२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दसैं सुरक्षा: प्रविधिद्वारा निगरानी, देशभर ४८ हजार प्रहरी परिचालन

कोरोना संक्रमणलाई ध्यानमा राखी नेपाल प्रहरीले प्रविधिसहितको दसैंलक्षित सुरक्षा योजना ल्याएको छ। जनशक्ति कम प्रयोग र प्रविधिको बढी प्रयोग गरी यस वर्ष उपत्यकामा सुरक्षा चुस्त राख्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो।

दसैं नजिकिँदै गर्दा काठमाडौंमा ड्रोन, डमी, सिसी क्यामेरालगायत प्रविधिजन्य उपकरणबाट सुरक्षा रणनीति तयार पारिएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए। उनका अनुसार उपत्यकाको मुख्य क्षेत्रको सुरक्षा निगरानी प्रविधिमा केन्द्रित बनाइनेछ। कोरोना संक्रमण फैलने डरमा कार्यालयभित्रका डेक्सबाट प्रहरीले ड्युुटी गर्नेछन्। ‘यो वर्ष काठमाडौंको दसैंसुरक्षा रणनीति फरक छ। इन्टरनेट, कम्प्युटर, सिसी क्यामेरा, डमीजस्ता प्रविधिको व्यापक प्रयोग हुन्छ। यसो गर्दा प्रहरी सडकमा कम देखिए पनि सुरक्षा व्यवस्था भने चुस्त नै हुन्छ,’ उनले भने। उनका अनुसार प्रहरी प्रधान कार्यालयले दसैंतिहारमा उपत्यकाका मुख्य सहरी क्षेत्रको सुरक्षाका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, भक्तपुर परिसर, ललितपुर परिसर र काठमाडौं परिसरसँग समन्वय गरी सुरक्षा योजना तय गरिसकेको छ।

यसबाहेक देशभरको सुरक्षा व्यवस्था चुस्त राख्न नेपाल प्रहरीले ४८ हजार ४ सय ३० प्रहरी परिचालन गर्ने जनाएको छ। कोरोना महामारीका कारण कतिपय प्रहरी कार्यालयमा जनशक्ति अभाव भएपछि केन्द्र र प्रदेशको प्रहरी परिचालन गरेर भए पनि सुरक्षा योजना व्यवस्थित पारिएको नेपाल प्रहरीले जनाएको छ। सुरक्षा व्यवस्था बलियो राख्न प्रदेशअनुसार प्रहरी जनशक्ति तोकिएको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार रानीपोखरीबाट ७ हजार ५ सय ५० जना, प्रदेश १ को प्रहरी कार्यालयबाट ७ हजार ९ सय २२ जना, प्रदेश २ मा ७ हजार ३ सय १०, बाग्मती प्रदेशमा ४ हजार १ सय ५३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ३, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा ३ हजार ७ सय १७ र सुदूरपश्चिममा ५ हजार ५० जना प्रहरी परिचालन गर्ने तयारी भएको छ। यी क्षेत्रमा आवश्यकताअनुसार प्रहरी परिचालित हुनेछन्।

प्रकाशित: ३० आश्विन २०७७ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App