४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

माथिल्लो भेगमा हिमपात, तल वर्षा (तस्बिर सहित)

पोखरामा बिहानैदेखि वर्षा भईरहेको छ

कास्कीको मर्दी हिमाल पदमार्गको मर्दी आधारशिविर क्षेत्रमा परेको हिउँ । तस्बिर सौजन्यः चीमनारायण गौतम

पश्चिमी न्यून चाँपीय प्रणालिका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार बिहानैदेखि वर्षा भएको छ । उच्च हिमाली भेगमा भने हिमपात भईरहेको छ । हिउँदको यो पहिलो वर्षाद र हिमपात भएको जल तथा मौसम विज्ञान कार्यालयले बताएको छ ।

पोखरामा शुक्रबार बिहानदेखि पानी पर्न थालेको थियो । मनाङ, मुस्ताङ, गोखरा, म्याग्दी र कास्कीकै उच्च भेगमा भने हिमपात भईरहेको स्थानीयले बताएका छन् । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालले उच्च हिमाली भेगमा हिमपात र तल्लो भेगमा वर्षा भईरहेको बताए ।  

‘पश्चिमबाट वायु प्रवेश गरेको छ । यो वायुको प्रभाव पूर्वतिर सर्दै जानेछ,’ ढकालले भने, ‘त्यही वायुको प्रभावका कारण हिमपात र वर्षा भएको हो ।’ पश्चिमबाट नेपाल प्रवेश गरेको वायुको प्रभाव पूर्वतिर गएर सकिएपछि मौसममा सुधार आउने ढकालले बताए ।

ढकालले यो पटकको हिउँदको पहिलो वर्षाद भएको बताए । यसअघि उच्च हिमाली भेगका केही क्षेत्रमा हिउँ परेको भएपनि अहिलेजत्ति थिएन । ‘उच्च हिमाली भेगमा फाट्टफुट्ट हिउँ त प¥यो, तर, अहिलेजति परेको होइन, वर्षा भने पहिलो पटक हो,’ उनले भने । ढकालका अनुसार अहिलेको मौसमको प्रभाव शनिबारसम्म रहनेछ । ‘शनिबारपछि मौसम खुल्न थाल्नेछ,’ उनले भने, ‘पश्चिम क्षेत्रमा पानी परिरहेको छ । अब पूर्व क्षेत्रमा पनि पर्नेछ ।’

हिमपातले हिमाली क्षेत्रमा ह्वात्तै चिसो बढाएको छ । मनाङ, मुस्ताङ सहित कास्की, गोरखा, म्याग्दीका उच्च भेगमा हिउँ पर्दा चिसो निकै नै बढेको स्थानीयले बताएका छन् । म्याग्दीको मर्दी हिमाल बेसक्याम्प पदमार्गमा होटल चलाएका व्यवसायी चीमनारायण गौतमले चिसो ह्वात्तै बढेको बताए । गौतमका अनुसार हिमपातका कारण मर्दी आधारशिविरको तापक्रम घटेर माइनस १३ मा झरेको छ । गौतमको ३५५० मिटर उचाइमा एक्सलेन्ट भ्यू रिसोर्ट छ । रिसोर्ट क्षेत्रमा बिहान ७ बजेदेखि नियमित रुपमा हिमपात भईरहेको उनले बताए । ‘यो सिजनको पहिलो हिमपात हो । चिसो अधिक बढेको छ,’ उनले भने, ‘हिमपातपछि चिसो पनि बढेको छ । हिमपात आवश्यक पनि थियो ।’

हिमाली जिल्ला मुस्ताङमा पनि हिमपात भईरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत तुलसी दाहालले बताए । उनका अनुसार मुस्ताङमा ३७ सय मिटर भन्दा बढी उचाईमा हिमपात भईरहेको छ । सदरमुकाम जोमसोम क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको उनले बताए । ‘मुस्ताङमा मंसिर पहिलो साता अलिअलि हिमपात भएको थियो । उच्च भेगमा मात्र त्यो बेला निकै नै कम हिमपात भएको थियो,’ दाहालले भने, ‘अहिले परेको हिमपातलाई सिजनको पहिलो भन्न मिल्छ ।’

मनाङमा पनि हिमपात भईरहेको एक्यापका मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतमले बताए । उनका अनुसार २५ सय मिटर माथि हिमपात भईरहेको छ । त्यो भन्दा तल भने वर्षा भईरहेको उनले बताए । ‘पुसको मध्यतिर केही दिन अलिअलि हिमपात भएको हो । नत्र पोहोर–परारको तुलनामा यो पटक कमै मात्रामा हिउँ परेको हो ।’ लामो समयपछि हिमपात हुँदा स्थानीय खुसी भएको उनले बताए । उच्च हिमाली भेगका किसान हिमपात हुँदा खुसी हुन्छन् । हिउँले सिंचाईको काम गर्ने किसानको भनाई छ । हिमपातका कारण मनाङको नासोँ गाउँपालिकाका विभिन्न उच्च भेगमा लागेको आगो पनि निभेको गौतमले बताए । ‘हिजोसम्म उच्च भेगमा केही मुढाबाट धुँवा आइरहेको थियो । तर, हिमपातपछि आगो पनि निभेको छ,’ उनले भने । 

प्रकाशित: २३ माघ २०७७ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App