६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आइसोलेसनमा बसेकालाई सामूहिक भाइटीका

इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसन कक्षमा सोमबार सामूहिक भाइटीका लगाइएको छ। आइसोलेसन कक्षमा रहेका छ कोरोना सङ्क्रमितलाई नगर उपप्रमुख लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एक कोरोना सङ्क्रमित महिलाले टीका लगाइदिएकी हुन्।

साथै उपप्रमुख गौतमले ११ सुरक्षाकर्मी र चार स्वास्थ्यकर्मीलाई टीका लगाइदिएकी थिइन्। टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन कक्ष पुगेकी थिइन्। सङ्क्रमितहरुले वर्ष दिनको चाडबाडमा आइसोलेसन कक्षमा रहँदा पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका थिए। चाडबाडमा समेत सेवामै खटिएका सुरक्षाकर्मीलाई टीका लगाइदिँदा उनीहरुले आँखाभरि आँशु पारेर हर्ष व्यक्त गरेको उपप्रमुख गौतमले बताइन्।

वर्ष दिनको चाडबाडका बेला सङ्क्रमित भएर घर परिवारभन्दा टाढा बस्नुपर्दा र उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनी खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडबाडको अनुभूति दिलाउन टीका लगाइदिएको उपप्रमुख गौतमले वताइन्। दशैँका बेला पनि इटहरी आइसोलेसन केन्द्रमा सामूहिक टीका लगाइएको थियो।
रासस

प्रकाशित: २ मंसिर २०७७ ०२:२८ मंगलबार

आइसोलेसन सामूहिक भाइटीका