१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

विजयपुर खोलामा पौने ६ करोडको पुल

निर्माण

पोखरा र सिक्लेस सडकखण्डअन्तर्गत पर्ने विजयपुर खोलामा पुल बनेको छ। पोखरादेखि पर्यटकीय र ऐतिहासिक गाउँ सिक्लेस पुग्ने सडकखण्डअन्तर्गत पर्ने पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ को सिमानामा पर्ने सिन्डीकोमुख गारकाटेस्थित विजयपुर खोलामा मोटरेबल पुल बनेको हो।  

२५/२५ मिटरका २ वटा स्पान राखेर बनाइएको यो पुलको लम्बाइ ५४.१७ मिटर छ भने ११ मिटरको चौडाइ रहेको पुलको दायाँबायाँ दुवैतर्फ १.५ मिटरको फुटपाथ रहेको छ। ८ करोड १५ लाख रूपैयाँ लागत अनुमान गरिए पनि पुल ५ करोड ७५ लाख रूपैयाँमा ठेक्का सम्झौता भएर निर्माण सम्पन्न भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए। रायमाझी÷द क्याराभान जेडभी काठमाडौंले २०७५ असार २१ मा सम्झौता गरेर २०७७ असोज १८ गते निर्माण पूरा गरेको उनले बताए।

पुल निर्माण भएसँगै मादीवासी हर्षित भएका छन्। पुल निर्माण भएपछि मादी गाउँपालिकाका पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ, याङजाकोट, खिलाङ, भाचोकवासी मात्र नभई पोखरा महानगरपालिका–२० को मौजालगायत क्षेत्रका बासिन्दा लाभान्वित हुने स्थानीय जनप्रतिनिधि हुमनाथ अधिकारीले जानकारी दिए। विजयपुर खोलामा पुल नबन्दा त्यस क्षेत्रका बासिन्दालाई बर्खायाममा आवतजावत गर्न समस्या हुने गरेको थियो। विजयपुर खोलामा बाढी आएको समयमा कैयौं दिनसम्म पोखरा–सिक्लेस सडकमा गाडी पनि नचल्ने र स्थानीय पनि आवतजावत गर्न सक्दैनथे। अब पुल बनेपछि भने राहत हुने जनप्रतिनिधि अधिकारीको भनाइ छ।

पुल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकासनिर्माणका काम तीव्र गतिमा गरिरहेको बताए। उनले ओलीकै नेतृत्वमा देश सुरुङमार्गमा प्रवेश गरेको भन्दै अबको केही समयपछि रेलको युग पनि सुरु हुने बताए। पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम सुरु भइसकेको र त्यसको परिणाम केही महिनाभित्रै देखिने उनको दाबी छ। विकासको काम भइरहँदा पनि आफ्नै पार्टीका केही नेताले नदेखेको आरोप लगाउँदै उनले भने, ‘आँखा फुटेझैं विकास नदेख्नेहरूले संसद्, सभा र विदेशमा पनि केपी ओलीले गरेन भनेर बोल्ने गरेका छन्।’ उनले विकास, समृद्धि र राष्ट्रियताको पक्षमा अडान राख्दा प्रधानमन्त्री ओलीविरुद्ध षड्यन्त्र गरेर हटाउने प्रयास भएपछि संसद् विघटन गर्नुपरेको जिकिर गरे।

विघटित प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले चुनाव गर्नु प्रतिगमन नभएको बताए। चुनाव गर्ने व्यक्ति तानाशाही नभएको बताउँदै बरु संसद् पुनस्र्थापना गर्नुचाहिँ प्रतिगमन भएको धारणा राखे।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजयपुर खोलामा बनेको पुलले मादीमा उत्पादित वस्तु पोखरा बजारसम्म ल्याउन सहज हुने विश्वास व्यक्त गरे। उनले पुल विकास र समृद्धिको वाहक बन्नुपर्नेसमेत बताए। महानगरप्रमुख जिसीले कैयौं ठेकेदारले सम्झौताअनुसार पुल नबनाएको भन्दै तिनीहरू विकासका धमिरा भएकाले तिनलाई कारबाही गर्न मन्त्रीको ध्यानाकर्षण गराए।

जग्गादाता तथा जिल्ला विकास समिति कास्कीका पूर्व उपसभापति श्रीनाथ बरालले विकासमा राजनीति गर्नु पाप हुने बताउँदै समाजको भलाइका लागि आफूहरूले पुल निर्माणका लागि जग्गा दान गरेको बताए।

मादी गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ (श्याम)ले विजयपुर खोलामा पुल बनाउने मादीवासीको सयौं वर्षदेखिको सपना अहिले आएर पूरा भएको बताए। उनले अब पोखरा–सिक्लेस सडकखण्डमा पिच गर्नुपर्ने भन्दै यसका लागि बजेट दिन मन्त्रीलाई आग्रह गरे।

प्रकाशित: २८ माघ २०७७ ०५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App