१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘कोरोनाबाट मुक्त हुँदा पनि हेला, छोराले समेत पर बस्नुस् भने’

सर्लाहीमा कोरोना संक्रमणबाट मुक्त भएपछि पनि समाजले हेर्ने दृष्टिकोण नकारात्मक पाइएको छ।  

लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीया शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएको गुनासो गरिन्।  

उनले दुखेसो पोखिन्, ‘घर परिवारका मानिसदेखि समाजका अरू व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुई छोरा छन्, उनीहरूले समेत तपाईंलाई कोरोना लागेको होइन, अलि पर बस्नुस् भन्छन्।’

उनले आफूलाई संक्रमण भएको घटना सुनाउँदै अगाडि भनिन्, ‘म महिला सञ्जालमा काम गर्छु, समाजमा सबै खालका मुद्दा आइरहन्छन्। समाजमा धेरै दिदीबहिनीसँग भेट हुन्छ, समाजमा सँगै बसिन्छ। एक दिन अचानक मलाई कमजोर महसुस भयो। अनि जाँच गराउँदा कोरोना भएको रहेछ। त्यसपछि घरमा आएर तीन दिन जति छुट्टै घरमा क्वारेन्टिनमा बसेँ। त्यही बेला स्वाब परीक्षणको रिपोर्ट आयो ।शङ्का त लागेको थियो तर कमजोरी होला भन्ने सोचेकी थिएँ तर फ्याट्ट कोरोना देखियो।’

त्यसपछि लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आइसोलेसनमा दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाइ र खानपिनले नै कोरोनालाई जितेको उनको अनुभव छ।  

बेला–बेला तातोपानी र बेसारपानी खाएको उनले सुनाइन्। कोरोनालाई सामान्य सोच्नु नहुने बताउँदै वान्तवाले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको बताइन्।

लालबन्दी नगरपालिका–८ का वडाध्यक्षसमेत रहेका ३५ वर्षीय राजनकुमार श्रेष्ठ पनि तातोपानी बेसार, जिरा र अदुवा पानी खाएर आफूले कोरोनालाई जितेको बताउँछन्।  

उनले भने, ‘कोरोना लाग्नेबित्तिकै सुरुमा निकै डर लागेको थियो, तर डराउन नहुने रहेछ। लागिहाले आत्तिहाल्नुपर्ने अवस्था हुँदोरहेनछ। कोरोना भनेको केही होइन रहेछ।’

कोरोना लागेपछि घरबाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने गरेको पाएको बताए।  

जिल्लामा २ हजार २ सयको हाराहारीमा कोराना संक्रमित देखिएको भए पनि लालबन्दीमा ८४ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ।  

अहिले लालबन्दीमा कोरोना सङ्क्रमणका बिरामी एक जना पनि नरहेको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रकुमार खतिवडाले जानकारी दिए। नगरमा देखिएका ८४ कोरोना सङ्क्रमित सबै कोरोनालाई जितेर घर गइसकेका नगरपालिकाले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७७ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App