१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निषेधाज्ञा लगाएपछि सरकारलाई हाईसन्चो !

निषेधाज्ञा पछिको पोखरा। तस्बिर: उमेश पुन

गण्डकी प्रदेशका ४ जिल्लामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ। गण्डकी प्रदेशका कास्की, स्याङ्जा, गोरखा र पूर्वी नवलपरासी (नवलपुर) मा जिल्लाभरी नै निषेधाज्ञा लगाइएको छ। स्थानीय तहको आग्रह तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रतिकार्यका लागि बनाएको जिल्लास्थित कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र (डिसीएमसी) को सिफारिसमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

गण्डकी प्रदेशका २ जिल्ला तनहुँ र बागलुङमा आंशिक रुपमा निषेधाज्ञा लगाइएको छ। बागलुङ जिल्लामा बागलुङ नगरपालिका र तनहुँको विभिन्न पालिकाका केहि वडाहरुमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ।

विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको स्थानीय प्रशासनहरुको भनाई छ। तर निषेधाज्ञा लगाइएका जिल्लाले निषेधाज्ञा लगाएपछि भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि कुनै तयारी गरेका छैनन्। बरु हाइसञ्चोका रुपमा स्थानीय तहहरु बसेको नागरिक अगुवाहरुको टिप्पणी छ। स्थानीय तहहरुले निषेधाज्ञाको बिचमा नत सामाजिक सचेतना जगाउने काम नै गरेका छन्, नत आइसोलेसन ब्यबस्थित बनाउने र भेन्टिलेटर थप्ने कार्य नै भनेर उनीहरु टिप्पणी गर्छन्। निषेधाज्ञा सकिएपछि के त भन्नेबारेमा कुनै तयारी देखिन्न,‘सामाजिक अभियन्ता तथा साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्,‘नत संघ सरकारको तयारी छ, नत प्रदेश सरकार र स्थानीय तहको नै।’ उनले कोभिडबिरुद्धको लडाईंमा कहिंकतै सरकार छ भन्ने आभाष दिने भनेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस ब्रिफिङमा मात्रै भएको भन्दै व्यङ्ग्य गरे।

तर पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी भने पालिकाहरुले आन्तरिक रुपमा कोरोनाबिरुद्धको तयारी गरिरहेको बताउँछन्। निषेधाज्ञा गरेर हामी चुप लागेर बसेका छैनौं,‘उनले भने,‘आइसोलेसन बनाउने कार्य गरिरहेका छौं, आवश्यक्ता अनुसार भेन्टिलेटर थप्नपनि तम्तयार भएर बसेका छौं।’ तर कोरोनाबिरुद्धको लडाईं जित्नका लागि समुदायलाई नै परिचालन गर्नुपर्ने उनको भनाई छ। समुदायलाई परिचालन नगरी कोरोनाबिरुद्धको यो लडाईं जितिदैन, उनले भने,‘त्यसैले समुदायलाई नै परिचालन गर्ने, उनीहरुलाई सचेत बनाउने हो, त्यसका लागि महानगरले १३ गतेदेखि विस्तृत कार्यविधी नै बनाएर नगरबासीलाई प्रचारप्रसार गर्ने तयारी हामी गरिरहेका छौं।’ उनले पोखरामा अहिलेपनि ९/१० वटा भेन्टिलेटर रहेको र आवश्यक परेमा २०/२५ वटा भेन्टिलेटर ल्याउन सकिने दाबी गरे।

प्रकाशित: ८ भाद्र २०७७ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App