११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

एक महिनापछि बेनी–जोमसोम सडक सञ्चालनमा

अवरुद्ध पन्छाएपछि बेनी जोमसोम सडक सञ्चालनमा आएको छ। तस्वीर सौजन्यः इन्द्रसिंह शेचरन

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरोला सडक अवरुद्ध भएको एक महिनापछि सञ्चालनमा आएको छ। गएको साउन ५ गते बाढीपहिरोले अवरुद्ध भएको सडकखण्डअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, काभ्रेभीरमा विष्फोटक पदार्थको प्रयोग गरी सोमबार विहानदेखि सञ्चालनमा आएको हो।

म्याग्दीको अन्नपूर्ण–३ दाना, काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिकामा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा सवारीसाधन आवतजावत गर्न थालेको सडक आयोजनाका सुपरभाइजर समेत रहेका इन्द्रसिंह शेरचनले बताए। ‘जोखिम कायमै छ,मर्मतपछि मुस्ताङमा रोकिएका सवारीसाधन गन्तब्यतर्फ लागेका छन्’ शेरचनले भने।  

कडा चट्टान रहेको काभ्रेभीरमा नयाँ ट्याक खोल्न नेपाली सेनाको सहयोगमा ३६ पटक विस्फोटक पदार्थ ब्लाष्टिङ गरिएको थियो।आयोजनाका निर्माण कम्पनीका एक्साभेटर परिचालन गरेर पहिरोले सडक बगाएको ठाउँमा नयाँ ट्रयाक निर्माण गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए। ‘काभ्रेभीरमा करिब एक साता लाग्यो,‘अवरुद्ध हुदाँ वित्तिकै मर्मतका लागि तयारी अवस्थामा छौ’ तिवारीले भने। रुप्से झरनादेखि काभ्रेभीरसम्मको सडक धरापमा छ। पटक–पटक विष्फोटक पर्दाथको प्रयोग गर्दा सडक माथिको भीर छियाछिया भएकाले कुनैपनि बेला अवरुद्ध हुनसक्ने सम्भावना रहेको आयोजना पक्षको भनाई छ। सडकखण्डमा मुस्ताङका प्रदेश सांसद चन्द्रमोहन गौचनले समेत नियमित स्थलगत अनुगमन गरेका थिए।  

सडक मर्मतकै क्रममा केहीदिन अगाडी काभ्रेभीरमा सुख्खा पहिरो खसेको थियो। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा सातवटा प्याकेज बनाएर निर्माण कार्य अघि बढिरहेको छ। गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डमा असार देखि असोज महिनासम्म दर्जनौपटक सडक अवरुद्ध हुने गरेको छ। सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र मुक्तिनाथ मन्दिरको दर्शनमा जाने तीर्थयात्री समस्यामा परेका थिए। मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समस्या भएको थियो। मुस्ताङको स्याउ भदौको अन्तिम सातादेखि सडकमार्ग हुदै ढुवानी गर्ने गरिएको छ।

प्रकाशित: ८ भाद्र २०७७ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App