२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घर फर्केकाहरूमा पुनः संक्रमण

कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बसेर घर फर्केहरूमा पुनः संक्रमण देखिएको छ। बैतडीको सुर्नया गाउँपालिका–७ का दुईजनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। कोरोना पुष्टि भएर पनि कुनै लक्षण  नदेखिँदा ती दुवैलाई १४ दिनको क्वारेन्टिन बसाइपछि स्वाब परीक्षणबिनै घर फर्काइएको थियो। उनीहरूको पुनः स्वाब परीक्षण गर्दा भने पोजेटिभ देखिएको हो।  

उनीहरूको सम्पर्कमा आएकाहरूको पनि पहिचान गरी स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख  महराले बताए।

समुदायमा कोरानो फैलिएको आशंकामा गाउँपालिकाका संक्रमितका सम्पर्कमा रहेका कम्तीमा दुईजनाको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भइरहेको महराले जानकारी दिए। जिल्लाका ३ सय २३ जना कोरोना संक्रमितमध्ये चारजना विभिन्न क्वारेन्टिन र आइसोलेसनमा बसिरहेका छन्। अन्य सबै डिस्चार्ज भइसकेका छन्। कोरोना पोजेटिभ देखिएर १४ दिनको क्वारेन्टिन बसाइँपछि लक्षण नदेखिएकालाई पुनः परीक्षणबिनै घर पठाइएको छ। यसले जिल्लामा कोरोनाको जोखिम पनि बढ्दै गएको छ।

पछिल्लो हप्ता पाटन नगरपालिकाका एक गर्भवती महिलामा संक्रमण देखिएको थियो। उनको कुनै ‘ट्राभल हिस्ट्री’ नभएकाले समुदायमा पनि संक्रमण फैलिएको अनुमान गरिएको छ। पछिल्लो समय सरकारले नै होम क्वारेन्टिनमा बस्ने निर्देशिका बनाएको र त्यसको पालना नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए।

प्रकाशित: ३१ श्रावण २०७७ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App