१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मनाङका प्रजिअ भन्छन्ः पेट्रोल सल्किए झैं भीषण आगलागी भएको छ

आगलागीले मनाङमा बस्ती नै जोखिममा

मनाङको नासोँमा लागेको आगलागी । तस्बिरः नागरिक

हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको जंगल र भीरमा भीषण आगलागी भएको छ । तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । नजिकका बस्तीमा आगोको जोखिम बढेपछि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।  

नासोँ गाउँपालिकाको ५,६ र ७ नम्बर वडाको जंगलमा भीषण आगलागी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले बताए । उनका अनुसार समुन्द्री सहतको २ हजार मिटरदेखि ३५ सय मिटर उचाईसम्मको क्षेत्रमा भीषण आगलागी भएको छ । तीनदिनदेखि लागेको आगो नियन्त्रणमा नआएको उनले बताए ।  

‘ठाडो भीरमा आगलागी भएको छ । नियन्त्रणमा लिन पनि उत्ति सहज छैन । ठाडो भीर भएकोले निभाउन जान सक्ने अवस्था छैन,’ गौतमले भने, ‘भौगोलिक हिसाबले अप्ठेरो ठाउँ भएकोले पनि नियन्त्रणमा कठिनाई भएको हो ।’ सल्लाको रुख र सुख्खा घाँसे जंगलमा आगलागी भएको उनले बताए । कसले आगो लगाएको भन्ने अझैसम्म खुलेको छैन ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नासोँ गाउँपालिका–६ र ७ को तिल्चे तथा वडा–५ को थोचेको बस्ती नजिक आगलागी भएको छ । ‘तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागी भएको नजिकका बस्तीका बासिन्दाको सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएको छ,’ लामिछानेले भने, ‘बस्तीको सिरानमा आगलागी भएकोले पनि जोखिम छ ।’ बुधबार दिनभर र विहीबार पनि आगलागी नियन्त्रणका लागि प्रयास भईरहेपनि सफल नभएको उनले बताए ।

‘पेट्रोलमा सल्किए झैं आगो तिब्रगतिमा फैलिएको छ,’ उनले भने, ‘पातपतिंगर सुकेकोले पनि आगो फैलिन सहज भएको छ । यो पटक हिउँदमा पानी र हिउँ नपरेकोले पनि सुख्खा हुँदा आगो फैलिन सहज भएको हो ।’ बस्तीबाट झन्डै ३ सय मिटर टाढाको जंगलमा आगलागी भएको उनले बताए । प्रजिअ लामिछानेका अनुसार तिल्चे गाउँको सिरानमा लागेको आगोले झनै भीषण रुप लिएको छ । आगलागीपछि सिरान क्षेत्रबाट ढुंगा खस्न पुग्दा तलको बस्तीमा झनै त्रास भएको उनले बताए ।

‘बस्ती तल छ । तर, सिरानमा आगलागी भएको छ । माथिबाट ढुंगा खस्दा बस्तीमा पर्ने त्रास छ,’ प्रजिअ लामिछानेले भने, ‘आगो फैलिएर बस्तीमा आउनका लागि त खोला नै पार गर्नुपर्छ । तर, ढुंगाको जोखिम भने उत्तिकै छ ।’ आगलागीबाट बस्तीमा जोखिम हुने त्रास भएपछि १३ जना सशस्त्र प्रहरी र १२ जना नेपाल प्रहरीलाई आगलागी नजिकैको बस्तीमा खटाइएको छ । बस्तीमा जोखिम हुने अवस्था आएमा परिचालन हुनका लागि सेना पनि तयारी अवस्थामा रहेको लामिछानेले बताए । आगलागीस्थल सदरमुकाम चामेबाट १५ किलोमिटर टाढा पर्छ ।  

नासोँ गाउँपालिका–५ का अध्यक्ष छिरिङ ग्याल्पो पुनेलका अनुसार ५ र ६ नम्बर वडाको सिमानाबाट आगलागी सुरु भएको हो । आगलागी भएको ठाउँबाट नजिकको गाउँ थोचेमा ३५ घर छन् । तर, जाडो छल्न गाउँका धेरै बासिन्दा सहरतिर झरेका छन् । ‘बस्तीमै जोखिम पु¥याउने गरि भीषण आगलागी भएको छ । नियन्त्रणमा लिन पनि सहज छैन,’ पुनेलले भने, ‘सुख्खा खर भएकोले आगलागी फैलिन सहज भएको छ ।’ आगलागी भएको ठाँउ घाँसे मैदान हो । स्थानीयहरु त्यो भीरमा घाँस काट्न जान्थे । ‘प्रहरी, एक्याप, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिने प्रयास भएको छ,’ उनले भने, ‘तर पनि सहज छैन ।’  

सुकेको घाँस र सल्लाघारी भएकोले पनि आगो फैलिन सहयोग पुगेको उनले बताए । लम्जुङका विभिन्न गाउँमा नयाँ घाँस पलाउने भनेर ठाडो भीरमा आगो लगाउने गरेको भएपनि मनाङका भीरमा यत्तिको भीषण आगलागी भएको यो नै पहिलो पटक भएको उनले बताए । ‘हिउँ नपरेको र पानी पनि नपर्दा सुख्खा भएको छ । त्यसले गर्दा आगो फैलिन सघाउ पुगेको छ,’ उनले भने, ‘अघिल्ला वर्ष यो बेला बाक्लो हिमपात हँुँदा चिसोले गर्दा आगो फैलिन पाउँदैनथ्यो । तर, अहिले सुख्खा छ ।’ वन जंगलमा आगो लगाउनु हुँदैन भनेर चेतनामुलक कार्यक्रम गरेको पनि उनले बताए ।  

एक्याप मनाङ प्रमुख गौतमका अनुसार आगलागीले रुख विरुवा सहित जडिबुटी, चराचुरुंगी, जंगली जनावरलाई पनि नोक्सान पु¥याउने जोखिम हुन्छ । जंगली जनावरको बासै नोक्सान हुँदा बिस्थापित हुने जोखिम रहेको उनले बताए । ‘यो पटक साहै्र नै सुख्खा भयो । हिँउ परेन । सल्लाको रुख, निगालोको घारी र खर भएकोले पनि आगो तिब्रगतिमा फैलिन सकेको हो,’ गौतमले भने, ‘भौगोलिक हिसाबले जान सकिने अवस्था नभएकोले पनि आगो नियन्त्रणमा कठिन भएको हो ।’

आगो लगाउने व्यक्तिको पहिचानका लागि प्रशासन र एक्यापले अनुसन्धान गरिरहेको गौतमले बताए । अघिल्लो महिना पनि मनाङको चाँमे गाउँपालिका–२ थानचोकबाट आगलागी सुरु भएको थियो । डेढ महिना अवघिसम्म पनि नियन्त्रणमा नआएको आगो अन्तिममा नासोँ गाउँपालिका–८ ताचैसम्म पुगेको थियो । हजारौं हेक्टर वनक्षेत्र आगलागीले नोक्सान पुगेको पनि गौतमले बताए । 

प्रकाशित: १५ माघ २०७७ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App