८ वैशाख २०८१ शनिबार
समाज

कोरोना बढेपछि ठाउँठाउँमा निषेधाज्ञा, सिल र लकडाउन

कोरोनाको संक्रमण दर बढेपछि मुलकभरका विभिन्न स्थान विशेषमा लकडाउन, सिल र निषेधाज्ञा जारी गरिएको छ। संक्रमणको भयाभह स्थिति रोक्न केही स्थानीयस्तर र केही जिल्ला तहमा निषेधाज्ञा जारी तथा सिल गरिएको हो।  

प्रदशे १ को विराटनगर–९ र बूढीगंगा–१ मा आवतजावतमा रोक लगाइएको छ। मोरङको विराटनगर र बूढीगंगामा कोरोनाको संक्रमण समुदायस्तरमा देखिन थालेपछि त्यसको विशेष पहिचान गरेर वडामा आवतजावत पूर्ण बन्द गरिएको छ। विराटनगर महानगरपालिका–९ र बूढीगंगा गाउँपालिका–१ आइतबार साँझबाट मानिस तथा सवारी साधन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ।

विराटनगरको ९ नम्बर वडामा सबैभन्दा बढी संक्रमित भेटिएपछि प्रशासन कार्यालयले ७२ घण्टाका लागि रोक लगाएको छ। ट्राफिक चोकदेखि पश्चिम महेन्द्र चोकदेखि उत्तर शनि मन्दिरदेखि पूर्व जलजला मोड हँुदै दक्षिण मेनरोड, गुद्री बजारसम्म आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। प्रजिअ निरौलाका अनुसार विराटनगर र बूढीगंगा गाँउपालिकास्थित आरती स्ट्रिप्स क्षेत्रमा आवातजावतमा रोक लगाइएको हो।

बूढीगंगा–१ स्थित आरती स्ट्रिप्स क्षेत्रलाई लक्षित गरेर कडाइ गर्ने निर्णय आइतबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले गरेको प्रजिअ निरौलाले बताए। पुष्पलाल चोक पश्चिममा कोसी राजमार्ग, उत्तरमा टंकीसिनुवारी र दक्षिणमा महानगरपालिकाको ढाट क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि आवतजावतमा पूर्णरूपमा रोक लगाएको प्रजिअ निरौलाले जानकारी दिए।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यपारी, समुदायका मानिससमेत संक्रमित भेटिएपछि निषेधाज्ञा जारी गरिएको छ।

महानगरको विभिन्न वडा गरी हालसम्म २ सय ८३ जना संक्रमित पुष्टि भइसकेकामध्ये वडा नम्बर ९ मा २८ जना रहेका छन्। आइतबार सोही क्षेत्रमा एकै परिवारका ११ जनामा संक्रमण देखिएको थियो। आरती स्ट्रिप्समा कार्यरत २२ जनाभन्दा बढी कर्मचारीमा संक्रमण देखिएपछि उद्योगनै सिल गरेर कार्यरत सबै कर्मचारीलाई परीक्षणको दायरामा ल्याइने प्रजिअ निरौलाले जानकारी दिए।

प्रदेश २ का आठवटै जिल्लामा प्रशासन तथा स्थानीय तहले निषेधाज्ञालाई निरन्तरता दिएका छन्। प्रदेश २ का जिल्लामा कोरोना संक्रमण तीव्र गतिले बढेपछि निषेधाज्ञा जारी गरिएको हो।

स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यपारी, समुदायका मानिससमेत संक्रमित भेटिएपछि पर्सादेखि सप्तरीसम्म निषेधाज्ञा जारी गरिएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए।  

सप्तरीमा भदौ पहिलो सातासम्मका लागि निषेधाज्ञा घोषणा गरिएको छ। धनुषामा साउन महिनाभरिका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको छ।  

महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउपालिकाको २ वडामा भदौ १ गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ भने औरही नगरपालिकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। सम्सी गाउपालिकाले अत्यावश्यकबाहेकका सेवा ठप्प गरेको छ। सम्सी गाउपालिका, गौशाला नगरपालिका र औरही नगरपालिकाले नगर कार्यपालिकाको वैठकबाट निषेधाज्ञा जारी गरेको छ।

सप्तरी जिल्ला भरी नै भदौ २ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए। सर्लाही जिल्लामा साउन २७ गतेसम्म, पर्सा र बारा जिल्लामा अनिश्चितकालसम्म र रौतहट जिल्लामा पनि केही निषेधाज्ञा जारी छ। सिरहाको लहान, गोलबजार, सिरहा, मिर्चैैया नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।  

सोमबारसम्म प्रदेश २ मा संक्रमितको संख्या ५ हजार ७ सय ४१ पुगेको छ। मृतकको संख्या २८ पुगेकोे छ।  

बाग्मती प्रदेशको हेटौंडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित प्रादेशिक प्रयोगशालामा आइतबार गरिएको १ सय ४१ जनाको परीक्षणमा मकवानपुरका २३ सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, ठूलो संख्यामा सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि स्याङ्जामा निषेधाज्ञा लगाइएको छ भने पोखरा महानगरपालिकाभित्रका केही वडा सिल गर्न थालिएको छ। कतिपय वडाले अर्धसिलको शैली अपनाएका छन्। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पहिलो चरणमा साउन २२ गतेसम्म जिल्लामा निषेधाज्ञा लागु गरिएकोमा एक साता थपेर २९ गतेसम्म पु¥याइएको बताए। ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएपछि कन्ट्याक्ट टे«सिङका क्रममा जिल्लाभर निषेधाज्ञा लागु गरेर संक्रमण बढ्न नदिने प्रयास गरेको उनले बताए।  

गण्डकी प्रदेशको स्याङ्जामा उच्च अधिकृतसहित ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो। त्यस्तै एकजना कर्मचारीमा संक्रमण भेटिएपछि पोखरा महानगरपालिका–२७ नम्बर वडा कार्यालय साउन ३० गतेसम्मका लागि बन्द गरिएको छ। वडा अध्यक्ष पूर्णबहादुर गुरुङले वडा कार्यालयबाट दिने सबै सेवा बन्द गरेको जानकारी दिए।

संक्रमितको मृत्यु भएपछि पोखरा महानगरपालिका–१९ वडा सिल गर्ने तयारी भएको छ। वडाध्यक्ष शोभामोहन पौडेलले वडाभित्र संक्रमण फैलने त्रासले अहिले अर्धसिल गरेको र स्थानीय प्रशासनबाट अनुमति पाएपछि पूर्ण सिल गर्ने तयारी भएको बताए।  

शनिबार मृत्यु भएका ती पुरुष धर्म प्रवद्र्धक हुन्। उनी धर्म प्रचार गर्ने क्रममा समाजमा निस्फिक्री हिँडडुल गरेकाले संक्रमण फैलिएको अनुमान स्थानीयको छ। ती मृतकले घरमै धार्मिक कार्यक्रम चलाउँदै आएका थिए। साप्ताहिक रूपमा प्रत्येक शनिबार १५–२० जनासम्म अनुयायीलाई घरैमा भेला पारेर प्रवचन दिन्थे। यही क्रममा उनी स्याङ्जासमेत पुगेर आएका थिए। मृतक ती पुरुष ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’का प्रमुख थिए। उनी आफूलाई शक्तिशाली ठान्थे। त्यहि भएर पनि उनले कोरोना महामारीबीच पनि सच्चाई कार्यक्रम निरन्तर चलाएका थिए। उनको उपचारको क्रममा शनिबार राति पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।

यस्तै, प्रदेश ५ को बाँके÷बर्दियामा निषेधाज्ञा,कपिलवस्तु सिल गरिएको छ। बाँकेमा गत १८ गतेदेखि जारी भएको निषेधाज्ञा साउन २७ गतेसम्म रहनेछ। संक्रमित थपिने क्रम बढ्दै गएपछि निषेधाज्ञा बढाउनुका साथै नेपालगञ्ज उपमहानगरका मुख्यक्षेत्र शनिबारदेखि सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।

नेपालगञ्ज उपमहानगरपालिकाभित्रै ठूलो संख्यामा समुदायमा संक्रमण देखिएपछि उपमहानगरका विभिन्न क्षेत्र सिल गरी मुख्य सडकमै काँडे तार लगाइएको छ। धम्बोझी चोकदेखि सेतु विक चोक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग, बसपार्क क्षेत्रमा काँडे तार लगाएर निषेधाज्ञा कडा पारिएको छ। बाँकेमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द छन्। यो जिल्लामा पछिल्ला ५ दिनमा १ सय ५८ नयाँ संक्रमित भेटिएका छन्। प्रहरी, प्रदेश सांसद, नगरपालिका, राजस्व, यातायात, अदालतका कर्मचारी, चिकित्सक, नर्स, पत्रकार तथा व्यवसायी संक्रमित भएका छन्।

कपिलवस्तुमा साउन ३२ गतेसम्म लाकडाउन गरी अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ। पछिल्ला दुई दिनमा पुष्टि भएका ४२ मध्ये १३ जना बैंकका कर्मचारी छन्। बर्दियामा प्रशासनले २९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार बर्दियामा बैंकका कर्मचारी, जनप्रतिनिधि, थुनुवासहित ट्राभल हिष्ट्री नभएका सर्वसाधारणमा संक्रमण देखिएको छ। रूपन्देहीमा प्रशासनले बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्रै व्यवसाय तथा पसल सञ्चालन गर्नुपर्ने नियम बनाएको छ।  

त्यस्तै रूपन्देहीकै देवदह नगरपालिकाले बैंकका कर्मचारीलाई संक्रमण देखिएपछि लकडाउन गरेको छ। समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन समुदाय टेष्टिङ गरेपछि थप कदम चालिने नगरपालिकाका मेयर हीराबहादुर खत्रीले बताए। सैनामैनाले नगरभित्र सभा सम्मेलन गर्न रोक लगाएको छ। बुटवल उपमहानगर र तिलोत्तमाले भीडभाड नगर्न, मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।

सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, बझाङ, दार्चुलाका स्थानीय तहले लकडाउन घोषणा गरेका छन्। कैलालीको कैलारी गाउँपालिकामा साउन २१ गतेदेखि लकडाउन गरिएको थियो।  

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १२, १३ र १७ मा एक सातादेखि लकडाउन कायमै छ। क्वारेन्टिन बसेर घर गएकाहरूमा संक्रमण देखिएपछि ती वडामा लकडाउन गरिएको हो। बझाङको केदारस्यु गाउँपालिकाको वडा नम्बर ६ र ७, थलारा गाउँपालिकाको वडा नम्बर ७ मा साउन २० गतेदेखि लकडाउन गरिएको छ।

यस्तै सुदूरपश्चिमको दार्चुलामा पनि लकडाउन गरिएको छ। दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। दाचुलाकै नौगाड गाउँपालिकाले एक वडाबाट अर्को वडामा प्रवेश निशेष गरेको छ। नौगाड गाउँपालिकाले सूचना जारी गर्दै वडा नम्बर ४ सिप्टीको पूरै गाउँमा आवतजावत बन्द गराएको जनाएको हो।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ले पनि कोरोनाको जोखिम बढ्दै गइरहेको भन्दै मंगलबार राति १० बजेदेखि वडा सिल गरेको छ। भीमदत्त नगरपालिका १२ र १३ को सीमानामा भारतबाट आएका र होम क्वारेन्टिनमा बसिरहेका एकजनामा संक्रमण देखिएपछि वडालाई सिल गर्ने निर्णय गरिएको हो। त्यसैगरी जुम्लाको चन्दननाथ नगरपालिकामा पनि लकडाउन गरिएको छ।

यस्तै प्रदेश ३ को राजधानी हेटौंडामा पनि निषेधाज्ञा जारी गरिएको छ। हेटौंडा उपमहानगर र पश्चिम मकवानपुरको मनहरि गाउँपालिकामा पर्ने पूर्व–पश्चिम(महेन्द्र) राजमार्गको दायाँ–बायाँ ५÷५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।  

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि साउन ३२ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम रहने जनाएको छ। यसैबीच, मकवानपुरमा कोरोना भाइरस संक्रमितको सख्या ८३ पुगेको छ। मकवानपुरमा आइतबार सबैभन्दा धेरै २३ जना कोरोना संक्रमित पुष्टि भएपछि सामाजिक सञ्जालमा लकडाउन गर्नुपर्ने आवाज उठाएका थिए। यसअघि सबैजसो कोरोना संक्रमित विदेशबाट घर फर्किएका रहेका थिए।

(सुदूरपश्चिम ब्युरो, मिथलेश यादव/लाहन, रेखा भुषाल/रूपन्देही, सन्तोष पोखरेल/पोखरा, चुमन बस्नेत/विराटनगर, अशोकसुजन श्रेष्ठ/हेटौंडा)

प्रकाशित: २७ श्रावण २०७७ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App