१६ चैत्र २०८० शुक्रबार
समाज

सरकारी जागिर पाएपछि एसिड पीडित युवतीमा खुसी

तेजाब आक्रमणमा परेकी ओखढुंगाकी पवित्रा कार्कीलाई अनुहारमा लागेको दागसँगै जिन्दगीको चिन्ता बढ्दै थियो । पढ्ने उमेरमा अनुहारमा खत बसेपछि उनलाई त्यसैको पिरलो परिरहेको थियो । उपचारपछि निको भएर भविष्यबारे चिन्ता गरिरहेकी पवित्रालाई एकाएक खुसी मिलेको छ । नेपाल आयल निगमले पवित्रा र नवलपरासीकी वसन्ती परियारलाई सहायक स्तरको रोजगार दिएको छ । उनीहरूलाई पुस १६ गतेदेखि करारमा नियुक्त गरिएको हो ।  

सरकारले रोजगारको व्यवस्था गरेसँगै भविष्यको चिन्ता बोकेका पीडितहरूमा हौसला मिलेको छ । यसले आफूहरूलाई अघि बढ्न प्रेरित गर्ने पीडितहरूको भनाइ छ । ‘हामी काम गर्न सक्छौं, एसिड आक्रमणमा पर्दैमा हामीले असक्षम भएका होइनौं, सरकारले हामीलाई बाटो देखाइदिएको छ,’ पवित्राले भनिन् । निगम सञ्चालक समितिले उनीहरूलाई निर्वाह खर्च पुग्ने गरी रोजगार दिएको हो ।  

एसिड आक्रमणमा परेका दुवैजनाको आर्थिक अवस्था कमजोर छ । नवलपरासीकी वसन्तीमाथि २०७५ असोजमा र ओखलढुंगाकी पवित्रामाथि गत साउनमा एसिड आक्रमण भएको थियो । त्यसो त अन्य एसिडपीडितलाई पनि सरकारले यसअघि रोजगार दिइसकेको छ । एसिडपीडित संगीता मगर कुमारी बैंकमा कार्यरत छिन् । उनी भन्छिन्, ‘हामी त पीडित भयौं भयौं, रोजगारले हौसला मिलेको छ, अब अरु पनि यसरी नै पीडित हुन नपरोस्, जे होस् अहिलेको कानुन चित्त बुझ्दो छ ।’ उनी मंसिरदेखि कुमारी बैंकको टंगाल शाखामा जागिरे भएकी छिन् । उनका दुई साथीले पनि कुमारी बैंकमै जागिर पाएका छन् । कुमारी बैंकले उपत्यकामा दुईजना र हेटौंडामा एक जनालाई स्थायी रोजगारी दिइसकेको छ । हेटौंडाकी विन्दवासिनी कंसाकार, काठमाडौंमा बस्दै आएका संगीता मगर र जेनी खड्कालाई पायक पर्नेगरी कुमारी बैंकले रोजगार दिएको हो । उनीहरू बैंकमा ‘मार्केटिङ अफिसर’को रूपमा काम सुरु गरेका हुन् । एसिड आक्रमणमा परेपपछि उनीहरूले पढाइलाई भने निरन्तरता दिएका छन् ।  

प्लस टु अध्ययन गर्दै गरेकी जेनी खड्का रोजगार पाएर भविष्य सुरक्षित बनाउन पाउँदा खुसी छिन् । उनी भन्छिन्, ‘मैले यसअघि पनि एनजिओमा काम गर्दै आइरहेकी थिएँ, तर त्यहाँ ढुक्क हुने अवस्था थिएन । जब कुमारी बैंकमा जागिर सुरु गरेँ मलाई हौसला थपिएको छ, अहिले बनेको कानुनले पनि यस्तो घटना रोक्नलाई ठूलो मद्दत पुर्‍याउनेछ ।’  

बैंकले क्षमता र बेरोजगार अवस्थालाई हेरेर रोजगारको व्यवस्था गरेपछि युवतीमा हौसला थपिएको एसिड अपराधविरुद्ध आवाज उठाउँदै आएका उज्ज्वलविक्रम थापाले बताए । यस्तो अवसरले पीडित युवतीलाई हौसला थपेको उनको भनाइ छ । ‘अहिलेसम्म कानुनको समस्या पनि थियो, रोजगारी पनि नपाउने अवस्था थियो, अहिले भने पीडितलाई केही हौसला मिलेको छ,’ उनले भने ।

त्यस्तै, एसिड आक्रमणमा परेका एक पुरुषले महान्यायाधिवक्ताको कार्यालयमा १ वर्षअघि नै रोजगार पाएका छन् । नुवाकोटका रामराजा थापालाई असोज १ गतेबाटै करारमा चालक नियुक्ति गरिएको हो । एसिड आक्रमणबाट पीडित उनले गाडी चलाउन सिकेका थिए । सोही आधारमा उनलाई नियुक्ति गरिएको थियो ।  

केही वर्षअघि एसिड आक्रमणमा परेकी सीमा बस्नेतले नयाँ कानुनले आगामी दिनमा यस्ता घटना कम हुन मद्दत गर्ने बताइन् । उनले पीडितमा पनि केही गरौं भन्ने भावना भएकाले समाजले बुझ्नुपर्ने बताइन् । पीडितलाई हेर्ने दृष्टिकोण सहज भए पीडितहरू खुलेर बाँच्न सक्ने उनको भनाइ छ । ‘नेपालमा कानुन थिएन, जब घटना भयो अनि मात्रै कानुन बनेको छ, ढिलै भए पनि खुसी लागेको छ, अब हामीले भोगेको समस्यामा अरूले भोग्न नपरोस्, समाजले सबैको अस्तित्व बुझोस्,’ उनले भनिन् ।  हेटौंडाकी कंसाकारमाथि २०७० वैशाख ९ गते भारत महाराजगन्ज, अमरपूर्वनका राज भन्ने दिलीपराज केशरीले एसिड आक्रमण गरेका थिए । 

२०७६ जेठ २ गते कालोपुलमा काभ्रेकी जेनी खड्कामाथि विष्णुबहादुर भुजेलले एसिड छ्यापेका थिए । एसएलसी परीक्षाका लागि ट्युसन पढ्न निस्किएकी संगीता मगरमाथि २०७१ फागुन १० गते बसन्तपुरमा रामेछाप फुलासीका जीवन बिकले एसिड प्रहार गरेका थिए । त्यस्तै, नुवाकोटका रामराजा थापालाई उनकै पत्नीले २०७६ फागुन २६ गते एसिड प्रहार गरेकी थिइन् ।  

भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका पीडितको शिक्षाको जिम्मा सरकारले लिने बताएका थिए । तर, एसिड पीडितले निःशुल्न शिक्षा लिन पाएका छैनन् । उनीहरूले आफ्नै शुल्क तिरेर पढ्दै आइरहेको बताए ।

प्रकाशित: १० माघ २०७७ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App