरकारलाई कडा कानुन बनाउनसमेत अपिल गरेको महिला संघकी मनकुमारी विकले बताइन्। ‘अब सजायको दायरा फराकिलो बनाउनुपर्छ। 

बलात्कारीलाई मृत्युदण्डको कानुन ल्याउनुपर्छ,’ उनले भनिन्। विरोधसभामा महिला संघ, नेकपासम्बद्ध अनेम संघ, विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा आबद्ध महिलाहरूको उपस्थिति थियो। महिला अधिकारकर्मी ज्योति लामिछानेले बलात्कार र महिला हिंसाविरुद्ध बृहत् नागरिक आन्दोलनको आवश्यकता रहेको बताइन्।

बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो। जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या गरिएको पुष्टि गरेको थियो।

प्रकाशित: १ फाल्गुन २०७७ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App