२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना नियन्त्रणमा खटिनेलाई खादा ओढाएर सम्मान

सर्लाहीको हरिवनमा सुरक्षाकर्मीलाई खादासहित सम्मान प्रकट गर्दै नेकपा नेता चूडामणि वाग्ले। तस्बिरहरू : चूडामणि वाग्लेबाट प्राप्त

देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीजस्ता कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई दुर्व्यवहार भइरहेको खबर सार्वजनिक भइरहेका बेला सर्लाहीमा भने त्यस्ता मानिसलाई सम्मान गरिएको छ ।  

जिल्लाका विभिन्न स्थानमा खटिरहेका त्यस्ता व्यक्तिलाई विद्यार्थीले कार्यक्षेत्रमै गई खादा तथा मायाको चिनो दिँदै सम्मान र धन्यवाद ज्ञापन गरेका हुन् ।  

यसै क्रममा हरिवन नगरपालिमा शनिबार विद्यार्थी नेता प्रज्वल ढुंगानाको नेतृत्वमा महामारी नियन्त्रणमा अग्र भागमा रहेर खटिरहेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ ।  

कार्यक्रममा नेकपाका नेता चूडामणि वाग्लेले उनीहरूलाई खादा र मायाको चिनो दिँदै सम्मान गरेका हुन् ।  

देशका कतिपय स्थानमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीजस्ता कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका व्यक्तिलाई दुर्व्यवहार गरिएको घटना सार्वजनिक भइरहेका बेला यो कार्यक्रमले त्यसविरुद्ध थोरै भए पनि सन्देश दिने पूर्वपत्रकारसमेत रहेका वाग्लेले नागरिकन्युजसँग बताए ।  

यस्तो सम्मानले आफूहरूमा उत्साह र जाँगर बढाएको सम्मान पाएकाहरूले प्रतिक्रिया दिएका छन् ।

कार्यथलोमै गएर कार्यालय प्रमुखदेखि परिचरसम्मलाई सम्मान गरिएको विद्यार्थी नेता ढुंगानाले जानकारी दिए ।  

कोरोना महामारीका कारण पूर्वपश्चिम राजमार्गमा भोकभोकै हिँडेका हजारौंलाई निःशुल्क भोजन गराउने सुखेपोखरीस्थित जीवन अस्पतालका सञ्चालक दम्पती अर्जुन मैनाली र अमृता उप्रेती, नगर स्वास्थ्य चौकीका डाक्टर स्मृति गौतम, हरिवन अस्पतालका डाक्टर इन्द्रजित  महतो, स्वाभिमान अस्पतालका सञ्चालक गौरी महतो, क्वारेन्टिनमा भान्सा सञ्चालक विजय राई, पत्रकार, नगरप्रहरी गरी सय जनाजतिलाई सम्मान गरिएको अर्का विद्यार्थी नेता सन्दीप थापाले जानकारी दिए ।  

यस्तै कोरोनाबाट नगरवासीलाई बचाउन भूमिका निर्वाह गरेको भन्दै नगर प्रमुख गणेश प्रसाईं, उपप्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाललाई पनि सम्मान गरिएको विद्यार्थीले बताएका छन् ।  

मेयर प्रसाईंले कार्यक्षेत्रमै गएर कोभिडविरुद्ध यसरी पहिलो पंक्तिमा खटिनेलाई सम्मान गरेकामा विद्यार्थीलाई धन्यवाद दिए ।  

यस्तै सम्मान कार्यक्रम सदरमुकाम मलंगवा र लालबन्दीका विद्यार्थी समूहले पनि गरेको बताइएको छ ।  

प्रकाशित: २० भाद्र २०७७ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App