५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

डोल्पामा पहिलो पटक हिमपात, जनजीवन कष्टकर

डोल्पामा भारी हिमपात सुरु। अग्लो मानवबस्ती र डाँडाकाँडाहरु हिउँले ढपक्क ढाकिएको अवस्था।

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा वर्षको पहिलो पटक हिमपात भएको छ। बिहीबार रातीबाट परेको अविरल वर्षाका कारण डोल्पामा हिमपात भएको हो। विगतका वर्षहरुमा मंसिरको पहिलो हप्तामै हिमपातले सेताम्य बन्ने डोल्पाका गाउँबस्ती र डाँडाकाडा पुस महिनामा समेत हिउँ नपरेर नाङ्गा र सुख्खा भएर उजाड देखिएका बेला माघको अन्त्यतीर परेको हिमपातले डाँडाकाडा सेताम्य भएका छन्।

डोल्पाका अग्ला बस्तीहरुमा भारी हिमपात भएपनि डोल्पाको मध्य भाग सदरमुकाम दुनै बजार र त्रिपुराकोट बगरमा हिउँ जमेको छैन। माघ महिनामा परेको हिउँले हिउँदमा लगाएको जेठासे बाली गहुँ, जहुँ, उवा र तरकारीबालीमा आलु र लसुनको उत्पादनमा वृद्धि हुने भएकोले डोल्पाली कृषकहरुको लागि हिउँ शुभ हुने गर्दछ। यसैगरि उत्तरी तिब्बत नाकासंग जोडिएका उपल्लो डोल्पाका डोल्पोबुद्व, छार्काताङसोङ्ग, शे फोक्सुण्डो र काइके गाउँपालिकाका बस्तीहरुमा जमेको बाग्लो हिउँले बस्तीहरु सेताम्मे भएका छन्।  

भारि हिमपात भएपछि उपल्लो डोल्पाकोे जनजीवन कष्टकर बनेको छ। बाग्लो हिमपात भएपछि उपल्लो डोल्पाको प्रमुख ब्यवसाय चौरी भेडाबाख्राहरुलाई चरिचरनमा समस्या परेको छ। हिमापातले मध्य डोल्पाका ठुलीभेरी नगरपालिकाको माझफाल, जुफाल, दुनैको तिप्ला, थाला लगायत त्रिपुरासुन्दरी नगरपालिकाको सुउँ, रंग, पहाडा, लिकु चुँउ, दापु तल्लो डोल्पाका जगदुला र मुडकेचुला गाउँपालिकाका बस्तीहरु समेत सेताम्य बनेका छन्। हिमपातले डोल्पाका बस्ती र डाँडाकाँडा हिँउले सेताम्य भएका छन्। डोल्पाका गाउँबस्ती र हिमसिखरहरु समेत माघमा परेको भारी हिमपातले बर्खो भित्र लुकेको बेहुली झै सिँगो डोल्पा हिउँको बर्खोमा लुक्ने क्रम सुरु भएको छ।

प्रकाशित: २३ माघ २०७७ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App