१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डुबानले खाद्यान्न र धानबाली नष्ट

डुबानले नष्ट भएको धान खेती। तस्बिरः नागरिक

अघिल्लो साताको बुधबार अविरल वर्षापछि कैलालीको भजनी गाउँपालिकाका बस्तीमा बाढी पसेर २ हजारभन्दा बढी परिवारका घर डुबे। एक साता बित्दा पनि पानीको सतह नघटेर ती घर डुबिरहे। एक्कासि बाढी आउँदा हतारहतार भागेर ज्यान जोगाएका उनीहरूले धान, चामल, गहुँलगायत खाद्यान्न लान भ्याएनन्। भण्डारण गरिएको खाद्यान्न नष्ट भयो। लामो डुबानले खेतको धानमा पनि पूर्ण रूपमा क्षति पुग्यो। पानीको सतह घटिसक्दा पनि भजनीवासी खुसी हुन सकिरहेका छैनन्।  

अहिले मात्र होइन, आगामी वर्ष पनि कसरी परिवार बाच्ने भन्ने समस्या सिर्जना भएको भजनी–८ सोनाफा“टाकी देवी चौधरीले बताइन्। ‘बाढीले घर पनि भत्काएको छ,’ उनले भनिन्, ‘अब कहाँ बस्ने भन्ने चिन्ता पनि थपिएको छ।’ सोही वडास्थित गोड्चौराका पुनाराम चौधरीको घर पुरै भत्किएको छ। पानी जमिरहँदा भण्डारण गरिएको धान खान अयोग्य भएको छ। ‘एक साता डुबान हुँदा घरभित्रका सरसमान पनि नष्ट भएका छन्,’ उनले भने, ‘६ जनाको परिवार छ। पैसाको जोहो कसरी गर्ने ? अब भोकमरी हुने भयो।’

गोड्चौराकै गोपीराम चौधरीले अढाई बिघा जमिनमा लगाएको धानबाली पुरै नष्ट भएको छ। ‘जीविकोपार्जनको आधार यही धानखेती थियो, बाढीले पुरै नष्ट गरिदियो,’ उनले दुःखेसो व्यक्त गरे। सोही गाउ“की सविता चौधरी एक साताको सडकबासपछि घर फर्किन् तर खुसी हुन सकिनन्। घरमा पुगेको क्षतिले उनलाई झन् पीडा भयो। ‘भण्डारण गरिएको धान, गहु“, तोरी सबै बाढीले बगायो,’ उनले भनिन्, ‘अब खानका लागी केही बाँकी रहेन।’ उनको पनि खेतबारीमा लगाएको धान सबै नष्ट भएको छ।

अघिल्लो साताको बुधबार आएको बाढीले भजनी–२, ३, ५, ६, ७ र ८ मा घर र खेतबारी डुबानमा परेका थिए। भजनीको कृषि शाखा प्रमुख कमल चौधरीले नगरपालिकाभित्र ३ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती नष्ट भएको बताए। बाढीले खेतसमेत कटान गरेको छ तर धेरै क्षति भने पानी जमेर भएको उनको भनाइ छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको उनले बताए।

पथरैया नदी तटबन्ध भत्काएर गाउँमा पस्दा भजनी–८ का दैलेखी टोल, कुसमघाट, कृष्णनगर, गोडचौरा, खैरा, जनकपुर, बहादुरपुर, काडाढिक र सोनाहफाटा गाउँ डुबानमा परेका थिए भने काडा नदी पनि ढुसीमा तटबन्ध भत्काएर बस्तीमा पसेको थियो।

डुबानपछि विस्थापित भएका भजनीवासी एक साता हुलाकी सडक लगायतमा बसे। अधिकांशले चाउचाउ र चिउराकै भरमा दिन उक्त अवधि गुजारे। पानीको सतह घटेपछि प्रायः परिवार घर फर्केका छन। घर फर्के पनि बाढीले पुर्याएको क्षतीले उनीहरूको बिजोग भएको छ। बाढी र डुबानका कारण तीनजनाको ज्यान गएको थियो। ज्यान जानेमा भजनी–८ का ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र ११ वर्षीय स्केल चौधरी हुन्।

भजनीलगायत क्षेत्रमा बर्सेनि बाढीले डुबान हुने गर्छ। बाढीको पूर्वतयारी, बाढीपछि उद्धार र बाढीपीडितको समस्या समाधानका लागि दिगो व्यवस्थापनमा सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ। ‘हामीले सधैं वर्षात्मा यही समस्या भोग्दै आएका छौं, दिगो समाधानको योजना ल्याउन माग गर्दागर्दा थाकिसक्यौं,’ स्थानीय सुमेन्द्रबहादुर चौधरीले भने, ‘दिगो समाधानको योजना ल्याएर सधैका लागि हाम्रो समस्याको अन्त्य गरियोस्।’

प्रकाशित: २४ श्रावण २०७७ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App