७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु, पाँच घाइते

आइतबार विभिन्न ठाउँमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा र उर्लाबारीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जना र म्याग्दीमा भएको दुर्घटनामा एकको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ स्थित सलकपुर चोकमा आइतबार बिहान बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई प्रदेश १–०१–००१ ख ३४१० नम्बरको बसले ठक्कर दिएको हो। बसको ठक्करबाट मोटरसाइकल चालक सुन्दरहरैंचा–७ का ४० वर्षीय बिजेस लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

त्यस्तै सुन्दरहरैंचा–९ चाँदनी पेट्रोलपम्प अगाडि शनिबार राति स्कुटर र ट्याक्टर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। ट्याक्टरको ठक्करबाट घाइते भएका स्कुटर चालक सोही ठाउँका ४२ वर्षीय मकेश्वर चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिमल्सिनाले जानकारी दिए। उता इटहरा–उर्लाबारी सडक खण्डअन्तर्गत उर्लाबारी–८ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको डिएसपी तिमल्सिनाले जनाए। मृतकको पहिचान हुन सकेको छैन।

म्याग्दी संवाददाता हरिकृष्ण गौतमकाअनुसार म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको ताराखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका पाँच जना घाइते भएका छन्। गाउँपालिका–२ लाम्पाताबाट सोही वडाको सल्लानतर्फ जाँदै गर्दा बा००१च ०२५२ नम्बरको जीप ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना हुँदा ११ वर्षीया करिस्मा केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७७ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App