४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मनाङमा हिउँ हटाउन प्रहरी परिचालन (तस्बिर सहित)

मनाङको तापक्रम माइनस ८

मनाङ सदरमुकाम चामेमा हिउँ हटाउँदै सुरक्षाकर्मी र स्थानीय । तस्बिर सौजन्यः जिल्ला प्रशासन कार्यालय मनाङ

हिमाली जिल्ला मनाङमा भीषण हिमपातले जनजीवन प्रभावित भएको छ । बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ । मनाङ सदरमुकाम चामेमा सुरक्षाकर्मी लगाएर सडकमा जमेको हिउँ हटाउन थालिएको छ ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार शनिबार मध्यान्हबाट पुनः हिमपात सुरु भएको छ । शुक्रबार दिनभर हिमपात भएकोमा राती रोकिएपनि शनिबार दिउँसोदेखि फेरि पर्न थालेको छ । बाटोमा साढे २ फिटसम्मको बाक्लो हिउँ जमेको प्रजिअ लामिछानेले बताए ।

मनाङ सदरमुकाम चामेको तापक्रम माइनस ८ डिग्रीमा झरेको उनले बताए । ‘अधिक चिसो छ, चिसो र हिमपातका कारण बजार सुनसान छ । अहिले पनि हिउँ परिरहेको छ,’ उनले भने, ‘मोटरबाटोमा बाक्लो हिउँ जमेका कारण तिमाङ भन्दा माथि गाडी गुड्न सकेका छैनन ।’ बजार क्षेत्रको हिउँ सुरक्षाकर्मी लगाएर हटाएको उनले बताए । ‘राती भने हिउँ परेको थिएन । तर अहिले मध्यान्हपछि पुन हिउँ पर्न थालेको छ,’ उनले भने ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतम २ हजार मिटर भन्दा माथि हिमपात भईरहेको बताए । ‘मनाङमा २ हजार मिटर भन्दा माथिको उचाईमा हिउँ परिरहेको छ,’ गौतमले भने, ‘यो वर्षकै भीषण हिमपात हो ।’ बाक्लो हिउँका कारण तिमाङदेखि माथि मान्छे हिड्न गाह्रो भएको छ । अधिक हिमपातले दूरसंचार प्रदायक कम्पनिका बिटिएस टावर संचालन हुन नसक्दा इन्टरनेट सेवा पनि अवरुद्ध भएको उनले बताए । ‘यो वर्षकै भीषण हिमपात भएको छ,’ उनले भने । 

प्रकाशित: २४ माघ २०७७ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App