७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

लगातारको निषेधाज्ञाप्रति प्रदेश सरकार नै असन्तुष्ट

पोखरामा निषेधाज्ञा खोल्नुपर्ने पक्षमा मत बलियो बन्दै गएको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ देखि लगाएको निषेधाज्ञा लम्बिदै जाँदा निषेधाज्ञा खोल्नुपर्ने मत बलियो बन्दै गएको हो ।

निषेधाज्ञा पटक÷पटक थपेकोप्रति प्रदेश सरकारका मन्त्रीहरूले नै असन्तुष्टि जनाएका छन् । निषेधाज्ञा लगाउन पोखरा महानगरपालिकासहित विभिन्न पालिकाहरूले सिफारिस गरेपछि त्यसबारे निर्णय गर्न बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रतिकार्यका लागि बनाएको प्रदेशस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ निषेधाज्ञाको विपक्षमा उभिएका थिए । उनले निषेधाज्ञा लगाएर समाधान ननिस्कने भन्दै बरु स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्ने÷गराउने तथा भेला, सभा, सेमिनार, अधिवेशन, भोजलगायतलाई कडाइका साथ रोक्न लगाउने निर्णय गराए ।

प्रदेशस्तरीय सिसिएमसीले निषेधाज्ञा नलगाउने निर्णय गरेपछि त्यसको भोलिपल्ट जिल्लास्थित डिसिएमसी बैठकले कास्कीमा निषेधाज्ञा लगाउने निर्णय गर्नुपरेको थियो । पोखरामा दोस्रोपटक निषेधाज्ञा थपिएको दिन भदौ ७ गते साँझ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले निषेधाज्ञा लम्ब्याएकोमा आक्रोश पोख्दै सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि पोखे । उनले फेसबुक स्टाटस लेख्दै भनेका छन्, ‘हाँगामा बसेर रूखको फेद काट्ने र निषेधाज्ञा जारी गरेर कोरोनाबाट बच्न खोज्नेहरू एकै हुन् ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका पालना गर्दै निषेधाज्ञा खोल्नुपर्ने उनको भनाइ छ ।

प्रदेशकै भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत पनि निषेधाज्ञा लम्ब्याएकोप्रति असन्तुष्ट छन् । उनले पनि निषेधाज्ञा र लकडाउनका कारण प्रदेशले दैनिक ३८ करोड घाटा बेहोरिरहेको भन्दै निषेधाज्ञा खोल्नुपर्ने सार्वजनिक भाषण नै गर्ने गरेका छन् ।

यसैबीच, चेम्बर अफ कमर्स कास्कीले पनि निषेधाज्ञा हटाउन माग गरेको छ । चेम्बर कास्की अध्यक्ष किसान सुनारले विज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञा दीर्घकालीन समाधान नभएको भन्दै हटाउन माग गरेका हुन् । निषेधाज्ञाले अर्थतन्त्र धरासायी हुने अवस्था आएको भन्दै उनले यसपछि निषेधाज्ञा थप नगर्न आग्रह गरेका छन् ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही समयका लागि ठिक भए पनि अब बिस्तारै खुलाउँदै लैजानुपर्ने नागरिक समाजको पनि माग छ । नागरिक समाजका अगुवा रामबहादुर पौडेलले निषेधाज्ञाका कारण जनजीवन प्रभावित हुँदै गएकाले अब निषेधाज्ञा खोलेर जनजीवन सहज बनाउनुपर्ने बताए । 

प्रकाशित: १० भाद्र २०७७ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App