१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सौर्य सिमेन्टको खानीमा ४ वटा बम विष्फोट, ५ घाईते

स्काभेटर र मोटरसाईकल ध्वस्त

विष्फोटबाट घाईतेहरु कटारी अस्पतालमा उपचारको क्रममा र ध्वस्त स्काभेटर। तस्विरः महेश्वर/नागरिक

उयदपुरको कटारीस्थित सौर्य सिमेन्टको चुनढुंगा खानीमा बिहीबार राति अज्ञात समूहले ४ वटा शक्तिशाली बम विष्फोट गराएको छ। कटारी नरपालिका ८ मर्जेतपुरस्थित खानीमा भएको विष्फोटले खानीकै ५ जना मजदुर घाईते भएका छन् भने एउटा स्काभेटर र मोटरसाईकल ध्वष्त भएको छ।  

मध्येराति ठूलठूला आवाजका साथ विष्फोट हुँदा मजदुरहरु दुर्गाबहादुर तामाङ, शिवशंकर मोक्तान, नविन मगर, विष्णु मगर र सागर मोक्तान घाईते भएको प्रहरीले जनाएको छ। घाईतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।  

घट्नाबारे विस्तृत जानकारी आईनसकेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कटारीको टोली शुक्रबार विहान घटनास्थलतर्फ गएर विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

उदयपुरमा भएको यो विष्ष्फोट दुईसाताभित्र दोस्रो घटना हो। झण्डै दुईसाताअघि मंसिर ६ गते जिल्लाको ताप्ली गाउँपालिका भवनमा शक्तिशाली बम विष्फोट भएको थियो भने एउटा बम प्रवेशद्वारमा बेवारिसे अवस्थामा भेटिएको थियो। मध्येराति भएको विष्फोटबाट प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षको कार्यकक्षका ढोका र फर्निचरमा क्षति पुगेको थियो। प्रवेशद्वारमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले १८ घण्टापछि निस्कृय पारेको थियो।

विष्फोटनको आशंकामा सोधपुछ गर्न घट्नाको ३ दिनपछि पक्राउ ताप्लीकै २ जनामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। ताप्ली ५ का ७८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली १ की ३४ वर्षीया निरु विकलाई सोधपुछका लागि नियनत्रणमा लिएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले पुष्टि गरेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर अनुसन्धान भईरहेको जनाइएको छ।  

प्रतिबन्धित हनुअघि नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपासँग आवद्ध रहेका देवकोटा र विक पार्टीमाथि प्रतिबन्ध सुरु भएयता कुनै गतिबिधिमा नलागी निस्कृय रहेको परिवारजनले जनाएका छन्। बृद्ध देवकोटा विगत ५ वर्षयता कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र र निस्कृय रहेको छोरा तोविनले बताए। ‘हाम्रा बुवा ४–५ वर्षअघि बिप्लबको पार्टीको समर्थक हुनुहुन्थ्यो, आमा र हामी छोराछोरी सबैले बुढेसकालमा त्यता लाग्नुको काम छैन भनेर आग्रह गर्यौं’ पूर्व लडाकुसमेत रहेका तोविनले भने ‘त्यसपछि निस्कृय हुदै जानु भएकोमा पार्टी प्रतिबन्धित भएपछि सम्पर्कमै रहन छाडिसक्नु भएको हो।’

पूर्व जिल्ला विकास समिति सदस्यसमेत रहेका बृद्ध देवकोटालाई हिरासतमुक्त गर्न पनि छोरा देवकोटाले सरकारसँग आग्रह गरेका छन्। बृद्ध उमेर, अशक्त र अस्वस्थ्य ज्यान भईसकेका उनी कुनै पार्टी विशेषमा आस्था राख्न छाडिसकेकाले प्रहरीको चिसो छिँडीबाट मुक्त गर्न उनले प्रहरी, प्रशासन र राजनीतिक दलहरुलाई आग्रह गरेको बताएका छन्।  

उनीसँगै पक्राउ परेकी विक पनि सामान्य समर्थक मात्र भएको तर, पार्टीमाथि प्रतिबन्ध लागेसागै निस्कृय भएको स्थानीयले बताएका छन्। 

प्रकाशित: १९ मंसिर २०७७ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App