भक्तपुरका दुई स्थानमा शुक्रबार राति छुट्टाछुट्टै व्यक्तिहरूबाट एउटी १७ वर्षीया किशोरी रातभरि बलात्कृत भएकी छन्। महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीका अनुसार सूर्यविनायकस्थित काँल्चाहामा उनी पहिलो चरणमा एकजनाबाट बलात्कृत भएकी थिइन्। त्यसपछि भक्तपुरकै चाँगुनारायण नगरपालिका–१० लिवालीस्थित तव्याखुसी (ठूलो खोला) को किनारमा पहिला बलात्कार गर्नेकै दुई साथीबाट दोस्रो चरणमा रातभरि जबर्जस्ती करणीमा परिन्।
प्रहरी वृत्त जगातीका अनुसार ती किशोरीलाई शुक्रबार साँझ लठ्याउने औषधि मिसाएको पानी ख्वाई काठमाडौंको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायकस्थित काँल्चाहा ल्याइएको थियो। उनलाई त्यहाँ ल्याउने व्यक्ति फरार रहेकाले नाम खुलिनसकेको बताइएको छ। उनले एउटा नम्बर नखुलेको बसभित्र रातको अन्दाजी १० बजेसम्म ती किशोरीमाथि जबर्जस्ती करणी गरेका थिए। उनले आफू फर्केपछि अर्का दुई साथीलाई ती किशोरीबारे जानकारी दिएर बलात्कार गर्न पठाएका थिए। ती दुईजनाले तव्याखुसी किनारमा लगी त्यहाँ पार्किङ गरिराखेको बा३ख २६१२ नम्बरको बसभित्र रातभरि जबर्जस्ती करणी गरेका थिए।
भोलिपल्ट (शनिबार) बिहानै स्थानीयले घटनाबारे जानकारी पाएपछि प्रहरीलाई खबर गरे। त्यसपछि बलात्कारमा संलग्न पछिल्ला दुईजनालाई गाडीभित्रै पक्राउ गर्न प्रहरी सफल भयो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० का २२ वर्षीय नीरकुमार खड्का र सोही जिल्लाको जुगल गाउँपालिका–४ पाङताङका २१ वर्षीय सूर्य श्रेष्ठ छन्। प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केशवकुमार थेबेका अनुसार बलात्कृत किशोरीले आफ्नो स्थायी घर सिन्धुपाल्चोक र अस्थायी ठेगाना काठमाडौंको मूलपानी बताएकी छन्। बलात्कारको अभियोगमा पक्राउ परेको दुईजना बसचालक र सहचालक रहेको थेबेले बताए। अहिले किशोरी महानगरीय प्रहरी वृत्त जगातीमा छिन्। बलात्कारमा प्रयोग भएको गाडी पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। किशोरीले आफ्नो ठेगानामात्रै बताउन सकेकी छन्। उनले थप केही बताउन नसकेकाले आफन्तको सम्पर्कमा पुग्न नसकिएको प्रहरीको भनाइ छ। अहिले सामान्य अवस्थामा रहेकी पीडित किशोरीको स्वास्थ्य परीक्षण भइरहेको छ। परिवार सम्पर्कमा नआए उनलाई अनाथालयमा राख्ने योजना प्रहरीले बनाएको छ।
बलात्कारको आरोपमा पक्राउ परेका खड्का र श्रेष्ठलाई आइतबार भक्तपुर जिल्ला अदालतमा पेस गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा सात दिन म्याद थप गरेको प्रहरी परिसरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। साथै घटनामा संलग्न रही हाल फरार रहेका प्रतिवादीको खोजतलास भइरहेको परिसरले जनाएको छ।
प्रकाशित: १९ आश्विन २०७७ ०१:१५ सोमबार