१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आज अन्तर्राष्ट्रिय बेपत्ता दिवस

आज (आइतबार) १०औं अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइँदैछ। नेपालमा पनि बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्ध अनलाइनमार्फत विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको सन्दर्भ पारेर शनिबार पीडितको भोगाइ समेटेर बेपत्ता पारिएका व्यक्ति तथा परिवारजनमा प्रतिनिधिमूलक ‘नफर्किएका पाइला’ वृत्तचित्र अनलाइनमार्फत प्रदर्शन गरिएको थियो।

कोरोना संक्रमणका कारण दिवसका अवसरमा बेपत्ता परिवारका घरमा आफन्तको फोटो राखेर आफ्ना विषयमा दुई मिनेटको भिडियो तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्यक्रम रहेको द्वन्द्वपीडित साझा चौतारीका महासचिव देवबहादुर महर्जनले बताए। ‘संक्रमणकालीन न्याय सरकारले टुंग्याउन चाहेको छैन, थालनी पनि गरेन,’ महासचिव महर्जनले भने, ‘राजनीतिक संयन्त्रमा बनाउने भनेर भागबन्डामै चलिरह्यो। न्यायको कुरै छैन। नेपालकै मोडलमा निरूपण गर्छौं भने पनि कस्तो हुने भन्ने छैन। ऐन संशोधनसमेत गरिएको छैन।’

कोरोना संक्रमणको अवस्था निषेधाज्ञाका कारण बेपत्ता दिवसमा औपचारिक कार्यक्रम नगर्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता गंगाधर अधिकारीले बताए। आयोगले सरकारलाई ऐन संशोधनका लागि आग्रह गर्ने भएको छ। बेपत्ता आयोगमा २ हजार ५ सय ७ वटा उजुरी छन्। उजुरीका विषयमा विस्तृत अनुसन्धान प्रक्रिया अघि बढेको उनले बताए। ‘हामी आएपछि रोल्पाबाट काम सुरु गरेका थियौं। बन्दाबन्दीका कारण थप काम गर्न पाएका छैनौं,’ प्रवक्ता अधिकारीले भने, ‘प्रत्येक जिल्ला प्रशासनमा पत्र पठाएर राहतको विषयमा अन्तिम अपडेट मागिएको छ। बेपत्ता भनिएका तर फर्केका १२ जनाको उजुरी तामेलीमा राखिएको छ।’

आयोगमा परेका उजुरीका विषयमा चारवटा समूहमा विवरण बाँडेर काम सुरु गरिएको अधिकारीले बताए। पीडित पहिचानका लागि ऐनमा व्यवस्था गर्न माग गर्दै र पीडित परिचयपत्र जारी गर्ने बताए। हरेक अगस्त ३० लाई बेपत्ता पारिएका व्यक्तिको खोजी गर्ने दिनका रूपमा लिइन्छ। सन् १९८१ मा कोस्टारिकाबाट सुरु भएको दिन नेपालमा सन् २००२ देखि मनाउन थालिएको थियो।

प्रकाशित: १४ भाद्र २०७७ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App