पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटीय क्षेत्रमा अवस्थित एकमात्र संरक्षित क्षेत्र कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रको जग्गा विक्री तथा खनजोत गर्ने समूहका दुई जना पक्राउ परेका छन्। जैविक विविधताको हिसावले अत्यन्त महत्वपूर्ण मानिएको आरक्षको मध्यवर्ती क्षेत्रको जग्गा विक्री तथा खनजोत गर्ने समूहका वराहक्षेत्र वडा नं. ९ का अमूल चन्द्रवंशी र मनोज पाल पक्राउ परेका हुन्।
पक्राउ पर्ने समूहका दुवै जनालाई मध्यवर्ती क्षेत्रको जग्गा खनजोत गरेको अवस्थामा पक्राउ गरेको आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जनाए। पक्राउ पर्ने समूहले मध्यवर्ती क्षेत्रको जग्गा समेत कतिपयलाईं झुक्याएर विक्री गर्ने गरेको समेत गुनासो आएपछि अनुसन्धान थालिएको छ।
सरकारले विसं २०६१ मा आरक्ष वरिपरिका २१५ वस्तीलाई समेटी एक सय ७३.५० वर्ग किलोमिटर क्षेत्रलाई कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र घोषणा थियो। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्। पक्राउ पर्ने समूहका दुवै जनाले बढी मात्रमा बराहक्षेत्रको श्रीलंका टापु क्षेत्रको जग्गा खनजोत र विक्री गर्ने गरेको खुलेको छ। श्रीलंका टापुकै बासीन्दा रहेका चन्द्रवंशी र पालले उदयपुरको बेलका नगरपालिकाले घेराबेरा गरेको सरकारी जग्गाको तारजाली समेत भत्काएको खुलेको छ।
पक्राउ परेका दुवैलाई जिल्ला सरकारी वकिल कार्यालय सुनसरीबाट म्याद थप गरि अनुसन्धान चलिरहेको छ। अनुसन्धानपछि सरकारी वकिल कार्यालयको राय लिएर आरक्षका वार्डेन चौधरीको एकल इजालसले आदेश गर्नेछ।
पक्राउ पर्नेलाईं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुनेछ। कानुन अुनसार दोषी ठहर भए २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। पूर्वी तराईका उदयपुर, सप्तरी र सुनसरी जिल्लाका केही भागलाई समेटेर वन्यजन्तु आरक्षको वि.सं. २०३२ मा स्थापना गरिएको हो।
आरक्ष क्षेत्र आसपासका बासीन्दा र आरक्षका रैथाने जनावर दुवैका लागि क्षेत्र विस्तार उत्तम विकल्प मानिदै आएकोमा भएको क्षेत्र पनि गिरोहले अक्रिमण गर्ने क्रम बढ्दो छ। क्षेत्र विस्तार गर्नका लागि सरकारी अध्ययन टोलीले २०७१ फागुन ८ गते राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण विभाग ववरमहलमा प्रतिवेदन बुझाएको थियो। तर, अझैसम्म निर्णय भएको छैन।
आरक्ष क्षेत्र विस्तार गर्दा उच्च वाढीको समयमा समेत वन्यजन्तु जोगाउन सकिने, आरक्ष क्षेत्रको अतिक्रमित जग्गा आफैले उपयोग गर्ने, सिमसार क्षेत्र जोगिने, छाडा चरीचरण नियन्त्रण गर्ने, मानव वन्यजन्तुको द्वन्द कम हुने र जैविक विविधता प्रणालीको संरक्षण हुनेछ। आरक्षको व्यवस्थापन चुस्त–दुरुस्त तथा प्रभावकारी बनाएर सिमसार क्षेत्रमा आधारित संकटापन्न चरा, अर्ना, हात्तीसहित जैविक विविधता, सिमसार तथा मानव बस्तीको सूरक्षा सुनिश्चित गर्ने ध्येयले विस्तारका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन गरिएको थियो।
प्रकाशित: २५ मंसिर २०७७ ११:४९ बिहीबार