५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ताप्ली गाउँपालिका कार्यालयमा बम विष्फोट, अध्यक्ष र उपाध्यक्ष कार्यकक्षमा क्षति

ताप्ली गाउँपालिका भवन। तस्विरः महेश्वर

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा आईतबार विहान शक्तिशाली बम विष्फोट भएको छ। विहान १ः०० बजेको समयमा ठूलो आवाजका साथ विष्फोट भएको बमले अध्यक्षको कार्यकक्ष छिर्ने ढोका र फर्निचरहरुमा क्षति पुगेको छ।  

अध्यक्ष उद्धवसिंह थापा र उपाध्यक्ष कमलामाया राईको कार्यकक्ष रहेको पक्की भवनको एकतला माथि बरण्डामा भएको विष्फोटले त्यहाँ राखिएको सोधपुछ काउन्टर (हेल्पडेस्क)का फर्निचर र अध्यक्ष थापाको कार्यकक्षको ढोकामा क्षति गरेको स्थानीयले बताएका छन्। एकतला जान भर्याङ चढेपछि बाँयातर्फ अध्यक्ष र बाँयातर्फ उपाध्यक्षको कार्यकक्ष जानुअघि सोधपुछ काउन्टरको टेबल, कुर्सी र कार्पेट बमले डढेर नष्ट भएको छ। स्थानीयले कार्यालय प्रवेशद्वार (गेट) मा पनि एउटा बमजस्तो बस्तु फेला परेको बताएका छन्।  

जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्फोट भएको पुष्टि गरेको छ। प्रहरी प्रमुुख एसपी भीमबहादुर दाहालले विहान १ः०० बजे विष्फोट भएको आवाज सुनिएलगत्तै नजिकमा रहेका स्थानीयले प्रहरी बोलाएपछि रुपाटार चौकीबाट टोली खटाएर सुरक्षा दिएको बताए। उनले इलाका प्रहरी कार्यालय कटारीका डिएसपीको कमाण्डमा अर्को टोली विहान पठाईसकेको र जिल्लाबाट पनि इन्सपेक्टरको टोली पठाउने तयारी भइरहेको बताएका छन्।  

दाहालका अनुसार घट्नाबारे सबै विवरण खुलिसकेको छैन। कुन बम विष्फोट भयो भनेर यकिन नभएको र गेटमा भेटिएको एउटा बम पनि कुन खालको हो भन्ने नखुलेको उनले बताए। ‘विष्फोट भएको हो, बम पनि फेला परेको भनिएको छ तर, कुन हो भन्ने खुलिसकेको छैन’ एसपी दाहालले भने ‘अहिलेलाई आईईडी (इन्क्लुसिभ एक्सक्लुसिभ भिडाईस) भनौं, के हो भनेर हाम्रो टोलीले अनुसन्धान गर्दैछ। केही समयपछि खुल्छ।’  

गाउँपालिका अध्यक्ष थापाले घट्नाको पुष्टि गर्दै तर, को वा कुन समूहले घट्ना घटायो भन्ने थाहा नभएको बताए। कुनै समूहले चन्दा मागेको वा धम्की दिएको पनि नखुलेको गाउँपालिकाले जनाएको छ। विष्फोटनले गाउँपालिका केन्द्र रहेको रुपाटारबासी त्रसित बन्न पुगेका छन् भने कर्मचारी र जनप्रतिनिधिमा आतंक मच्चिएको छ। विष्फोट भएको भवन रुपाटार माविको प्रांगणमा विद्यालयकै हो। स्थानीयतह पुनर्संरचनापछि भवन अभावमा विद्यालयको एउटा मात्र पक्की भवनमा गाउँपालिका कार्यालय राखिएको थियो।

प्रहरीले जुनसुकै व्यक्ति वा समूहले गरेको भए पनि केहीदिनभित्रै अपराधी पत्ता लगाएर कारबाही गर्ने जनाएको छ। छुट्टाछुट्टै टोली अनुसन्धानका लागि त्यहाँ पठाएर अनुसन्धान सुरु भएको भन्दै एसपी दाहालले अपराधी पत्ता लाग्न धेरै दिन कुर्न नपर्ने प्रतिबद्धता जनाएका छन्।  

प्रकाशित: ८ मंसिर २०७७ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App