२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘नेपालमा बढ्यो भ्रष्टाचार’

ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहीबार भ्रष्टाचारको अवधारणा सूचकांक (सिपिआई) सार्वजनिक गर्दै नेपाल ३३ अंकसहित गत वर्षभन्दा चार स्थान तल झरेको जानकारी गराएको हो। भ्रष्टाचार हुने देशको सूचीमा यस वर्ष नेपाल ३३ अंकसहित ११७ औं स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ। गत वर्ष ३४ अंकसहित नेपाल ११३ औं स्थानमा थियो।  

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानका अनुसार विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम र वल्र्ड जस्टिस प्रोजेक्टलगायतले गरेको सर्वेक्षणमा नेपालको स्कोर कम आएको हो। एक सय ८० देशको सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा प्रतिवेदन तयार पारिएको हो। ‘सरकारको भ्रष्टाचार विरोधी प्रयास व्यवहारमा पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरूपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै छन्,’ प्रतिवेदनमा उल्लेख छ।  

प्रतिवेदनमा भ्रष्टाचारका कारण कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका प्रयास कमजोर र लोकतन्त्रसमेत पछाडि धकेलिएको उल्लेख छ।

यस वर्षकोे सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंक प्राप्त गरेर सबैभन्दा कम भ्रष्टाचार हुने देश भएको छ भने सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रूपमा सूचीकृत भएको छ। त्यस्तै दक्षिण एसियाली देशमध्ये भुटानको स्थिति सबैभन्दा राम्रो र सबैभन्दा भ्रष्टाचार व्याप्त देशका रूपमा अफगानिस्तान देखिएको छ। सूचकांकमा भुटान ६८ अंक प्राप्त गरी २४ औं स्थान, मालदिभ्स ४३ अंकसहित ७३औं स्थान, भारत ४० अंकसहित ८६औं स्थान, ३८ अंकसहित श्रीलंका ९४औं स्थान, ३१ अंकसहित पाकिस्तान १२४औं स्थान र २६ अंकसहित बंगलादेश १४६औं स्थानमा रहेका छन्। त्यस्तै चीन ४२ अंकसहित ७८ औं स्थानमा रहेको छ।

सूचकांकमा १०० अंकले अतिस्वच्छ र शून्य अंकले अति भ्रष्ट रहेको जनाउँछ। सन् १९९५ देखि प्रत्येक वर्ष यस्तो सूचकांक सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनले नेपाललाई सन् २००४ देखि समावेश गरेको थियो।

प्रकाशित: १६ माघ २०७७ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App