coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्सामा मेयर र पाँच वडाध्यक्षसहित थप ९८ जनामा कोरोना पुष्टि

पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायणप्रसाद रौनियार, पाँच जना वडा अध्यक्ष र जिल्ला अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्टसहित पर्सा जिल्लामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यिमध्ये ९२ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको रिपोर्ट अनुसार र ६ जनामा नारायणी अस्पतालको रिपोर्ट अनुसार पिसिआर जाँचमा कोरोना पुष्टि भएको हो।  

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि साउन २७ मा करिब १२ सय स्वाब नमुना टेकु पठाइएको थियो। जसमा पर्साका ९२ जनामा कोरोना पुष्टि भएको हो। आइतबार बेलुकी आएको रिपोर्टअनुसार पोखरिया नगरपािलकाका ३३ जनामा कोरोना पुष्टि भएको छ। मेयर रौनियारसहित उनको परिवारका ८ जना र उनका स्वकीय सचिवमा संक्रमण पुष्टि भएको छ।

नगरपािलकाकी उपप्रमुख सलमा खातुनले यसको पुष्टि गरेकी छिन्। उनका अनुसार पोखरियाका पाँच जना वार्ड अध्यक्षहरु बंका राउत, लक्ष्मण साह, नन्दलाल पटेल, रामबाबु चौहान र सोनालाल साहमा पनि संक्रमण पुष्टि भएको छ।  

त्यसतै पोखरीया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवसहित अरु तीन जना चिकित्सक र तीन जना स्वास्थ्यकर्मी पनि संक्रमित भएको पर्सा जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए। त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिकामा ४ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन्।

 गत साउन २६ गते वीरगन्ज– ११ श्रीपुरमा स्वाब संकलन गरिएकामध्ये ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा स्वाब संकलन गरिएकामध्ये २७ जनामा कोरोना पुष्टि भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाका क्वारेन्टाइनमा रहेकाहरुको र पहिलेका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाको जाँचबाट पनि नयाँ संक्रमित थपिएका हुन। साउनमा मात्र जिल्लामा साढे ११ सय बढी कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित: १ भाद्र २०७७ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App