२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोहलपुर बन्द गर्ने निर्णयपछि नगरपालिका र ब्यापारीबीच जुहारी

कोरोना भाइरस(कोभिड–१९)को संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका क्षेत्रलाई पुर्ण रुपले बन्द गर्ने निर्णय भएपछि विवाद उत्पन्न भएको छ । नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा गत साउन ३१ गते बसेको सर्बपक्षिय बैठकले कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको निस्कर्षसहित साउन ३२ गतेदेखी भदौं ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकको निर्णय पश्चात नगरपालिकाले साउन ३२ गतेदेखी भदौं ५ गते राती १२ बजेसम्मका लागि एम्बुलेन्स, शववहान, अतिआवश्यक सेवाका ढुवानीका साधन बाहेक सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, होटल, रेष्टुरेन्ट, ब्यापार, ब्यवसाय, उद्योग, कलकारखाना, तरकारी हाट बजार तथा सम्पुर्ण यातायातका साधन र नगरपालिका प्रवेश गर्ने चार वटै नाका पुर्ण रुपमा बन्द गरिएको सूचना जारी ग¥यो । नगरपालिकाले हरितालिका तीजमा हुने नाँचगान तथा साउण्ड सिष्टमबाट गीत बजाई भिडभाड हो–हल्ला जस्ता कार्य नगर्न÷नगराउन पनि सचेत गराएको छ ।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपालीले कोरोना भाइरसको संक्रमण बढिरहेको हुँदा तीज पर्वमा हुन सक्ने भिडभाडबाट सुरक्षित गर्न कोहलपुर नगर क्षेत्रलाई बन्द गरिएको बताए । ‘नेपाल सरकारले पहिले जसरी लकडाउन गरेको थियो, त्यही मोडालिटी अनुसार अहिले नगरको चार वटै नाका बन्द गरिएको हो,’ उनले भने ‘अहिले एक हप्ताको लागि बन्द गरिएको छ, यहाँका नागरिकले सहयोग गर्नु भएको छ, नागरिक स्तरबाट सहयोग पाइएको छ ।’ 

प्रमुख प्रशासकीय अधिकृत नेपालीका अनुसार कोहलपुर नगर क्षेत्रमा अहिले ९ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरू सबै आइसोलेसनमा बसिरहेका छन् ।  सर्बपक्षिय बैठकमा उद्योग वाणिज्य संघका प्रतिनिधी स्वयं उपस्थित भएको र स्थानीय प्रशासनसँग पनि समन्वय गरेर बन्द गरिएको नेपालीले बताए ।  

तर, उक्त निर्णयप्रति कोहलपुरका उद्योगी, ब्यापारीले अहिले असहमति जनाएका छन् । निर्णयप्रति असहमति जनाउँदै कोहलपुर उद्योग वाणिज्य संघले नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाइसकेको छ । संघले नगरपालिकाको उक्त निर्णयलाई नमान्ने चेतावनी दिदै ब्यापार, ब्यवसाय सञ्चालन गर्न सार्वजनिक रुपमा आह्वान गरिरहेको छ । नगरपालिका र उद्योग वाणिज्य संघबीचको जुहारीले कोहलपुरका कतिपय सर्बसाधारण नागरिक अन्यौलमा परेका छन् ।  

संघका अध्यक्ष चक्रबहादुर अधिकारी नगरपालिकाले उद्योगी, ब्यवसायीको सुझावलाई बेवास्ता गरेर बन्द आह्वान गरेको हुँदा आफुहरूले असहमति जनाएको बताउँछन् । ‘कोहलपुरको जुन वडामा कोरोना संक्रमण देखियो, त्यहाँ मात्र बन्द गर्नुपथ्र्यो, अर्को कुरा हामीले सर्बदलिय बैठकमा भदौं ३ गतेसम्म बजार खोल्न र त्यसपछि भिडभाड भएमा भदौं ४, ५ र ६ गते बन्द गर्दा राम्रो हुने सुझाव दिएका हौं, तर नगरपालिकाले हाम्रो सुझावलाई पुरै बेवास्ता गर्यो,’ उनले भने । नगरपालिकाले गरेको निर्णयलाई कोहलपुरका आम ब्यापारी र सर्बसाधारण नागरिकले अहिले पालना नगरेको अध्यक्ष अधिकारीले बताएका छन् । कतिपय ब्यापारीले स्थानीय प्रशासनले गर्नुपर्ने काम कोहलपुर नगरपालिकाले गरेको टिप्पणी समेत गरेका छन् ।  

यता बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न कोहलपुर नगरपालिकाले स्थानीय सरकार कार्य सञ्चालन ऐन प्रयोग गरेर बन्द आब्हान गरेको बताए । स्थानीय सरकार कार्य सञ्चालन ऐनमा भएको ब्यवस्था अनुसार र कोभिड–१९ संकट ब्यवस्थापन अन्तर्गत कोहलपुर नगरपालिकाले आफ्नो क्षेत्रलाई बन्द गरेको उनको भनाई छ । ‘नगरपालिका पनि एउटा सरकार नै हो, उसले पनि आफ्नो अधिकार प्रयोग गरेर निषेधित क्षेत्र घोषणा गर्न पाउँछ,’ प्रजिअ कुरुङवाङले भने ।

प्रकाशित: १ भाद्र २०७७ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App