८ वैशाख २०८१ शनिबार
समाज

आँखाअगाडि बगर बन्यो धानखेत

धादिङको गजुरी गाउँपालिका–७ किरान्चोकका रामकृष्ण अधिकारीले गत असार अन्तिम साता ४ रोपनी खेतमा धानखेती गरे। धानको बीउ देखि रोपाइसम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ। अविरल वर्षासँगै आएको बाढीले धानखेतीलाई बगर बनाइदिएको हो। धानखेतीबाट वर्षदिन खाना पुग्ने किसानलाई अर्को वर्ष के खाने भन्ने चिन्ता बढ्न थालेको छ। धानखेती गरेर उब्जनी बढाउने रामकृष्णको सपना बगरमा परिणत भएको छ।  

धान रोपाइ गर्दा पानीको, मजदुरको, मलबीउको अभाव, महंगो ज्यालालगायतका समस्या थिए। जसो त सो गरिएको धानखेती छिनभरमै बगरमा परिणत हुँदा चिन्ता बढाइदिएको उनी बताउँछन्। ‘ठूलो मेहनत गरेर खेतमा धान रोपेका थियौँ, अविरल वर्षासँगैको बाढीले एकरातमै बगरमा परिणत बनायो,’ उनले भने, ‘अब फेरि खेतबारीमा धान रोप्ने बीउ छैन, यो वर्ष खेत बगर नै हुने भयो। अब अर्काे वर्ष मर्मत गरेर मात्रै खेतमा धान रोपाई गर्छौं।’ दुई वर्ष पहिले पनि बाढीले यहाँका खेतबारीमा बाढी आउँदा बगर भएको थियो। स्थानीय किसानले मर्मत गरेर पुनः धान रोपाई गरेका थिए।  

खेतबारी बाढीले बगरमा परिणत बनाएपछि स्थानीय तहका जनप्रतिनिधहरूले राहात सहयोग उपलब्ध गराउने बताएका थिए। तर अहिलेसम्म पनि आफूहरूले कुनै सहयोग नपाएको स्थानीयवासीको गुनासो छ। बाढीले गजुरी गाउँपालिकाको ७ र ८ नम्बर वडामा रहेका किसानको खेतीयोग्य जमिनमा क्षति गरेको हो। वर्षाका कारण साना खोलामा पनि पानीको बहाव बढेर खेतमा बाढी आउँदा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ। धान रोपाई गरिएको खेतमा अहिले ढुंगा, माटो र बालुवाले पुरेको अर्का स्थानीय किसान चिना  अधिकारीले बताए।  

गजुरी गाउँपालिकाको २५ रोपनी धानबाली बगरमा परिणत भएको छ। त्यसको क्षति संकलन कार्य भइरहेको छ। तीन रोपनी खेतमा धान लगाएकी चिना अधिकारी पनि बाढीले धानखेती बगर बनाइदिएपछि चिन्तित छन्। ‘कोरोनाको त्रासकाबीच रोपाई गरिएको खेतबारी आँखै अगाडी बगरमा परिणत हुँदा वर्षभरी के खाने भन्ने चिन्ता बढेको उनको भनाइ छ।  

अविरल वर्षाका कारण जिल्लाका अधिकांश खेतमा क्षति पुगेको छ। अघिल्ला वर्षहरूमा पनि यस्तै समस्या झेल्दै आएका पनि आफूहरूको समस्या समाधानका लागि कसैले चासो नदिएको किसानको गुनासो छ। खेतबारीलाई बाढीबाट बचाउन पटक पटक आग्रह गर्दा पनि आफूहरूको मागलाई कसैले पनि चासो नदिएको चिनाले बताइन्।

प्रकाशित: २५ श्रावण २०७७ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App