१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

उधारोमै सामग्री जुटाएर आइसोलेसन भवन

कोभिड– १९ सङ्क्रमणका बिरामी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ। सरकारी बजेट निकासा प्रक्रिया ढिलो र झण्झटिलो भएपछि शोधभर्ना गर्ने गरी निर्माण सामग्री उधारोमा जुटाएर आइसोलेसन भवन निर्माण गरिएको प्रदेश–३ का प्रदेशसभा सदस्य राजन दाहालले जानकारी दिए।  

ठेक्का प्राणालीबाट काम गर्दा बढी खर्चिलो र समयमा सम्पन्न नहुने भएपछि उपभोक्ता समितिमार्फत जनश्रमदान र सहयोग सङ्कलन गरी उक्त आइसोलेसनको निर्माण गरिएको उनले बताए। ठेक्का प्रणालीबाट उक्त भवन निर्माणका लागि रु तीन करोड ३६ लाख प्रारम्भिक लागत अनुमान निकालिएको थियो। वरिपरी सालघारी र स्वस्थ हावापानी क्षेत्र छनोट गरी निर्माण शुरु गरिएको ५० श्यया क्षमताको उक्त  आइसोलेसन भवन अबको १० दिनभित्र तयार हुने जनाइएको छ।  

निर्माण कार्यले केही दिनमै उल्लेख्य प्रगति हासिल गरेको र यसरी निर्माण गर्दा वास्तविक लागत समेत थाहा हुने नेकपा जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले बताए। एउटा २६ र अर्को दुई श्यया क्षमताका ती दुवै भवनको पर्खालको काम पूरा भइसकेको छ  भने अब छाना, रङरोगन र कम्पाउण्ड निर्माण बाँकी रहेको बताइएको छ। उक्त भवन निर्माणमा स्थानीय संस्था र समितिले दैनिक सयौँको सङ्ख्यामा जनशक्ति परिचालन गरेका छन्।  गुरुयोजना अनुरुपनै निर्माण कार्यअघि बढेकाले भवन तयार भएसँगै कोरोनाका बिरामीले त्यहाँबाट सबै उपचार सेवा पाउने छन्।

उक्त आइसोलेसनका  लागि प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयले रु ९७ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने  जिल्लाका दुई नगरपाकिलासहितका नौ वटै स्थानीय तहबाट पनि केही न केही सक्दो सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ।

 निर्माणाधीन उक्त आइसोलेसन भवनका लागि काठमाडौंको ओम अस्पताल र भक्तपुर उद्योग वाणिज्य सङ्घबाट रु दुईदुई लाख  सहयोग प्राप्त भइसकेको छ। उक्त भवन निर्माणका लागि केही सामाजिक सङ्घ संस्था र व्यक्तिले पनि सहयोग गरेका र आइसोलेसन तयार भएपछि जिल्लाका मात्र नभइ त्यस भेगका कोरोना सङ्क्रमितले उपचारका लागि अन्यन्त्र धाउनुनपर्ने सांसद गणेश पहाडीले बताए।

सिन्धुलीमा एक सय  बढी नागरिकलाई कोरोना सङ्क्रमण देखिएकोमा धेरैजसो निको भएर घर फर्किसकेका छन्। जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टिन सञ्चालनमा छन्। उक्त जिल्लामा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट कसैको ज्यान गएको तथ्याङ्क छैन। आइसोलेसन भवनको काम शुरु भएसँगै सङ्क्रमण फैलियो भने कहाँ गएर कसरी उपचार पाइएला भन्ने अन्योलमा परेका स्थानीयवासीको मनोबल बढेको गोलञ्जोर गाउँपालिका–१ का गणेश पहरी बताउँछन्।  

प्रदेशसभा सदस्य  दाहाल भन्छन्, “ स्थानीयवासीलाई आइसोलेसन सेन्टर बनेपछि उत्साह बढेको छ, स्वच्छ वातावरण र वरिपरी हरियाली प्रकृतिभित्र बनाएको आइसोलेसन मुलुककै नमूना हुने छ।”

प्रकाशित: १९ भाद्र २०७७ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App