७ वैशाख २०८१ शुक्रबार
समाज

सामाजिक सुरक्षा भत्तामा चुहावट

खोटाङको साकेला गाउँपालिका–५ विर्तामा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सूचीमा दुई जना मधुकुमारी राईको नाम उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ मा सामाजिक सुरक्षा भत्ता बुझे/बुझाएको तथ्यांकमा दुवै मधुकुमारीको जन्म मिति बाहेक ठेगाना र नागरिकता नम्बर एउटै छ। एउटा मधुकुमारी राईको जन्ममिति २००५ असोज २५ गते उल्लेख छ। अर्की मधुकुमारी राईको जन्ममिति २००५ असोज १५ गते उल्लेख छ।

तर, दुवैमा नागरिकता नम्बर भने १२१०२९/१६९ देखिन्छ। एउटै नागरिकता नम्बर देखाइएको मधुकुमारी नामको दुई लाभग्राहीले आर्थिक वर्ष २०७६/०७७ को तेस्रो अर्थात अन्तिम किस्ता बुझेको तथ्यांकमा उल्लेख छ। यस्तै, २००५ साल असोज २ गते जन्ममिति भएकी गंगामायाँ तामाङको नागरिकता नम्बर १२१०२९/२३२ छ। सोही जन्ममिति र नागरिकता नम्बर प्रयोग गरेर गंगामायाँ राईको नाममा भत्ता निकासा गरिएको देखिन्छ।

तर, आर्थिक वर्ष २०७६/०७७ तेस्रो चौमासिकमा गंगामायाँ राईको नाम हटाइएको रेकर्डमा उल्लेख छ। कतिसम्म भने सो वडामा जन्ममिति २००४ फागुन १ गते र नागरिकता नम्बर ८६५/७२७ भएको फुलसरी राई नाम गरेको तीन जनाको नाममा आर्थिक वर्ष २०७६/०७६ को पहिलो चौमासिकसम्म सामाजिक सुरक्षा भत्ता वितरण भएको देखिन्छ। तर, फुलसरी नामको तीन जनाको नाम आर्थिक वर्ष २०७६/०७७ को दोस्रो चौमासिकमा (गत फागुनमा) हटाइएको देखिन्छ।

वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा कसरी अनियमितता भइरहेको छ, भन्ने यि केही उदाहरण हुन्। मात्तिम (विर्ता) मा मृत्यु भइसकेका, बसाइँ सरेका, नक्कली व्यक्ति वा एउटै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा गरेर चुहावट भइरहेको प्रष्ट सरकारी तथ्यांकले देखाएको छ। सो वडामा मृत्यु भइसकेका व्यक्तिको नाममा वा बसाइँ सरेर अन्यत्र गएका व्यक्तिको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको देखिएको छ।

वडामा मृत्यु भइसकेका, बसाइँ सरेका, नक्कली व्यक्ति वा एउटै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता निकासा गरेर चुहावट भइरहेको सरकारी तथ्यांकले देखाएको छ।

कतिपय नाम, नागरिकता नम्बर, ठेगाना र जन्ममिति सबै एउटै उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ। एकै व्यक्तिको नाममा एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको पनि तथ्यांक फेला परेको छ। साकेला गाउँपालिका–४ मात्तिम (मानेभञ्ज्याङ) मा नक्कली प्रमाणपत्र बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको प्रष्ट देखिन्छ। मात्तिम (विर्ता)मा पनि सोही प्रकृतिको अनियमितता हुँदै आएको तथ्य बाहिरिएको हो। सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले अभियान चलाए पछि सामाजिक सुरक्षा भत्ता दुरुपयोगको भएको प्रमाण छताछुल्ल हुन थालेका छन्।

राज्यको रकममा भइरहेको अनियमितता रोक्न अभियान थालिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए। उनले सामाजिक सुरक्षा भत्तामा हुँदै आएको बेतिथिलाई शुन्यमा झार्ने दाबी गरे। ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउँदै आएकी मात्तिम (विर्ता) की मनसिला राईको २०७३ सालमा मृत्यु भएको थियो। नागरिकता नम्बर १४१८ भएकी मनसिलाको नाम अहिले पनि लाभग्राहीको सूचीमा छ। उनले आर्थिक वर्ष २०७६/०७७ को अन्तिम चौमासिकसम्म भत्ता लिएको देखिन्छ। यस्तै, १९९८ साल फागुन १५ गते जन्ममिति भएकी तुलसादेवी खत्रीको २०७३ पुसमा मृत्यु भयो।

कसैको परेन दाबी/विरोध
साकेला गाउँपालिकाले दाबी बिरोधका लागि सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको नामावली प्रकाशन गरेको थियो। १५ दिनको म्याद दिएर असोज ५ गते लाभग्राहीको सूचना आव्हान गरिए पनि दाबी/बिरोध नपरेको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिल्लीमान राईले बताए। सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउनका लागि गाउँपालिकाले पाँच वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने एक हजर दुई सय १४ जना व्यक्तिको नामावली सार्वजनिक गरेको थियो। दाबी÷बिरोध नआए पनि आगामी दिनमा वास्तविक लाभग्राही बाहेक अन्य व्यक्तीलाई हुँदै आएको भत्ता वितरण रोक्ने गाउँपालिका अध्यक्ष खड्काले बताए।

दाबी बिरोधका लागि साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका तीन सय ५५ जना, गाउँपालिका–२ का दुई सय ९८ जना, गाउँपालिका–३ खिदिमाका एक सय २७ जना, गाउँपालिका–४ मात्तिमका दुई सय ५९ जना र गाउँपालिका–५ मात्तिमका एक सय ७५ जनाको नामावली सार्वजनिक गरिएको थियो। प्रथम चौमासिकको सामाजिक सुरक्षाभत्ता वितरण गर्नु अघि गाउँपालिकाले दाबी बिरोधका लागि सार्वजनिक गरेको थियो।

प्रकाशित: २६ आश्विन २०७७ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App