१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाँजा ओसारपसारको ‘ट्रान्जिट’ बन्दै सर्लाही

भारततर्फ गाँजा ओसारपसार गर्ने कारोबारीले सर्लाहीलाई ‘ट्रान्जिट’ बनाउन थालेका छन्। अघिल्लो शनिबार राति भारतीय सीमा क्षेत्र नजिकबाट जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गाँजा बोकेर भारततर्फ गइरहेको एक ट्रकलाई नियन्त्रणमा लियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर नेतृत्वको गस्ती टोलीले ना४ख ७७४८ नम्बरको १० चक्के ट्रक नियन्त्रणमा लिएको हो। 

पर्सा गाउँपालिका–५ बाट नियन्त्रणमा लिइएको उक्त ट्रकमा ३ सय ९ किलो गाँजा बरामद् गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। प्रहरी गस्ती टोलीलाई देख्नेबित्तिकै ट्रकचालक भने फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार ट्रकबाट ३१ किलो दरका नौवटा तथा १५ किलो दरका दुईवटा पोका बरामद भएका छन्।

‘सुरक्षा निकायमा यति धेरै युनिट छन्, कानुन छ, तैपनि ट्रकमै भारततर्फ गाँजा ओसार्ने हिम्मत गर्नु भनेको कारोबारीले हामीलाई ठाडै चुनौती दिएजस्तो लाग्यो,’ प्रहरी उपरीक्षक राठौरले भने, ‘म सर्लाही आउनुअघि नै यहाँबाट भारततर्फ गाँजा बढी र भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधि भित्रिने गरेको सुनेको थिएँ, त्यसैले आउनेबित्तिकै मैले लागुऔषध कारोबार नियन्त्रणमा बढी फोकस गरेको छु र जिल्लाभरका युनिटलाई कडाइ गर्न निर्देशन दिएको लागुऔषधको कारोबार र सेवनकर्ताको संख्या बढ्दै जाँदा अपराधिक घटनासमेत वृद्धि हुने भएकाले त्यस्ता गैरकानुनी कार्य नियन्त्रणमा कडाइ गरिएको प्रहरी उपरीक्षक राठौरको कथन छ।

मकवानपुर र सिन्धुलीबाट सर्लाहीको उत्तरी वाग्मती, हरिवन र लालबन्दी नगरपालिकाका चुरे क्षेत्रमा गाँजा डम्पिङ गर्ने गरिएको जानकारहरू बताउँछन्। कारोबारीले हरिवनको अत्रौली, लालबन्दीको पत्थरकोट र परवानीपुर, बागमतीको कर्मैयालगायत स्थानमा गोदाम गर्ने र अनुकूल समय मिलाएर सीमापार गराउने गरेको एक स्थानीयले बताए। मकवानपुर र सिन्धुलीदेखि प्याक भएर आउने गाँजाको पोका सुरक्षित रूपमा राख्न र समयानुकूल ओसारपसार गर्न सर्लाहीको उत्तरी क्षेत्रका स्थानीय केही युवाको समेत सहभागिता रहने गरेको जनाइएको छ। प्रहरीले पटकपटक बरामद गरेको स्थललाई आधार मान्दा कारोबारीले वाग्मती, लखन्देही, बाँके, कालिन्जोरलगायत खोलैखोला मोटरसाइकलबाट भारततर्फ गाँजा ओसार्ने गरेको देखिएको छ।

साउनयता मात्रै सर्लाही प्रहरीले भारततर्फ ओसारपसार गरिरहेको अवस्थामा ३ सय ९६ किलो २ सय ग्राम गाँजा बरामद गरिसकेको छ। भारततर्फ गाँजा लैजाँदै गरेको तथा भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरू भित्र्याउँदै गरेको अवस्थामा ३३ जना पक्राउ परिसकेका छन्।

साउनयता मात्रै सर्लाही प्रहरीले भारततर्फ ओसारपसार गरिरहेको अवस्थामा ३ सय ९६ किलो २ सय ग्राम गाँजा बरामद गरिसकेको छ। भारततर्फ गाँजा लैजाँदै गरेको तथा भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरू भित्र्याउँदै गरेको अवस्थामा ३३ जना पक्राउ परिसकेका छन्। यसबीचमा लागुऔषध ओसार्दै गरेको अवस्थामा एउटा ट्रक, ११ वटा मोटरसाइकल र एक थान स्कुटर पनि बरामद गरिएको प्रहरीले जनायो। त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सर्लाही प्रहरीले १ सय ५ किलो ५ सय ५० ग्राम गाँजा नियन्त्रणमा लिएको थियो। त्यस्तै गाँजा तथा लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधि ओसारपसार गरिरहेको अवस्थामा १ सय २० जनालाई नियन्त्रणमा लिइएको थियो।

यो त प्रहरीले नियन्त्रणमा लिएको तथ्यांक मात्र हो। खुला सीमा नाका भएका कारण एकान्त स्थान, उखुबारी हुँदै सुरक्षाकर्मीलाइ समेत छली गरेर ठूलो परिमाणमा नेपालबाट भारततर्फ गाँजा जाने र भारतबाट लागुऔषध नेपाल आउने गरेको जानकारहरू बताउँछन्। नेपालबाट भारतीय सीमा नघाउनेबित्तिकै प्रतिकिलो १० हजार भारतीय तथा भारतीय बजारहरुमा पु¥याउँदा १५ हजार भारतीय रुपैंयासम्ममा गाँजा किनबेच हुने गरेको एक प्रहरी अधिकृतले जानकारी दिए।

भारतबाट लागुऔषध नेपाल भित्र्याउन पनि सर्लाही नै ‘ट्रान्जिट’

त्यस्तै कारोबारीले लागुऔषधका रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि भारतबाट नेपाल ल्याउनसमेत सर्लाहीलाई नै ‘ट्रान्जिट’ बनाउने गरेको छ। प्रहरीले पक्राउ गरेका ओसारपसारमा संलग्न अभियुक्त र बरामद लागुऔषधको परिमाणबाट त्यसको पुष्टि हुन्छ। साउनयता प्रहरीले पक्राउ गरेको तथ्यांक हेर्दा ७ सय ९९ बोतल वालरेक्स, १ हजार १ सय ८ ट्याब्लेट नाइट्राभेट, २ सय ८८ क्याप्सुल स्पास्मो प्रोक्सिभान र १ सय १ बोतल डाइलेक्स डिसी बरामद भएको छ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा बरामद भएका लागुऔषधमा १० हजार २ सय २५ ट्याब्लेट नाइट्राभेट, ८ सय ९३ बोतल वालरेक्स, ३ सय ३१ एम्पुल डाइजेल्याब, ३ सय २ एम्पुल नुर्फिन, ४ सय २६ क्याप्सुल स्पास्मो प्रोक्सिभानलगायत छन्। साथै तीनवटा कार, एक एम्बुलेन्स र ६० वटा मोटरसाइकल पनि लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएकोबाहेक अझै निकै ठूलो परिमाणमा लागुऔषध भित्रिने गरेको जानकारहरू बताउँछन्। खुला सीमा भएको र सीमा क्षेत्रका अधिकांश स्थान सुनसान, धानखेत, उखुबारीलगायत एकान्त स्थान भएकाले सुरक्षाकर्मीको आँखा छलेर निकै धेरै परिमाणमा लागुऔषध भित्रिने गरेको सीमा क्षेत्रका स्थानीयको भनाइ छ।

दुई देशको कडा लकडाउनबीच सीमामा कडाइ हुँदा समेत लागुऔषध कारोबारीले भारततर्फ गाँजा निकासी गर्ने तथा भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधि भिœयाउने कार्य जारी थियो। सर्लाहीबाट काठमाडौंसहित पोखरा, चितवन, हेटौंडालगायत ठूला सहरसम्म कारोबारीले भारतीय प्रतिबन्धित औषधि लागुऔषध सेवनकर्तासम्म पु¥याउने गरेका छन्। प्रहरीले नियन्त्रणमा लिए पनि गाउँगाउँमा लागुऔषधको किनबेच भइरहनुले ठूलो परिमाणमा भारतबाट प्रतिबन्धित औषधि भित्रिने गरेको स्पष्ट भएको सामाजिक अभियन्तासमेत रहेका पूर्वप्रधानाध्यपक रजनिकान्त झा बताउँछन्। ‘प्रहरीले पक्राउ गरे पनि गाउँगाउँमा लागुऔषध किनबेच भईरहको छ,’ झाले भने, ‘उत्तरी क्षेत्रका युवाहरू दर्जनौं मोटरसाइकलमा दैनिक दक्षिणी सीमा क्षेत्रका बजार तथा सकेसम्म भारतीय बजारसम्म गएर लागुऔषध किन्ने गरेका छन्।’ पहिला उत्तरी क्षेत्र र ठूला सहरमा मात्र सीमित रहे पनि पछिल्लो केही वर्षयता दक्षिणी क्षेत्र अर्थात् ‘कोर’ मधेुका युवाहरूसमेत लागुऔषधको दुव्र्यसनमा फसिसकेको झाको भनाइ छ।

प्रकाशित: ६ आश्विन २०७७ ०२:४७ मंगलबार

गाँजा ओसारपसार ‘ट्रान्जिट’