१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नदी कटानले विद्यालय भवन उच्च जोखिममा

पात्लेबासस्थित पञ्चकन्या मावि र नजिकै सिसुवा खोलाको कटान क्षेत्र। तस्बिर: महेश्वर/नागरिक

त्रियुगा नगरपालिका–६ स्थित चुरेपारीको लालपत्ता क्षेत्रका एक दर्जन बस्तीका बालबालिकाले शिशुदेखि कक्षा १२ सम्म पठनपाठन गर्ने पञ्चकन्या माध्यमिक विद्यालय अहिले नदी कटानका कारण उच्च जोखिम परेको छ। पात्लेबासमा रहेको उक्त विद्यालयका दुईवटम पक्की भवन कुनै पनि बेला बाढीले बगाउने जोखिममा पुगेको छ। १० वर्षयता बाढीले कटान गर्दै आएकोमा यस वर्ष झन्डै १० मिटर कटान गरेपछि स्कुल उच्च जोखिममा परेको उक्त विद्यालयका प्रधानाध्यापक गेसराज कार्कीले बताए।

उनका अनुसार सडकछेउमै टाँसिएको विद्यालय २०४३ सालमा स्थापना गरेर दुई वर्षयता कक्षा १२ सम्मको पठनपाठन थालिएको हो। कक्षा ५ सम्म मात्र सरकारी दरबन्दी स्वीकृत रहेको विद्यालयमा अढाइ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्दै आएका छन्। निजी स्रोतमा सञ्चालन गर्नुपर्ने भएकाले स्थानीयसँग चन्दा र सहयोग मागेर शिक्षक कर्मचारीलाई तलबभत्ता दिँदै आउनुपरेको प्रधानाध्यापक कार्कीले सुनाए।छोराछोरीलाई कक्षा १२ सम्म पढ्न कि सदरमुकाम पुग्नुपर्ने कि छिमेकी जिल्ला सिरहा र सप्तरी जानुपर्ने बाध्यता भएपछि गाउँले सबै मिलेर आफ्नै ठाउँमा कक्षा १२ सम्मको पठनपाठन गर्न जुर्मुराए पनि त्यसलाई टिकाइराख्न धेरै हम्मे परेको उनको भनाइ छ।

आर्थिक अवभावसँग पौठेजोरी खेलिरहेको विद्यालयमाथि प्राकृतिक विपत्तिसमेत आइलागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहाुदर कार्कीले नगरपािलका, जिल्ला समन्वय समिति, प्रदेश सांसद र संघीय सांसदको ध्यानाकर्षण गराएको बताए। तर कतैबाट सकारात्मक जवाफ पाउन नसकेको उनको गुनासो छ।

उनका अनुसार सडकछेउमा बाँसघारी भएकाले यो वर्ष बाढीबाट बचाउन सकिए पनि अर्को वर्ष यस्तै बाढी आए स्कुल निश्चित रूपमा कटानमा पर्ने देखिएको छ। ‘यो वर्ष धन्न सडकछेउमा बाँसघारी भएकाले थप कटान भएन,’ अध्यक्ष कार्कीले भने, ‘अब अर्को वर्ष यस्तै बाढी आयो भने स्कुल रहँदैन।’ कटानको जोखिमबाट बचाउन सरकारसँग पहल गर्न उनले सम्बन्धित सबै पक्षसँग अनुनय विनय गरेका छन्।

विद्यालय व्यवस्थापनका पूर्वअध्यक्ष अश्विन कार्कीले यो वर्ष मात्र झन्डै १० मिटर जमिन बाढीले कटान गरेपछि सडक र विद्यालय जोखिममा परेका हुन्। तत्काल अस्थायी र दीर्घकालीन उपाय अपनाएर रोकथाम नगरे बाढीले बर्सेनि विद्यालयलाई कटानको जोखिममा पार्ने उनी बताउँछन्। निजी स्रोतको विद्यालय चरम आर्थिक अभावले प्रशासनिक खर्चसम्म धान्न धौधौ भएको अवस्थामा कटानको जोखिमले थप पीडा थपेको उनले बताए। रोकथामका लागि अध्यक्ष कार्कीले दुई वर्षअघि आफ्नै पालामा नगरपालिका, प्रशासन र नेताहरूलाई गुहारेको तर ठोस पहल कतैबाट नभएको स्मरण गरे।

विद्यालय व्यवस्थानकै अर्का पूर्वअध्यक्ष नरबहादुर खड्काले स्कुल कटानबाबाट बचाउन तत्काल तटबन्ध बाँध्नुपर्ने बताए। उनले सम्बन्धित वडाध्यक्ष निर्मल चौधरी, नगरप्रमुख बलदेव चौधरी, प्रदेश सांसद हिमाल कार्की र संघीय सांसद डा. नारायण खड्काको ध्यानाकर्षण गराए पनि कतैबाट चित्तबुझ्दो सहयोगको आश्वासनसम्म नपाएको बताए। सदरमुकामकै नगरपालिका भएर पनि भौगोलिक दूरीका कारण लालपत्तालाई सबैले ओझेलमा पारेको नेकपाका स्थानीय नेतासमेत रहेका खड्काको गुनासो छ।

स्थानीयको गुनासोपछि जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले स्थलगत अनुगमन गरी विद्यालय, सडक, खानेपानी सबै क्षेत्रको निरीक्षण गरेका छन्। अनुमगनको क्रममा प्रमुख परियारले विकास निर्माणजस्तो विषयमा भूगोल र अन्य अर्थ लगाएर राज्यबाट कसैमाथि भेदभाव हुन नहुने बताए। लालपत्ता क्षेत्र चुरे पारीको भूगोल र सप्तरीसँग सीमा जोडिएको हुनाले आफूहरूलाई ‘कर्णाली’ बनाइएको गुनासो गरेका स्थानीयलाई परियारले उचित सम्बोधन गर्ने आश्वासन दिए।

प्रकाशित: २७ कार्तिक २०७७ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App