७ वैशाख २०८१ शुक्रबार
समाज

छिमेकीले छिःछिः र दूरदूर गरिरहेका बेला जनप्रतिनिधि घरमै भेट्न आएपछि रोए संक्रमित

कोरोना संक्रमितलाई घरमै पुगेर सान्त्वना दिँदै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य । तस्बिर : रासस

रूपन्देहीको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ स्थित घरमै आइसोलेसनमा बसेका कोरोना संक्रमित रुद्र आचार्यलाई भेट्न पुगिन् । उपप्रमुख आफ्नो दैलामै आएको देखेर संक्रमित आचार्य छक्क परे ।  

उच्च मनोबल राख्न सके कोरोना सङ्क्रमणले कुनै असर नगर्ने भन्दै उपप्रमुख आचार्यले उनको परिवारलाई सुस्वास्थ्यको शुभकामना दिइन् ।  

‘कोरोना लागेको भनेर मानिसहरू टाढाटाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन्, तर उपप्रमुख दैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुसी लाग्यो,’ सङ्क्रमित आचार्यले भने ।  

आचार्यले आफूलाई सङ्क्रमण भएपछि सामाजिक सञ्जालमै जानकारी राखेर टोलवासीलाई सचेत रहन अनुरोध गरेका थिए । एक हप्तादेखि उपमहानगरका विभिन्न वडामा प्रमुख शिवराज सुवेदी, उपप्रमुख आचार्य र वडाका प्रतिनिधि कोरोना सङ्क्रमितको मनोबल बढाउन घरघरमा पुगिरहेका छन् ।  

यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुर्व्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरूको मुखसमेत बन्द भएका छन् ।  

जनप्रतिधिहरू आएपछि छरछिमेकीको माया र सद्भाव झन् बढेको सङ्क्रमित बताउँछन् । बुटवल¬ ११ स्थित एक घरमा नियमित दूध दिने गरेका एक व्यक्तिले त्यस परिवारका मानिसलाई कोरोना संक्रमण भएको थाहा पाउनेबित्तिकै दूध लान छाडे । त्यति मात्र होइन, उनले वरपरका सबैलाई फोन गरेर सङ्क्रमितका दुवै घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजानसमेत दबाब दिए ।  

जसले गर्दा छिमेकी पनि दोधारमा परे । तर जब नगर प्रमुख र उपप्रमुखसहितको टोली घरदैलोमा पुगेर सङ्क्रमितलाई भेटे, तब छिमेकीको माया र सद्भाव बढ्यो ।  

‘नजिकैका छिमेकीको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरूले राम्रो व्यवहार गर्न खोजेनन् । तर प्रमुख–उपप्रमुखको घरदैलोले निकै सकारात्मक सन्देश दियो’, एक सङ्क्रमितले भने ।  

नगर प्रमुख र उपप्रमुखको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरूलाई ठूलो शिक्षा दिएको अनुभव सङ्क्रमितका परिवारले गरेका छन् ।

‘अरू बेला नभ्याए पनि दुःख पर्दा आए, हाम्रो लागि त्यही नै ठूलो कुरा हो,’ आफूले मतदान गरेका जनप्रतिनिधि घरदैलामा आएको देखेर आँखाभरि खुसीका आँशु झार्दै बुटवल १३ का सङ्क्रमितले भने ।

यही भदौ ५ गते हिन्दू नारीको चाड हरितालिकाका दिनमा  पनि उपप्रमुख आचार्यले उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा आइसोलेसन सेन्टरमै पुगेर शुभकामना आदानप्रदान गरिन् ।  

‘चाडको दिनमा आइसोलेसनमै आएर शुभकामना दिनुभयो, हामी अत्यन्तै उत्साहित भयौँ । हामीप्रति उहाँले देखाउनुभएको स्नेह, माया र सद्भावनाले हौसला प्रदान गरेको छ,’ वडा नं १३ का सङ्क्रमित दीपक पन्थीले सामाजिक सञ्जालबाटै उपप्रमुखलाई धन्यवाद दिए ।  

उपप्रमुख आचार्यले तीजका दिन आइसोलेसनमा रहेका ३४ सङ्क्रमितलाई भेटेर शुभकामना आदानप्रदान गरेकी थिइन् । स्वास्थ्य सावधानीका जानकारीसहित स्वास्थ्य लाभको शुभकामनापत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेदिक ओखती बोकेर जनप्रतिनिधि आइसोलेसनमा पुगेपछि सङ्क्रमितको मनोबल बढेको छ ।  

सङ्क्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नाका साथै थप सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको उपप्रमुख आचार्यले बताइन् ।  

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म १६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । जसमध्ये ५४ महिला र १११ पुरुष छन् ।  

सबैभन्दा बढी वडा नं ११ मा ४८ सङ्क्रमित देखिएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहले जानकारी दिए ।  

उपमहानगरपालिकामा अधिकतर सङ्क्रमितमा लक्षण नदेखिएकाले सङ्क्रमण फैलिदै गएको छ । सङ्क्रमण कहाँबाट फैलियो भन्नेबारे खोजी गर्ने काम भइरहेको र कन्ट्याक्ट ट्रेसिङको कामलाई निरन्तरता दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दीलाई कडा पारिएको जनाएको छ ।  

प्रकाशित: ९ भाद्र २०७७ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App