२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राप्तीको बाढीले खेतीयोग्य जमिन तीव्र कटान, गाउँ उच्च जोखिममा

राप्ती नदीले कटान तीव्र पारेको कचनापुर पुगेर निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि । तस्बिर : अर्जुन/नागरिक

राप्ती नदीले कटान तीव्र पारेपछि बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका लालबिहारी थारु चिन्तामा छन् । वर्षभरीको खर्च धान्ने खेतबारी नै नरहेपछि उनलाई चिन्ता बढेको हो । केहीदन यता राप्ती नदीले उनको खेतीयोग्य जमिन धमाधम कटान गरिरहेको छ । राप्तीले उनको करिव ९ कट्ठा जमिन काटिसक्यो, अझैपनि कटान रोकिएको छैन । ‘राप्ती नदीले जमिन काट्दै गएको छ, अझै कति जमिन काट्ने हो, निश्चित छैन,’ उनले नागरिकसँग भने ‘नदीले जमिन काटेको टुलुटुल हेर्ने बाहेक अरु केही गर्न सकेका छैनौं ।’  

कचनापुरका लालबिहारी त एक प्रतिनिधि पात्र हुन् । उनी जस्ता करिव ३५ घर परिवारको जमिन राप्तीले काटेर लगिसकेकोे छ । नदीले धार परिवर्तन गरेर कचनापुर गाउँतिर सोझिएको छ । नदीले खेतीयोग्य जमिन कटान गरिरहँदा गाउँकै अस्तित्व नरहने जोखिम बढेको छ । नदीले अहिलेसम्म करिव २५ विघा जमिन कटान गरिसकेको स्थानीय किसान बताउँछन् । नदीले विगत तीन÷चार वर्षदेखि कचनापुर क्षेत्रमा कटान गर्न सुरु गरेको उनीहरु सुनाउँछन् । नदीले बर्खायामको समयमा कटान गर्ने गरेको छ ।  

जनताको तटबन्ध कार्यालयले यहाँ नदी कटान नियन्त्रणको थोरै प्रयास गरेपनि सफल हुन सकेको छैन । हरेक वर्ष कटान क्षेत्र निरीक्षण गर्न राजनीतिक नेता, जनप्रतिनिधि र कर्मचारी आउने गरेपनि नदी नियन्त्रणको लागि दिर्घकालिन योजना पाउन नसकेको स्थानीयको गुनासो छ । ‘नदी कटान हेर्न बर्खायाममा सबै आउँछन्, जब हिउँद महिना लाग्छ, त्यसपछि कटान रोकथाम गर्न कसैले पनि चासो राख्दैनन्, अहिलेसम्म सरकारबाट पनि ठूलो बजेट पाएका छैनौं,’ स्थानीय लोकबहादुर थारुले भने ।  

राप्ती नदीले कचनापुरका धेरै जनालाई सुकुम्वासी बनाउन थालिसकेको उनले बताए । अर्का स्थानीय गुरीप्रसाद थारुले केही दिन अघि मात्र आफ्नो तीन कठ्ठा जति जमिन राप्तीले काटेर लगेको सुनाए । ‘आफूसँग भएको अलिकति जमिन पनि नदीले काटिसक्यो, अब सुकुम्वासी हुनुपर्ने अवस्था आइसक्यो,’ उनले भने ‘खेती गरेर वर्षभरी खान पुग्ने जमिन नदीले काटेपछि कसरी परिवारको खर्च हामीले कसरी चलाउने ?’

कचनापुरको कटान क्षेत्रको स्थानीय जनप्रतिनिधिले अचेल दिनहुँ निरीक्षण गर्छन् । तर, नदी नियन्त्रणका लागि ठूलो परिमाणको बजेट खर्च गर्ने क्षमता स्थानीय सरकारसँग छैन । केही समयदेखी नदी कटान निरीक्षण गरिरहेका राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले राप्ती नदीले कटान तीव्र पारेपछि कचनापुर गाउँ निकै जोखिममा परेको बताए । ‘नदीले दिनहुँ जसरी जमिन काटिरहेको छ, त्यसरी काट्दै गयो भने यसले भविष्यमा झन् ठूलो समस्या ल्याउने निश्चित छ,’ उनले भने ‘म पटक–पटक कटान गर्न पुगेको छु, तर दिर्घकालिन समस्या समाधानका लागि हाम्रो बजेटबाट सम्भव छैन ।’  

नदी कटान समस्या दिर्घकालिन रुपले समाधान गर्न संघिय सरकारले ठूलो बजेट दिनुपर्ने अध्यक्ष थारुको सुझाव छ । ‘पोहोर साल कटान रोकथाम गर्न हामीले बजेट ब्यवस्थापन गर्न खोजेका थियौं, तर त्यहाँ अर्कै टेण्डर लागेको थाहा पाएपछि हामीले गरेनौं,’ उनले भने ‘यसवर्ष फेरी कटान समस्या बल्झिदाँ हामीलाई दुःख लागिरहेको छ ।’ नदी कटान समस्या दिर्घकालिन रुपले समाधान गर्न विशेष ध्यान दिनुपर्ने अध्यक्ष थारुले आग्रह गरे । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गतवर्षको भन्दा यसवर्ष अझ धेरै नदीले कटान गरेको बताइन् ।  

‘पोहोर सालको भन्दा त यसवर्ष धेरै कटान गरेको देखियो, नदी कटानलाई समयमै रोक्न सकिएन भने गाउँ नै विस्थापित हुने निश्चित छ,’ उनले भनिन् । गाउँपालिकाले चाहेर पनि नदी कटान नियन्त्रण गर्न सम्भव नभएको उपाध्यक्ष खत्री बताउँछिन् । करिव एकदशक अगाडीसम्म राप्ती नदीको भंगालो पारीतिर सोझिएको थियो । राप्ती पारी क्षेत्रमा जनताको तटबन्ध कार्यालयले बलियो तटबन्ध निर्माण गरेपछि नदीले चार÷पाँच वर्षयता धार परिवर्तन गरेको स्थानीय बताउँछन् ।  

राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मदनकुमार ओली राप्ती नदीबाट साविक कचनापुर गाविसका अधिकांस गाउँ प्रभावित भएको बताए । ‘हाम्रो वडाको पश्चिममा डुबान र पूर्वमा कटान समस्या छ, स्थानीय सरकारबाट सामान्य रोकथामको प्रयास गर्न मात्रै हो,’ उनले भने ‘दिर्घकालिन समस्या समाधानका लागि त संघीय सरकारले नै ठूलो लगानीमा दुबैतर्फ पक्की तटबन्ध बनाउनु पर्छ ।’  

उक्त वडामा अहिलेसम्म २५ विघा भन्दा बढी जमिन कटान गरिसकेको र जमिन नहँुदा करिव ३५ घरधुरीले सुकुम्वासी जीवन बिताउनु परेको वडाध्यक्ष ओलीले सुनाए । उनले थपे, ‘जनताको तटबन्ध कार्यालयले गतवर्ष कटान नियन्त्रण सम्बन्धी अलिकति काम गरेको थियो, यो वर्ष त कोरोना भाइरस महामारीका कारण कत्तिपनि काम गर्न सकेन, त्यसैको परिणाम नदीले कटान तीव्र पार्‍यो ।’

प्रकाशित: ६ भाद्र २०७७ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App