coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मनाङको आगलागी झनै भीषण

विहीबार बेलुकी त बस्ती नजिकै आगो आइपुग्यो, मुस्किलले बस्ती जोगायांैः प्रशासन

मनाङको नासोँमा लागेको आगलागी । तस्बिरः नागरिक

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको भीरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीले झनै डरलाग्दो रुप लिइरहेको स्थानीय प्रशासनले बताएको छ । नासोँ गाउँपालिकाको ५,६ र ७ का विभिन्न बस्ती नजिक आगलागी भएको हो ।  

ठाडो र अप्ठेरो भीरमा आगो फैलिएकोले नियन्त्रणमा ल्याउन नसकिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आगलागी नियन्त्रण बाहिर पुगिसकेको उनले बताए । प्रजिअ लामिछानेका अनुसार विहीबार बेलुकी ताचे गाउँको बस्ती नजिक नै आगो पुगेपछि त झनै जोखिम बढेको थियो । ‘

बल्लतल्ल ताचे गाउँलाई आगलागीबाट बचाउन सकियो । हिजो बेलुकी त बस्ती नै सार्ने अवस्था आयो,’ प्रजिअ लामिछानेले भने, ‘घर नै खालि गर्नुपर्ने अवस्था आएको हो । तर, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा बस्तीमा पस्न दिइएन ।’ समुन्द्री सहतको २ हजार मिटरदेखि ३५ सय मिटर उचाईसम्मको क्षेत्रमा भीषण आगलागी भएको छ ।

उनका अनुसार अहिले पनि भीरमा भीषण आगलागी भईरहेको छ । तिब्रगतिको हावाले गर्दा आगो फैलिन झनै सघाउ पुगेको उनले बताए । अघिल्लो पटक पनि नासोँकै थोचे गाउँ नजिक आगलागी हुँदा मुस्किलले नियन्त्रणमा लिइएको थियो । थोचेको आगो निभाउन काउन्टर फायर गर्दै फायरलाइन बनाइएको उनले बताए । त्यसैगरि तिल्चेको गाउँलाई आगलागीबाट बचाउन गाउँ वरिपरि सरसफाई र झाडि हटाउने काम गरिएको थियो । ‘प्रहरी, सेना, सशस्त्र र स्थानीयको सहयोगमा आगोलाई गाउँ पस्नबाट जोगाइयो,’ उनले भने ।  

‘तिब्रगतिको हावा छ, ठाडो भीरमा सुख्खा क्षेत्रमा आगो डरलाग्दो गरि फैलिएको छ,’ उनले भने, ‘ठाडो भीर भएकोले त्यो ठाउँमा जान सक्ने अवस्था पनि छैन ।’ आगलागी भएको ठाउँ आसपासका ताचेमा ६२, थोचेमा ३५ र तिल्चेमा ४५ घर रहेका छन् ।  

मनाङका डिएसपी सुवास खड्काले पनि बस्ती र टेलिफोनको टावर मुस्किलले जोगाएको बताए । ‘खोल्सीले गर्दा ताचे गाउँमा आगो पुग्न सकेन । तर, विहीबार बेलुकी ताचे नजिकै नै आइपुगेको थियो,’ खड्काले भने, ‘अहिले भने बस्ती भन्दा माथिको डाँडामा आगलागी भईरहेको छ । अग्लो र अप्ठेरो भीर भएकोले पनि पुग्न नसकिने उनले बताए । ‘अब मान्छेले मात्र आगो निभाउन सकिन्न । हिउँ वा पानी पर्नुको विकल्प छैन,’ डिएसपी खड्काले भने, ‘तारेभीरमा मान्छे जान सकिन्न । गाउँसम्म आगलागी नफैलियोस भनेर फायरलाइन बनाएका छौ ।’ उनका अनुसार आगलागी भएको ठाउँबाट निरन्तर रुपमा ढुंगा खसिरहेकोले पनि तलको बस्तीलाई बढि जोखिम निम्तिएको हो ।

आगलागी भएको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले पनि आगलागी सहजै नियन्त्रणमा आउने अवस्था नभएको बताए । ‘हिजो बेलुकी अलि जटिल अवस्था भयो । ताचे बस्ती नजिक नै आगो फैलियो,’ गौतमले भने, ‘झन्डै त्यहाँ खोला भएकोले जोगियो । खोला तर्नेबित्तिकै बस्तीमा बस्ने त्रास थियो । तर, सुरक्षाकर्मी र स्थानीयको सतर्कताले बस्तीमा आगो पस्न पाएन ।’ बस्तीमा आगो पस्न नदिन अग्नी रेखा बनाउने काम गरिएको उनले बताए । 

प्रकाशित: १६ माघ २०७७ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App