१० असार २०८१ सोमबार
image/svg+xml
समाज

मिर्गौला रोगीको चित्कारः बाँच्ने मन छ, बचाउने कसले ?

बिरेन्द्र अस्पताल छाउनीमा मिर्गौलाको डायलासिस गराइरहेका कृष्ण खत्री । तस्बिर : दमन राई/नागरिक

चार वर्षअघि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)का कृष्ण खत्री घर बनाउने तयारी गर्दै थिए। घर निर्माणकै लागि दिनभर काठ ओसारेर बेलुका शकुसल सुतेका खत्री भोलीपल्ट बिरामी भएर व्यूझिए। 

२०७३ साल असार ५ गते अकस्मात शरीर सुन्निने, वाकवाकी लाग्ने लगायतका समस्या देखिएपछि परिवारले उनलाई केही दिनमै अस्पताल पुर्‍याए। कान्छो छोरा सुदिप खत्री नेपाली सेनामा कार्यरत भएका कारण उनलाई काठमाडौंको बिरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिए। छाउनीमा दुबै मिर्गौला फेल भएको पूष्टी भएपछि उनको सोही असार १३ गतेदेखि हालसम्म डायलासिस भइरहेको छ। हप्तामा दुईदेखि तीन पटक डायलासिस गराउँदै बसिरहेका खत्री बिरामी भए यता एक/एक दिनका लागि दुई पटक मात्र घर पुगेका छन्। गत वर्ष आफ्नै बाबु पदमबहादुरको मृत्यु हुँदा समेत उनी घर जान सकेनन्। कोठामै किरिया बसेर पशुपतीनाथ पुगेर चोखिएको खत्रीले बताए।  

डायलासिस र औषधिको भरमा बाँचिरहेका खत्रीको उपचारकाक्रममा लाखौं रकम सक्किसकेको छ। घर बनाउने तयारी गर्दा गर्दै बिरामी परेका खत्रीको घर त ठडिएन नै उपचारकाक्रममा भएका घडेरी समेत बिक्री गरिसकेका छन्। हाल उनी छाउनी नजिकै डेरामा बसेर हप्ताको मंगलबार र शुक्रबार नियमित डायलासिस गराउँदै आएका छन्। डेढ वर्षसम्म हप्ताको तीन पटक डायलासिस गराएका खत्रीको स्वास्थ्यमा जटिल समस्या देखिए भने अहिले पनि तीन पटक पनि डायलासिस गर्ने गरिएको छ। डायलासिस सुरु गरे यता उनले पिसाव गरेका छैनन्।  

मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना  

चार वर्षको अवधिमा कृष्णको मिर्गौला प्रत्यारोपण गर्ने प्रयास पनि भए। तर, दाता भेटिएनन्। भेटिएका दाताबाट पनि नाता प्रमाणित गर्नुपर्ने व्यवस्थाका कारण मिर्गौला प्रत्यारोपणमा कानूनी जटिलता आइपरे। श्रीमती कुमारी खत्री पनि मिर्गौला दिन तयार भईन्। तर कुमारी आफै सुगर, प्रेसरको विरामी भएकाले श्रीमानलाई मिर्गौला दान गर्न असमर्थ भईन्। मिर्गौलाकै उपचारकाक्रममा सरकारले डायलासिस सेवा निःशुल्क उपलव्ध गराउन सुरु गरे। त्यस यता डायलासिस भने निःशुल्क गराउँदै आएको खत्रीले बताए। डायलासिस बाहेक औषधिमा मात्र उनको मासिक २० देखि २५ हजार खर्च हुने गरेको छ। यद्यपी, सैनिक परिवारका भएका कारण उनलाई वार्षिक १ लाख १० हजार बराबरको औषधि निःशुल्क उपलव्ध हुने भएकाले आर्थिकरुपमा सहज भएको छ। 

औषधिमा १ लाख १० हजारभन्दा बढि लागे भने आफैले खर्च बेहोर्नु पर्ने खत्रीले बताए। हाल उनी मिर्गौला प्रत्यारोपणको प्रयासमा छन्। ‘हर्ट अट्याक भएपछि गत मंसिर २५ गते एनजियोग्राम गर्नु पर्‍यो। दुई पल्ट डाक्टरले नै मायाँ मारेको थियो, तर बाँचेँ,’ खत्रीले भने, ‘त्यसपछि अलि बाँच्छुजस्तो लागेको छ। कोही भगवान बनेर आइदियो भने पक्कै पनि बाँच्ने छु। तिनै भगवान पर्खिरहेको छु।’ उनका दुई छोरामध्ये जेठो छोरो घर सम्हालेर बसिरहेका छन्।  

गाईघाटमा बसेर व्यवसाय गरिरहेको अवस्थामा कृष्ण गाउँ फर्किएर २०५४ सालको स्थानीय चुनावमा तत्कालिन एमालेकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए। उनले कांग्रेसबाट वडा सदस्यमा उठेका आफ्नै दाजु कर्णबहादुर खत्रीलाई पराजित गरेका थिए। गाउँ आएर चुनाव लड्नका लागि उक्साउने रामप्रसाद दंगाल, बलराम दाहाल, पृथी राईमध्ये दंगाल हाल नेकपा ओली समुहको खोटाङ अध्यक्ष छन्।

प्रकाशित: ३ माघ २०७७ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App