७ वैशाख २०८१ शुक्रबार
समाज

बागलुङमा बाढीले २ दर्जन घर बगायो, १७ जना बेपत्ता

तस्वीरः उजिर मगरको फेसबुकबाट

भीषण वर्षापछि बागलुङको ढोरपाटन नगरपालिका–९ भुजीखोलामा गएराति भीषण बाढी आउँदा १७ जना वेपत्ता भएका छन् भने दुई दर्जन बढी घर बगाएको छ। बुधबार राति ११ बजे आएको बाढीले खोलाको तटीय क्षेत्रका घर बगाउँदा उनीहरु बेपत्ता भएको उद्धारमा खटिएका स्थानीयले बताएका छन्।  

घटनास्थलमा रहेका स्थानीय जीवन घर्तीमगरका अनुसार ढोरपाटनबाट आएको भुजीखोलाले तटीय क्षेत्रका घर बगाएको हो। उनका अनुसार ढोरपाटन–९ लाँकुरीबोटका ३, घट्टेखोलाका ९, दुनेपँधेराका ३ गरि १५ जना र अन्य २ गरी १७ जना सम्पर्कविहीन भएका छन्। ‘मानवीय क्षति निकै नै भएको अनुमान छ। किनकी हामी नै सबै ठाउँमा पुग्न सकेका छैनौ,’ उनले भने, ‘कतिवटा घर बगाए भन्ने त लेखाजोखा नै छैन। सम्पर्कमा नरहेका व्यक्तिको पहिचान भइरहेको छ।’

उनका अनुसार चारवटा लघुजलविद्युत पनि खोलाको बाढीले बगाएको छ। भुजीखोला चौथो, पाँचौ, छैठौ र सातौ लघुजलविद्युत बगाएको उनले बताए। त्यसबाहेक सरस्वती आधारभूत र जनचेतना प्राविका भवन पनि बाढीले बगाएको छ। बागलुङको ढोरपाटनदेखि रुपन्देहीको सालझन्डी जोड्ने मोटरबाटोको खण्ड हो। मोटरबाटो पनि बाढीले बगाउँदा उद्धारका लागि सुरक्षाकर्मी पनि आउन नसकेको उनले बताए।  

नगरपालिकाकी सुचना अधिकारी कोपिला न्यौपानेका अनुसार वडा नम्बर ९ मा भुजीखोलामा आएको बाढीले १५ जना सम्पर्कविहीन भएका छन्। निकै नै दुर्गम भेग भएकोले क्षतिको विवरण आईनसकेको उनले बताइन।  

 

प्रकाशित: १८ भाद्र २०७७ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App