१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हिमपातले मनाङमा सकस, मुस्ताङ सुक्खा

हिमपातले मनाङको जनजीवन कष्टपूर्ण बनेको छ। भारी हिमपातका कारण जनजीवन प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ। हिमालपारिको जिल्ला मनाङमा भीषण हिमपात हुँदा सवारीसाधन चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ।  

मनाङ सदरमुकाम चामे र आसपासका क्षेत्रमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न नसकेको र पैदलयात्रा पनि कठिनपूर्ण बनेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। उनका अनुसार सदरमुकाम चामेमा सुरक्षाकर्मी लगाएर सडकमा जमेको हिउँ हटाउन थालिएको छ। शनिबार मध्याह्नबाट फेरि हिमपात सुरु भएको थियो। शुक्रबार दिनभर हिमपात भएकोमा राति रोकिएको तर शनिबार दिउँसोदेखि फेरि हिउँ परेको उनले बताए।  

उनका अनुसार बाटोमा साढे दुई फिट उचाइसम्म हिउँ जमेको छ। ‘बाक्लो हिउँ जम्दा हिँडडुल नै कठिनपूर्ण बनेको छ। गाडी चल्न पनि सकेका छैनन्,’ लामिछानेले भने, ‘तापक्रम पनि निकै घटेको छ।’ चामेको तापक्रम दिउँसोमा माइनस ८ डिग्रीमा झरेको उनले बताए। ‘अधिक चिसो छ, चिसो र हिमपातका कारण बजार सुनसान छ,’ उनले भने, ‘मोटरबाटोमा बाक्लो हिउँ जमेका कारण तिमाङभन्दा माथि गाडी गुड्न सकेका छैनन।’ बजार क्षेत्रको हिउँ सुरक्षाकर्मी लगाएर हटाएको उनले बताए। उनले भने, ‘यसपटक यति सारो हिमपात भएको पहिलोपटक हो।’  

बर्सेनि यो बेला जाडो छल्न हिमाली भेगका बासिन्दा तल (बेंसीसहर, काठमाडौं, पोखरा) झर्ने गर्थे तर यसपटक कोरोना संक्रमणको त्रासले गाउँमै रोकिएका छन्।  

गाउँमै रोकिएका उनीहरू हिमपातको मारमा परेका छन। ‘खासै हिँडडुल नै छैन। अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्केका छैनन्,’ प्रजिअ लामिछानेले भने। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले २ हजार मिटरभन्दा माथि भारी हिमपात भइरहेको बताए। ‘मनाङमा २ हजार मिटरभन्दा माथिको उचाइमा हिउँ परिरहेको छ,’ गौतमले भने, ‘भारी हिमपात भएको छ।’ बाक्लो हिउँका कारण तिमाङदेखि माथिको भेगमा मान्छे हिँड्न गाह्रो भएको छ। अधिक हिमपातले दूरसञ्चार प्रदायक कम्पनीका बिटिएस टावरले काम नगर्दा इन्टरनेट सेवा पनि अवरुद्ध भएको उनले बताए। ‘यो वर्ष अहिले भीषण हिमपात भएको छ,’ उनले भने।  

हिमपातले हिमाली जिल्ला मनाङको जनजीवन प्रभावित भए पनि अर्को हिमाली जिल्ला मुस्ताङमा भने खासै हिउँ परेको छैन। मुस्ताङ सदरमुकाम जोमसोममा यो सिजनमा अहिलेसम्म हिउँ नपरेको एक्याप जोमसोमका संरक्षण अधिकृत तुलसी दाहालले बताए। ‘मनाङको चामे र मुस्ताङको जोमसोम करिबकरिब एकै उचाइमा रहेका जिल्ला सदरमुकाम हुन्। बरु, चामेभन्दा केही बढी उचाइमाा जोमसोम छ,’ दाहालले भने, ‘चामेमा भीषण हिमपात भइरहँदा जोमसोम भने सुक्खा छ।’  

मुस्ताङमा ३ हजार ४ सय मिटरभन्दा बढी उचाइमा मात्र हिउँ परेको दाहालले बताए। ‘यसपटक हिमपातको अनुभव नै हुन पाएको छैन। शनिबार पनि दिनभर घाम लाग्यो,’ उनले भने, ‘हिउँ पर्ने सम्भावना भए पनि मुस्ताङमा यसपटक हिउँ परेन। ३८ सय मिटर उचाइको लोमान्थाङ क्षेत्रमा पनि उति सारो हिउँ परेन।’ जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालले हावाको बहावका कारण यसपटक मुस्ताङमा कम हिउँ परेको हुन सक्ने बताए। ‘एकै भेगमा पनि कतै पानी पर्ने र कतै नपर्ने हुन्छ। हिमपातको प्रकृति पनि त्यस्तै हो, यसपटक हावाको बहावले मनाङमा हिमपात निम्त्याएर मुस्ताङमा नपरेको पनि हुन सक्छ,’ उनले भने, ‘एकै उचाइ भन्दैमा हिउँ पर्छ भन्ने हुँदैन।’

प्रकाशित: २५ माघ २०७७ ००:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App