४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नागढुंगामा कार जाँच गर्दा डेढ करोड रुपैयाँसहित २ जना पक्राउ

बरामद रकम र पक्राउ परेका २ जना। तस्बिर : नागढुंगा प्रहरी प्रभाग

काठमाडौंको नागढुंगामा आज बिहान कारमा आइरहेका चालकसहित २ जनालाई झन्डै डेढ करोड रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।  

नागढुंगा प्रहरी प्रभागका प्रवक्ता प्रमेश विष्टले दिएको जानकारीअनुसार सोमबार बिहान ०४:२७ बजे प्रदेश ३ -०१ ०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रङको कारमा सवार उनीहरूलाई स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ गरिएको हो।  

विशेष सूचनाका आधारमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रकम बरामद भएपछि कारमा रहेका भारत गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुको वाणगंगा नगरपालिका-४ का २२ वर्षीय संगम थारु (कार चालक) लाई पक्राउ गरेको हो।  

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार कपिलवस्तुबाट काठमाडौंतर्फ आइरहेको कारबाट बरामद रकम डिक्कीमा टायरमुनि तथा कारका विभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा थिए।  यस्तै अमितकुमार गुप्ताको साथबाट ८६ हजार रुपैयाँ बरादम भएको उनले बताए।  

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रकम भारतबाट भारतीय रुपैयाँ ल्याई नेपालको सीमा क्षेत्रमा पटकपटक गरी नेपाली रुपैयाँ सटही गरेको देखिएको छ।  

कार र बरामद रकमसहित पक्राउ गरिएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २० पुस २०७७ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App