९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मनाङमा पाँचदिनमा झन्डै आठसय हेक्टर वन आगलागीले ध्वस्त

मंसिर यता मनाङमा १५ सय हेक्टर क्षेत्रफल वन जल्यो

मनाङको नासोँमा लागेको आगलागीको गुगल म्याप ।

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिका–६,७ र ८ का विभिन्न वनक्षेत्रमा पाँचदिनदेखिको आगलागीले झन्डै आठसय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ । शनिबारदेखि आगो फैलिने क्रम केही कमी भएपनि तिब्र हावाका कारण जोखिम भने उत्तिकै रहेको स्थानीयले बताएका छन् । अग्लो र अप्ठेरो भीरको सिरान क्षेत्रमा रुखका बढेमानका मुढाको आगो अझै ननिभेकोले फैलिने त्रास रहेको स्थानीयको भनाई छ ।  

सिजनमा पनि हिउँ र पानी नपर्दा बढी सुख्खा भएको त्यो क्षेत्रमा लागेको आगो नियन्त्रणमा निकै नै सकस भएको स्थानीय प्रशासनले बताएको छ । मंसिर यता आगलागीले मनाङको नासोँ गाउँपालिकामा मात्र झन्डै १५ सय हेक्टर क्षेत्रफल वन क्षेत्रमा नोक्सान भएको अनुमान गरिएको छ । त्यो मध्ये आठसय हेक्टर क्षेत्रफल पछिल्लो पाँचदिनमा जलिसकेको छ । यसअघिको आगलागी पनि झन्डै डेढमहिनापछि केहीदिन अघि मात्र नियन्त्रणमा आएको थियो । अघिल्लो पटकको आगो पूर्णरुपमा निभ्न नपाउँदै फेरि आगलागी सुरु भएको थियो ।  

आगलागी भएको वन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले आगलागीले ठुलो क्षेत्रफल वन र घाँसे क्षेत्रमा नोक्सान पुगेको बताए । कतिपय बस्तीमा समेत आगलागीको त्रास भएको उनले बताए । समुन्द्री सहतको २ हजार मिटरदेखि ३५ सय मिटर उचाईसम्मको क्षेत्रमा भीषण आगलागी भएको उनले बताए ।  

पाँचदिन अघि थोचे र तिल्चेको बीचबाट आगलागी सुरु भएको थियो । आगलागी सुरु भएको ठाउँमा मानव बस्ती छैन । ‘तराईमा फागुन–चैतपछि बल्ल सुख्खा हुन्छ र आगलागीका घटना हुन्छन् । तर, उच्च हिमाली क्षेत्रको माथिल्लो भेगमा हिउँ नपर्दा यो बेला सुख्खापन बढी हुन्छ,’ गौतमले भने, ‘अहिलेसम्म करिब ८ सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । अघिल्लोपटकको आगलागीमा पनि झन्डै ७ सय हेक्टर क्षेत्रफल नै नोक्सान भएको थियो ।’ केहीदिन अघि मात्र नियन्त्रणमा आएको आगोले डेढमहिना अवघिसम्म विभिन्न क्षेत्रमा नोक्सान पु¥याएको थियो । नासोँ गाउँपालिका–८ ताचैबाट केहीदिन अघि मात्र आगलागी नियन्त्रण गरिएपनि फेरि आगलागी हुँदा आसपासका क्षेत्रमा बढी नोक्सान पु¥याएको उनले बताए ।

एक्याप प्रमुख गौतमका अनुसार आगलागी भएको जंगलमा झारल, घोरल, थार, चितुवा, हिउँ चितुवा, वन बिरालो, दुम्सी, बाँदर लगायतका जनावरको बासस्थान हुन्थ्यो । त्यस्तै डाँफे, मुनालको बासस्थान पनि हुन्थ्यो । यार्सागुम्बा, सतुवा, जटामसी लगायतका जडिबुटी हुने क्षेत्र पनि हो । आगलागीले ती जनावर पनि बिस्थापित हुने र  बासस्थानमा असर पर्नुका साथै चराचुरुङगी पनि समस्यामा पर्नेछन् । धुपि, गोब्रे लगायतका सल्ला भएकोले सल्लाको पतिंगर झरेर सुख्खा भएको बेला आगलागी हुँदा प्राकृतिक श्रोत सहित जंगली जनावरलाई मार पर्ने उनले बताए । ‘अहिलेसम्म आगलागीले घाइते वा मृत्यु भएको कुनै जनावर फेला नपरेपनि बासस्थानमा भने पक्का अप्ठेरो परेको छ,’ उनले भने ।

वनक्षेत्रमा आश्रित चराचुरुङगी पनि मार परेको उनले बताए । ‘पशुपंक्षीको बासस्थान नै नोक्सान भयो,’ गौतमले भने, ‘त्यसबाहेक जडिबुटी, बुट्यान, रुखविरुवा पनि ध्वस्त भयो ।’ शिकार गर्नका लागि वा राम्रो घाँस पलाउँछ भनेर आगो लगाएको हुनसक्ने उनको अनुमान छ । तर, आगो कसले लगायो भन्ने यकिन नभएको उनले बताए । ‘अग्लो भीरको सिरान क्षेत्रमा अझै आगो छ । निभ्न लागेको आगोलाई पनि तिब्रगतिको हावाले पुन फैलाउने त्रास छ,’ गौतमले भने, ‘अहिले नै पूर्ण रुपमा आगो निभेको होईन ।’

ठाडो र अप्ठेरो भीरमा आगो फैलिएकोले नियन्त्रणमा ल्याउन कठिन भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । प्रजिअ लामिछानेका अनुसार विहीबार बेलुकी ताचे गाउँको बस्ती नजिक नै आगो पुगेपछि त झनै जोखिम बढेको थियो । ‘बल्लतल्ल ताचे गाउँलाई आगलागीबाट बचायौं । विहीबार बेलुकी त बस्ती नै सार्ने अवस्था आयो,’ प्रजिअ लामिछानेले भने, ‘घर नै खालि गर्नुपर्ने अवस्था आएको हो । तर, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा बस्तीमा आगो पस्न दिइएन । टेलिफोन टावरलाई पनि मुस्किलले जोगायौं ।’

उनका अनुसार तिब्रगतिको हावाले गर्दा आगो फैलिन झनै सघाउ पुगेको हो । अघिल्लो पटक पनि नासोँकै थोचे गाउँ नजिक आगलागी हुँदा मुस्किलले नियन्त्रणमा लिइएको थियो । थोचेको आगो निभाउन काउन्टर फायर गर्दै फायरलाइन बनाइएको थियो । त्यसैगरि तिल्चेको गाउँलाई आगलागीबाट बचाउन गाउँ वरिपरि सरसफाई र झाडि हटाउने काम गरिएको थियो । ‘प्रहरी, सेना, सशस्त्र र स्थानीयको सहयोगमा आगोलाई गाउँ पस्नबाट जोगाइयो,’ उनले भने ।  

‘तिब्रगतिको हावा छ, ठाडो भीरमा सुख्खा क्षेत्रमा आगो डरलाग्दो गरि फैलियो । शनिबार केही कमी भएपनि तिब्र हावाले पुन आगो सल्किने सम्भावना छ,’ उनले भने, ‘ठाडो भीर भएकोले त्यो ठाउँमा जान सक्ने अवस्था पनि छैन ।’ आगलागी भएको ठाउँ आसपासका ताचेमा ६२, थोचेमा ३५ र तिल्चेमा ४५ घर रहेका छन् । आगलागीले पशुपालनमा समस्या हुने र जंगली जनावर र पंक्षीको बासस्थान पनि नोक्सानी भएको प्रजिअ लामिछानेको भनाई छ । ‘गाउँलेले त्यही जंगलबाट घाँस ल्याएर पशुलाई खुवाउँथे । त्यसबाहेक स्थानीयले तिनै जंगललाई चरनक्षेत्रको रुपमा प्रयोग गर्दै आएका थिए,’ लामिछानेले भने, ‘सबैभन्दा मार पशुपालन गर्ने किसानलाई परेको छ । घाँसे क्षेत्र ध्वस्त भयो ।’

एक्यापका प्रमुख गौतमका अनुसार अघिल्ला वर्ष यो बेला हिमाली क्षेत्रमा बाक्लो हिमपात हुँदा चिसो बढ्दा आगलागी भइहाले पनि अहिलेजस्तो फैलन पाउँदैनथ्यो । तर, योपटक हिमपात र पानी नपर्दा सुख्खा बढ्न गई आगो फैलिन सहज भएको उनले बताए । ‘पानी वा हिउँ पर्ने सम्भावना तत्काल छैन । हेलिकप्टरमा पानी बोकेर निभाउन भनेजत्तिको सहज छैन,’ गौतमले भने, ‘आगलागी भएको ठाउँसम्म उक्लिन सक्ने ठाउँ पनि छैन । हावा लागेकोले बढी समस्या भएको हो ।’ आगलागी भएको क्षेत्र भौगोलिक रुपमा निकै नै कठिनयुक्त छ । ‘ताचेको सल्लाको जंगल र घाँसेभीर सखाप पारेको छ, मान्छे सहज जान सक्ने अवस्था छैन,’ उनले भने, ‘चोरीशिकारी गर्न जाने मान्छे त्यो ठाउँमा जालान्, नत्र सामान्य हिडडुल गर्न सकिने ठाउँ होईन ।’

नासोँ–८ का अध्यक्ष हुपजंग गुरुङले पनि तीनवटा वनक्षेत्र बढी नोक्सान भएको बताए । ‘माथिमाथि जान सकिन्न, जंगली जनावर पनि डढेका हुनसक्छन,’ गुरुङले भने, ‘धेरै वन क्षेत्र नोक्सान भयो । त्यसले गाउँलेलाई मार परेको छ । पशुपालनमा अप्ठेरो हुने अवस्था आयो ।’ अहिले आगलागी भएकै जंगलबाट घास ल्याएर स्थानीयले बस्तु पालेको र कतिपयले चरन क्षेत्रको रुपमा पनि प्रयोग गरेकोमा आगलागीले ध्वस्त बनाएको उनले बताए । 

प्रकाशित: १७ माघ २०७७ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App