१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामाजिक सुरक्षा भत्ता, जनप्रतिनिधिले लिए तर जनताले पाएनन्

गोरखाका अधिकाशं स्थानीय तहका जनप्रतिनिधिले आफूले पाउने तलबभत्ता लिइसके। कतिपयले त तलबभत्ता लिएको महिना दिन पनि बढी भयो। तर दसैंको मुखमा सामाजिक सुरक्षाभत्ता पाउनुपर्ने सर्वसाधारणले घटस्थापना लागिसक्दा अझै पाएका छैनन्।

पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरण हुन सकेको छैन। गोरखा नगरपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, धार्चे गाउँपालिकाले वितरण गरिरहेको बताएका छन् भने चुमनुब्री र अजिरकोट गाउँपालिकाले वितरण सकिसकेका छन्।

पालुङटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले बैंकबाट वितरणको तयारी भएको तर कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएका कारण जनताको हातमा पुग्न ढिला भएको बताए। गण्डकी गाउँपालिकाको गाउँ सभा असोज दोस्रो साता ढिला गरी भएकाले यस वर्ष सामाजिक सुरक्षा भत्ता दसैंअगावै वितरण गर्न सक्ने अवस्था छैन। कोभिडका कारण वडा नम्बर ७ र ८ मा भत्ता बितरण गर्ने बैंक बन्द हुँदा पनि केही समस्या आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले बताए। ‘अब दसैंपछि वितरण हुन्छ,’ उनले भने।

भीमसेन थापा गाउँपालिकामा दशैँ अगाबै बितरण गर्ने गरी तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले बताए। ‘बजेट निकासाको तयारीमा छौँ, फूलपातीसम्म वितरण सक्ने लक्ष्य छ,’ उनले भने। सिरानचोक गाउँपालिकामा पालिकाबाट निकासा भइसकेको तर वडा वडामा कात्तिक ५ र ६ गते वितरण गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए।

सहिद लखन गाउँपालिकामा दसैंअगावै वितरण हुने सम्भावना कम छ। ‘हामीले सामाजिक सुरक्षाभत्ता रकम र विवरण बैंकलाई पठाइसकेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले भने, ‘बैंकलाई दसैंअगाबै वितरण गर्न भनेका छौँ, तर सुरु भएको छैन।’ ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका र ६० वर्षमुनिका एकल महिलालाई भत्ता दिने निर्णय ढिला गरी गरेकाले समस्या भएको उनले बताए।

बितरण सुरु गरिसकेका स्थानीय तहले दसैँअगाडि सबैलाई दिने योजना बनाएका छन्। पालुङटार नगरपालिका, गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाबाहेकका अन्य सबै स्थानीय तहले जनप्रतिनिधि र कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्नेछन्। यी पालिकाले भने बैंकबाट दिने बताएका छन्। कोभिड १९ को प्रभावका कारण बैंकले सबैलाई दसैंअगाबै वितरण गर्न नसक्ने देखिएपछि कर्मचारीमार्फत वितरण गरिएको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए।

६० वर्षमुनिका एकल महिला र ‘ख’ वर्गको कार्ड प्राप्त अपाङ्गता भएकाहरुको हकमा भने केही दिनअघि मात्रै सामाजिक सुरक्षाभत्ताको अख्तियारी आएकाले यसअघि वितरण गरिसकेका, निकासा लिइसकेकाले उनीहरुलाई दसैंपछि वितरण गर्ने भएका छन्। ‘हामीले सामाजिक सुरक्षाभत्ता वितरण गरेपछि अख्तियारी आएकाले अहिले तत्काल ६० वर्षभित्रका एकल र ‘ख’ वर्गको अपाङ्गता भएकालाई दिनसक्ने अवस्था भएन,’ चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले भने, ‘अरु सबैलाई वितरण सक्यौं।’

प्रकाशित: ३ कार्तिक २०७७ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App