८ वैशाख २०८१ शनिबार
समाज

जबरजस्ती करणीपछि असुरक्षित गर्भपतन

कालीकोटस्थित रास्कोट–४ सुनारबाढाकी १९ वर्षीय किशोरी नजिकैको पसलमा सामान किन्न जान्छिन्। उनलाई पसले साहु ५१ वर्षीय नमराज शाहीले कुदृष्टि राख्छन् र अनैतिक कार्य गर्न खोज्छन्। किशोरीले प्रतिकार्य गर्न खोजे पनि अन्ततः आफ्नो अस्मिता लुटिँदाको साक्षी आफैं बन्छिन्। यो घटनाक्रम यतिमै रोकिन्न। उक्त दिन जबरजस्ती करणी गरेपछि विभिन्न लाञ्छना र प्रलोभन देखाई अन्य दिन पनि पसले साहु (नमराज) ले ती किशोरीसँग अनैतिक कार्य गर्छन्।

यसै क्रममा जेठतिर उनको पेटमा गर्भ रहन्छ। पेट दुखेपछि उनले घरपरिवारलाई भन्छिन्। परिवारले उपचार गराउन सिधै नजिकैको सामुदायिक अस्पताल लिएर गए। ‘छोरीको पेट दुखेको भनेर उपचार गराउँदा स्वास्थ्यकर्मी पेटमा बच्चा छ भन्छन्,’ किशोरीका बुवाले भने, ‘हामी छाँगाबाट खसेजस्तै भयौं।’  

किशोरीको ज्यानसमेत जोखिममा पारेर शाही परिवारले असुरक्षित गर्भपतनसमेत गराएका छन्। ‘घरमा कोही नभएको बेला मलाई भगाएर साउन २५ गते जिल्ला अस्पताल लगे ।’ पीडित किशोरीले भनिन्, ‘डाक्टरले शरीरमा रगतको मात्रा कम भएको र गर्भपतन गराउँदा ज्यानसमेत जानसक्ने भनेका थिए।’ त्यतिबेला नमराजका छोरीज्वाइँ खगेन्द्र शाही किशोरीका नक्कली पति बनेका थिए। किशोरीसहित गर्भपतनका लागि नमराज, खगेन्द्र र राजी शाही जिल्ला अस्पताल मान्मा पुगेका थिए। सरकारी अस्पतालले गर्भपतन गराउन नमानेपछि उनीहरूले निजी मेडिकलबाट गर्भपतनका लागि औषधि किनेको पीडित किशोरीले नागरिकलाई बताइन्। बाटामा उनलाई औषधि खुवाइएको थियो। ‘मान्माबाट आएपछि छोरीलाई आफ्नै घरमा राखे,’ किशोरीका बुवाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख गरिएको छ, ‘पाँच÷६ दिनसम्म छोरीको रगत बग्न नरोकिएपछि मलाई बोलाए।’ छोरीको अवस्था खस्किँदै गएपछि आफूलाई जिम्मा लगाउन खोजेको उनको भनाइ छ। ‘मलाई आर्थिक प्रलोभन देखाए,’ उनी भन्छन्, ‘नमानेपछि मार्ने र गाउँबाट निकाल्नेसम्मको धम्कीसमेत दिए।’

अहिले पीडित किशोरीको अवस्था बिग्रिँदै गएको छ। गाउँमा उपचार हुन नसकेपछि किशोरीलाई थप उपचारका लागि जिल्ला अस्पताल मान्मा ल्याइएको उनका काका डम्मर सुनारले बताए। किशोरीलाई नमराज र उनका आफन्तले तँलाई राम्रो व्यवस्था गरिदिन्छु भन्दै फकाएर गर्भपतन गराएको उनले बताए। अहिले पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले जाहेरी दिएका छन्।

प्रकाशित: ८ भाद्र २०७७ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App