२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पाथीभरा क्षेत्रमा डढेलो : जर्किनमा पानी बोकेर निभाउने प्रयास

पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो पूर्ण रुपमा नियन्त्रण गर्न जर्किनमा पानी बोक्ने र अग्नि रेखा बनाउने सहितका सबै बैकल्पिक अभियान चलाइने भएको छ।  

जंगलको भित्रि भागसम्म आगो कायमै रहेको र तर तत्काल जोखिमको अवस्था कम भएको मध्यनजर गर्दै यस्तो अभियान सञ्चालनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिए। ‘जोखिम त हटेको छ तर आयो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन’प्रजिअ चापागाँइले भने। उनले आगो जंगलको भित्रि भागसम्म पत्रैपत्र बनेर सुक्ष्म रुपमा कायमै रहेकोले सुरक्षा जनशक्तिमार्फत जर्किनमा पानी बोक्ने अभियान चलाउन तयारी भइरहेको बताए। 

नजिकको पानीका स्रोतमार्फत जर्किन–जर्किनमा पानी बोकेर आगोको धुँवा आइरहेको क्षेत्रमा पानी खन्याएर आगो पूरै नियन्त्रणमा लिने प्रयास सम्भव होला की भन्ने सुरक्षा स्रोतको बुझाइ रहेको उनले जानकारी दिए। दन्किने प्रकृतिको आगो नियन्त्रणमा आएको तर जंगलमा अझै आगोका अवशेष नियन्त्रणमा नआएकोले थप जोखिम हुन नदिन पूरै सुरक्षा जनशक्ति केन्द्रित भइरहेको उनले जानकारी दिए।  

पाथीभरा क्षेत्रका कर्मचारी र स्थानीय संगको सहयोग तथा समन्वयमा सुरक्षा टोली जंगलमा सुक्ष्म रुपमा रहेको आगो नियन्त्रणका लागि प्रयास जारी राखेको उनले जानकारी दिए। आगो नियन्त्रणमा लिन पानीको प्रयोगदेखि अन्य सबै बैकल्पिक उपाय उपयोग गर्ने सुरक्षाटोलीको तयारी रहेको उनले सुनाए। पाथीभरा क्षेत्रको जंगलमा लागेको लागेको डढेलोबाट थप जोखिम हुन नदिन यसअघि हेलिकोप्टरमार्फत बकेटमा पानी ल्याइ आगलागी भइरहेको क्षेत्रमा खन्याउने प्रयास पनि गरिएको थियो। अबको सबै प्रयास मानवीय जनशक्ति बैकल्पिक उपाय केन्द्रित हुने प्रजिअ चापागाँइले बताए। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका उनी नेतृत्वको सुरक्षा टोलीले पाथीभरा जंगलमा लागेको डढेलो क्षेत्रको स्थलगत अनुगमनपछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिने प्रयासका बारेमा सबै उपाय अवलम्वन गर्ने नीति लिएको हो।  

जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार नेपाली सेनाको २५, नेपाल प्रहरीको २४, सशस्त्र प्रहरीका ११ र पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र स्थानीयसहित करिव ३५–४० जना गरी करिव एकसय जनाको जनशक्ति अहिले डढेलो पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयासमा परिचालित भएको छ। 

यो टोलीले अन्यत्र आगो बढ्न नदिन अग्नि रेखा बनाउने तथा सुक्ष्म रुपमा रहेको आगो नियन्त्रणमा लिन पानीको प्रयोग सहितका सबै उपाय अवलम्वन गर्ने योजना बनाएको छ। ‘आजबाट आगो अन्यत्र फैलन नदिन तथा सुक्ष्म रुपमा रहेको आगोको पहिचान गरी पूर्ण रुपमा नियन्त्रणमा लिन सबै बैकल्पिक उपायको उपयोग गरिने छ’डिएसपी श्रेष्ठले भने।

प्रकाशित: १९ पुस २०७७ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App