७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

निषेधाज्ञा उल्लंघन गर्नेलाई दिनभर उभ्याएर छाडियो

कार्यालय खुले, सेवाग्राही आएनन्

काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एकसातासम्म लागु भएको निषेधाज्ञापछि सडक र जनजीवन सुनसान छ। कोरोना महामारी फैलिएपछि प्रशासनको आदेशले प्रहरीले उपत्यकाभित्र कडाइ गरेको हो।

बिहीबार निषेधाज्ञा तोड्दै गुडेका १२ सय १३ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अत्यावश्यक बाहेकका सवारीचालकलाई प्रहरीले ५ घण्टा सडकमा उभ्याएको छ र चेतावनी दिई छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार उल्लंघन गर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही हुनेछ। पहिलो दिन उल्लंघन गर्नेलाई प्रहरीले चेतावनीसहित पाँघ घण्टा उभ्याएर छाडेको ढकालको भनाइ छ। ‘पहिलो दिन उल्लंघन गर्नेको संख्या पनि उत्तिकै देखियो, शुक्रबारदेखि अझ कडाइ हुन्छ, बिहीबार नियन्त्रणमा लिएकालाई चेतावनीसहित छाडेका छौं,’ उनले भने।

उपत्यकामा निषेधाज्ञा पालना गराउन ट्राफिकसँगै नेपाल प्रहरीका विभिन्न कार्यालयबाट प्रहरी परिचालिन छन्। मुख्य सडक, चोक र भित्री गल्लीमा प्रहरीले निगरानी बढाएको छ। त्यस्तै, प्रहरीले बिहान सात बजेपछि पसलसमेत बन्द गराउन स्थानीय व्यवसायीलाई निर्देशन दिँदै आएको छ। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले अन्ततः कोरोना नियन्त्रण गर्न प्रहरी नै कडाइका साथ लागिपरेको बताए। उनले अत्यावश्यक कामबाहेक सडकमा निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको जानकारी दिए। उनले भने, ‘अहिले उपत्यकामा ७ सयभन्दा बढी प्रहरी परिचालित छन्, मातहतका कार्यालयबाट प्रहरीले सडक सुनसान बनाउनेतिरै खटिएका छन्।’

सरकारले टिप्पर र निर्माण सामग्री बोकेका सवारीसाधन राति १० देखि बिहान ४ बजेसम्म गुड्न पाउने नियम बनाएको छ। सर्वसाधारणलाई अनावश्यक पैदल हिँड्न रोक लगाइएको छ। बिहीबार पैदल हिँड्ने ९ सयभन्दा बढीलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी प्रहरीले होल्ड गरेको थियो।

कार्यालय खुले मात्र, सेवाग्राही आएनन्

कोरोना संक्रमण जोखिमका कारण काठमाडौं उपत्यकामा बुधबार रातिदेखि सरकारले निषेधाज्ञा लागु गरेसँगै मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबार सुनसान देखिएको छ। सिंहदबारभित्र भएका सबै कार्यालय खुले पनि सेवाग्राही भने उपस्थित थिएनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि सबै ठाउँमा उच्चपदस्थ अधिकारी कार्यालय पुगेका थिए। तर, तल्लो तहका कर्मचारी उपस्थित नहुँदा स्वास्थ्य, सुरक्षाबाहेक अधिकतर सरकारी कार्यालयमा बढीमा १५ देखि २० प्रतिशत मात्र कर्मचारी उपस्थित थिए।

संघीय मामिला तथा सामान्य प्रशासन प्रवक्ता वसन्त अधिकारीले आलोपालो प्रणाली लागु भएपछि ५० प्रतिशत मात्र कर्मचारीको उपस्थिति हुने व्यवस्था मिलाइएको बताए। ‘निषेधाज्ञा घोषणापछि सरकारले तोकेको समयभित्र कार्यालयमा आउन हामीले कर्मचारीलाई निर्देशन दिएका छौं,’ अधिकारीले भने, ‘अहिले अत्यावश्यकबाहेक सेवा बन्द भएका छन् भने खुलेका कार्यालयमा पनि आलोपालो प्रणाली लागु भएको छ। यसबाट कार्यालयमा उपस्थित हुने कर्मचारीको संख्या स्वतः घटेको छ।’ निषेधाज्ञा घोषणापछि कुनै पनि सरकारी कार्यालय बन्द गर्ने सरकारको निर्णय नभएको पनि उनले प्रष्ट पारे।

सचिव, सहसचिव तथा उनीहरूका सहयोगी कर्मचारी मात्र कार्यालयमा उपस्थित छन्। धेरैजसो तल्लो तहका कर्मचारीलाई घरमै बस्न लगाई सरकारले नागरिकको भिडभाड हुने मालपोत, नापी, सवारीचालक अनुमति पत्र, राहदानीलगायत सेवा स्थगित गरेको छ। यसबाट जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, राहदानी कार्यालय, नापी तथा मालपोत कार्यालयको सेवा बन्द भएको छ। ती कार्यालयमा माथिल्लो तहका कर्मचारी मात्र उपस्थित हुने गरेका छन्।

बिहीबार उपत्यकाका बैंक पनि प्रभावित भए। बैंकका कर्मचारी कार्यालय जान खोज्दा प्रहरीले रोकेपछि बैंकिङ सेवा बन्द गरिएको हो। बैंकिङ सेवाबाहेक निजी क्षेत्रका अधिकतर कार्यालय पनि बिहीबार बन्द भएका छन्। निषेधाज्ञा लागुपछि सरकारी कर्मचारीका लागि बिहान ९ देखि साढे १० बजेसम्म कार्यालय जान र साँझ ३ देखि ५ बजेसम्म फर्कन समय मिलाइएको छ। सयमसीमाको व्यवस्थाले केही कर्मचारीमा व्यावहारिक कठिनाइ उत्पन्न भएको कर्मचारीको गुनासो छ।

आलोपालो प्रणाली लागु भएका कार्यालयमा बिहीबार कार्यालय पुग्नुपर्र्नेे कर्मचारी पनि पास, यातायातका साधन तथा अन्य व्यावहारिक कठिनाइका कारण प्रभावित भएको आधिकारिक टे«ड युनियनका महासचिव सुबोध देवकोटाले बताए।

प्रकाशित: ५ भाद्र २०७७ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App