coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तिहारमा पनि नपाउने भए ज्येष्ठ नागरिकले भत्ता

पहिलो चौमासिकमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि जुम्ला चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरिकको दसैं नरमाइलो बनेको छ। पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको आरोप जेष्ठ नागरिकको छ।  

जुम्ला चन्दननाथ नगरपालिका ५ का ७८ वर्षीय पुर्णबहादुर खत्रीले चार महिनादेखि भत्ता नपाएको बताउँछन्। उनले भने,‘दसैं त जसोतसो मनाइयो, तिहार कसरी मनाउने होला भन्ने चिन्ताले पिरोल्न थालेको छ।’ भत्ता नपाउने छाँटकाँट देखेपछि एक हजार रुपैयाँ लुकाएर राखेको थिए। त्यही रुपैयाँले दसैं मनाए। तिहारमा समस्य छ। उनले थपे,‘नगरपालिकाले जेष्ठ नागरिकलाई वास्ता गर्दैन। कोहीले भत्ता निकालिएको छ भन्छन्। कसैले भत्ता निकालिएको छैन भन्छन्, हामी जेष्ठ नागरिक अन्यौलमा छौँ।’

जेष्ठ नागरिकको आयस्रोत भनेको सामाजिक सुरक्षा भत्ता हो। बिरामी पर्दा देखि चाडपर्व मनाउनको लागि भत्ताको रकम खर्च गर्छन्। पुर्णबहादुर खत्रीले हरेक चौमासिकमा ८ हजार रुपैयाँ पाउँछन्। हामी पटक पटक नगरपालिका भित्र छिर्र्छौ, हामी जस्ता सेतै फुलेकालाई कसले वास्त गर्थे। अफिस भित्र पसे पनि टेर्दैनन्। उनले भने,‘हामी आशावादी छौँ। दिए खाने हो। नत्र भोकै बस्न तयार छौँ।’

यो पटक नगरपालिकावासीले दसैंमा ऋण निकालेर मनाए। अहिले सम्म सामाजिक सुरक्षा भत्ताले काम चलाउदै आएका छौँ। जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले जेष्ठ नागरिकलाई साथ दिने निकाय संघीयतापछि घटेको बताउँछन्। पहिलो गाविस हुँदा हरेक बजेट तर्जुमा गर्दा सहभागी हुन्थ्यौँ। संघीयता आएपछि गाउँका सिंहदरवारले बजेट तर्जुमा गर्दा सहभागी गराउँदैनन्। अध्यक्ष भारतीले भने,‘केन्द्रीकृत सत्ताले सम्मान दिएको जेष्ठ नागरिकलाई संघीयताले हेप्यो। जेष्ठ नागरिकको पक्षमा बोलिदिने नियम, कानुन, प्रशासन, राजनीतिक नेता छैनन्।’

गत भदौ महिनादेखि नै भत्ता दिने वातावरण बनाउन आग्रह गरिएको जेष्ठ नागरिक संघ बताउँछ। जेष्ठ नागरिक सबै एकै प्रकारका छैनन्। कोहीले राम्रो परिवारको साथ पाउँछन्। कसैले दसैंका लागि भत्ताको आश गरिरहेका हुन्थे। तर गाउँका सिंहदरवारले न दसैंमा भत्ता दिए नत तिहारमा नै भत्ता पाउने भए। यो निकै दुःखद् विषय हो।  

चन्दननाथ नगरपालिकामा ७ सय २० जना जेष्ठ नागरिक छन्। विद्यवा ३ सय ४५, बालबालिका एक हजार ४ सय, अपांगता भएका ब्यक्ति १ सय ६६ छन्। ६० वर्ष माथिका जेष्ठ नागरिकलाई महिनामा दुई हजार भत्ता दिइएको छ। ७० वर्ष माथिकालाई २ हजार भत्ता र एक हजार उपचार खर्च दिइने ब्यवस्था छ। एकल महिलालाई महिनामा दुई हजार र बालबालिकालाई प्रति महिना ४ सय रुपैयाँ भत्ता दिइन्छ।  

स्थानीय सरकारबाट अरु सुविधा पाउनु त कहाँ हो कहाँ, आफूले पाउने सेवा समेत नपाउदा दुखी बनेको उनीहरु बताउँछन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाई भत्तामा भइरहेको ढिलासुस्तीबारे गम्भीर बनेको बताउँछन्। उनले भने, ‘सामाजिक सुरक्षा वितरण गर्ने फाँटका कर्मचारीको बदमासीका कारण दसैंमा पनि भत्ता उपलब्ध गराउन सकेनौँ। तिहारमा पनि भत्ता दिन सकिने अवस्था छैन। तर तिहार लगत्तै सामाजिक सुरक्षा भत्ता बाँड्छौँ।’

सामाजिक सुरक्षा फाँटमा भइरहेको बदमासीको अख्तियारले पनि अनुसन्धान गरिरहेको छ। नगरपालिकाले पनि पटक पटक स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत चौलागाइ बताउँछन्। जेष्ठ नागरिकले भत्ता नपाएको विषयमा भद्रभलादमी तरिकाले पेश हुने जनाएको छ। तर स्थानीय सरकारले मर्का नबुझ्दा समस्या भइरहेको जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७७ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App