२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश ५ : कोरोनाको दैनिक प्रेस ब्रिफिङ गर्ने महाशाखा प्रमुखलाई नै संक्रमण

प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालको स्वाब लिदै स्वास्थ्यकर्मी । तस्बिर सौजन्य

प्रदेश नं. ५ मा कोरोनाको तथ्यांक अपडेट गर्ने बरिष्ठ स्वास्थ्य प्रशासकलाई नै कोरोना संक्रमण भएको छ । प्रदेशको  सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर प्रसाद चौधरीलाई  कारोना पोजेटिभ देखिएको हो ।  

डा चौधरी प्रदेश नं. ५ को कोरोना फोकल पर्सन हुन । मन्त्रालयको तर्फबाट डा चौधरीले नै हरेक दिन साँझ ५ बजे प्रदेशमा कोरोना संक्रमितको संख्या, अवस्था र प्रदेश सरकारको तयारीका सम्बन्धमा मिडिया ब्रिफिङ गर्दै आएका थिए । डा चौधरीले आफनो स्वाब परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको नागरिकलाई बताए । आफनो स्वास्थ्य अवस्था सामान्य रहेको र २ हप्ता होम आइसोलेसनमा बस्ने उनले बताए ।  

स्वास्थ्य महाशाखा प्रमुखलाई नै कोरानो संक्रमण देखिएपछि सामाजिक विकास मन्त्रालयका ४९ जना कर्मचारीको शुक्रबार स्वब टेष्टकालागि पठाइएको मन्त्रालयले जनाएको छ । सामजिक विकास मन्त्री सुदर्शन बरालको भने स्वाब परीक्षण गरीएकोमा रिपोर्ट नेगेटिभ आइसकेको छ । अन्यको रिपोर्ट भोली आउने मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयमा सर्बसाधरणलाई आवत जावतमा रोक लगाइएको छ ।  

आज ५६ जना संक्रमित थपिए  

प्रदेश नं. ५ मा शुक्रबार ५६ जना संक्रमित थपिएका छन ।  कपिलबस्तुमा ७जना सुरक्षाकर्मी सहित २६ जना संक्रमित थपिएका छन । बैंक तथा बित्तिय संस्थाका कर्मचारी,विद्यार्थी,स्वास्थ्यकर्मी,बस व्यवसायी,गैर सरकारी संस्थामा कार्यरत र गृहणीलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ । रुपन्देहीमा आज १५ जना संक्रमित थपिएका छन । संक्रमण देखिनेमा बुटवल र भैरहवाका धेरै छन । बैंकका कर्मचारी, बुटवल उपमहानगरपालिकाका कर्मचारी,एसबि आई बैकका कर्मचारी सहित ट्राभल हिष्ट्रि नभएका सर्बसाधारणमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कर्मचारीलाई कोरोना पुष्टि भएपछि एसबिआइ बैंक भैरहवा शाखाको सेवा बन्द गरीएको छ । शुक्रबार बाँकेमा ११ जना  बर्दियामा १३ जना संक्रमित थपिएका छन । दाङ र गुल्मीमा एक÷एक जना थपिएका छन ।  

यो प्रदेशमा शुक्रबार सम्म कुल संक्रमितको संख्या ४ हजार ९ सय ३१ छ । ती मध्ये ६ सय ७७ जना अहिले पनि बिभिन्न कोरोना अस्तपाल तथा आइसोलेसन सेन्टरहरूमा उपचारत छन । ४ हजार २७९ जना उपचार पछि निको भएर घर फर्कीएका छन । अहिले यो प्रदेशका बिभिन्न जिल्लामा २ हजार ११५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य निर्देशनालाईले जनाएको छ ।

पश्चिम नवलपरासीमा निषेधाज्ञा, सिद्धार्थनगरमा लकडाउन 

समुदायमा संक्रमण बढ्दै गएपछि प्रदेशका बिभिन्न जिल्ला र स्थानीय तहरूमा धमाधम लकडाउन गरीएको छ । रुपन्देहीको  सिद्धार्थनगर नगरपालिकाले शनिबार राती १२ बजेदेखि भदौ ५ गते सम्म नगरक्षेत्रमा पुर्णलकडाउन गर्ने भएको छ । आज (शुक्रबार) बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको मेयर हरिप्रसाद अधिकारीले बताए ।

खाद्यान्न, तरकारी,फलफुल,दुधजन्य पदार्थको बिक्रिकालागि  बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७बजे सम्मको समय तोकीएको छ । हाट बजारहरू बन्द हुने छन ।सिद्धार्थ राजमार्ग हँुदै चल्ने सवारीलाई नगरक्षेत्र भित्र रोक्न तथा  यात्रु चढाउन  र ओराल्न ओराल्न पाइने छैन । खाद्य पदार्थका गाडीलाई सामान लोड अनलोडकालागि बेलुका ७ देखि ११ बजे सम्मको समय तोकीएको छ । भैरहवा क्षेत्रबाट बुटवल लगायत तराइ तथा पहाडका थुप्रै जिल्लामा खाद्यान्न सप्लाई हुने भएकाले यस्तो व्यवस्था गरीएको नगरपालिकाले जनाएको छ ।  

बुटवल उपमहानगर पालिकाले यसअघि नै बिहिबार रातीदेखि भदौ ५ सम्मलाई लकडाउन गरीसकेको छ । देवदह नगरपालिकामा पनि यस अघि नै लकडाउन गरीसकेको छ ।

पश्चिम नवलपरासीमा  शनिबार राती देखि लागु हुनेगरी प्रशासनले निषेधाज्ञा जारी गरेको छ । समुदायमा संक्रमण फैलीने क्रम बढ्दा पनि बिभिन्न क्षेत्रमा भिडभाड र असावधानी बढेको भन्दै स्थानीय प्रशासनले ३१ गते राती १२ बजेदेखि भदौ ५ गते सम्मकालािग निषेधाज्ञा लगाउने निर्णय गरेको हो । नवलपरासी जिल्ला सुरक्षा समितिको  शुक्रबार बसेको बैठकले सो अवधी भर भेला,गोष्ठि,सेमिनार,सामुहिक जमघट गर्न नपाइने भनेको छ । सरकारी कार्यालय,बैंक बित्तिय संस्था  र विद्युत  बाहेकका अन्य सेवा बन्द गर्ने जनाएको छ । विशेष गरी तिज वा चार्डपर्व घरमै मनाउन आग्रह गरीएको छ । कपिलबस्तु, बाँके र बर्दियामा यसअघि नै निषेधाज्ञा र लकडाउन गरीएको छ ।  

बुटवलमा कारोनाको रिपोर्ट आधा घण्टामै आउने दृत सेवा सुरु

लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा कोभिड १९ को दृत परीक्षण सेवा सुरु भएको छ । आधा घण्टामै स्वाबको रिपोर्ट दिन सक्ने क्षमताको नयाँ मेसिन जडान गरी कोभिड १९ को दृत परीक्षण सेवा सुरु गरीएको अस्पालका मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनालले बताए । राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत उपलब्ध  जिन  एक्सपर्ट मेसिनलाई अपडेट गरी  एक्सपर्ट एक्सप्रेस सार्स कोभ–टु परीक्षण सेवा सुरु गरीएको अस्पतालका मेसु डा. खानालले जानकारी दिए ।  

दृत सेवाको शुक्रबार प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको स्वाब टेष्ट गरी उदघाटन गरीयो । मन्त्री बरालले पिसीआर रिपोर्ट आउन ढिलाई हुँदा उपचारमा समस्या भइरहेका बेला यो मेसीनले रिपोर्ट छिटो दिने भएकाले कोरोना उपचार सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।  

यो मेसीनले कोभिड १९ को संकास्पद व्यक्तिको स्वाब परीक्षण गर्दा ३० देखि ४५ मिनेट भित्रै रिपोर्ट दिने अस्पतालका मेसु डा. खनालले बताए । यो सेवा विशेष गरी जटिल र आकस्मिक रुपमा जाँच गर्नु पर्ने बिरामीकालागि  निशुल्क टेष्ट गरीने अस्पतालले जनाएको छ ।

प्रकाशित: ३० श्रावण २०७७ १७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App