२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धादिङमा नदीजन्य पदार्थ उत्खननमा रोक

त्रिशुली नदीबाट बालुवा झिक्दै मजदुरहरू । फाइल तस्बिर : सरिता/नागरिक

धादिङ जिल्लामा त्रिशुली नदी र आसपासका खोलाहरूबाट बालुवा लगायत कुनैपनि प्रकारका नदी र खोला जन्य वस्तु उत्खननमा रोक लगाएको छ । ढुङगा, बालुवा र गिट्टी निकाल्ने बहानामा नदी उत्खनन कार्य बढेको भन्दै यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यलय धादिङले रोक लगाएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘जथाभावी नदी उत्खननले त्रिशुली नदीलाई नै कुरुप बनाएको छ, वर्षायाममा नदीमा बाढी आई धेरै मजदुरहरूको मृत्यु समेत भएको छ,’ प्रजिअ तामाङले भने, ‘त्यसैले त्रिशुली नदी लगायत सबै खोलाहरूबाट नदी र खोला जन्य वस्तुहरूको उत्खननमा रोक लगाएका हौँ ।’

पछिल्लो समय त्रिशुुली नदीमा रातारात अबैध उत्खनन बढेको छ । प्रशासनको आँखा छलेर त्रिशुली नदीको वेल्खु, जिन्टे, घाटवेशी, दारेगौडा, पन्युघट्ट, मलेखु, थोपल, आँखु लगायतका वगरहरूमा रातारात उत्खनन र श्रोतहरूको ओसारपसार भइरहेको छ । विभिन्न माध्यम र साधनको प्रयोग गरि रोडा ढुंगा उत्खनन र निकासी भैरहेको स्थानीयहरूले बताएका छन् । नदीजन्य वस्तुको उत्खनन र निकासी स्थानीय प्रशासनले रोक लगाएको भनेपनि अबैध रुपमा अहिले पनि चलिरहेको छ ।

लकडाउनका समयमा समेत नदीबाट दर्जनौ मेशिनहरूले लाखौ मुल्य बरावरको बालुवा, ढुङगा र गिटी दैनिक सयौ टिपको संख्यामा उत्खनन र ओसारपसार भएका थिए । वर्षातको समयमा त्रिशुली नदीमा बाढी आउनासाथ नदी किनारामा बालुवा निकाल्ने मानिसहरूको भिड लाग्ने गर्छ । बाढीका कारण वर्षेनी नदीले बगाएर मजदुरहरूको ज्यान समेत जाने गरेको छ । मजदुरहरूको जीउधनको सुरक्षाका साथै नदीजन्य वस्तुहरूको अबैध उत्खनन रोक्नका लागि जिल्ला प्रशासन कार्यालय धादिङले अर्को निर्णय नभएसम्मका लागि बन्द गराएको हो ।  

पहिले त्रिशुली नदीमा मेशिनको प्रयोग गरी नदीजन्य उत्खनन गर्न नपाईने भएकोमा यस वर्षबाट भने मानिसहरूको समेत प्रयोग गरेर नदी र खोला जन्य वस्तु निकाल्न नपाईने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । ‘मानिस आफै र मेसिन लगाएर नदी उत्खनन कार्य बढ्दो छ’, प्रजिअ तामाङले भने, ‘यदि कसैले स्थानीय प्रशासनको आदेश पालन नगरी त्रिशुली नदी र अन्य खोलाहरूबाट नदीजन्य वस्तुहरू निकालेको पाइएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।’

त्रिशुली नदी किनारामा संचालित क्रसर ।  

नदी र खोलाबाट बालुवा निकाल्ने मजदुरहरूलाई ठेकेदारहरूले काम लगाउने गरेका छन् । बालुवा झिक्ने क्रममा नदीले बगाएर ज्यान गएमा क्षतिपूर्ति समेत नपाउने भएपछि उत्पन्न समस्या समाधानका लागि पनि उत्खननमा रोक लगाएको हो । विशेष गरि वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने तथा बाढी आउने हुदाँ यो समयमा मजदुरहरूको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको प्रजिअ तामाङले बताए ।  

अबैध उत्खननले नदीको सतह दविएको मात्र नभई ठाँउठाँउमा खोलाको धार नै परिवर्तन गरिएको छ । जलपर्यटन, धार्मिक सास्कृतिक परम्परा र जैविक विविधतालाई समेत नराम्ररी धक्का पर्ने गरी लेदो माटो नदीमा मिसाईएको छ । जिल्लाको राजमार्ग क्षेत्रमा मात्रै ८१ ओटा फिरफिरे रहेको छ । ४० भन्दा बढी फिरफिरे छन् । जिल्लामा त्रिशुली नदी लगायत अन्य खोलाहरूमा हरेक वर्ष हजारौं मजदुरहरू बालुवा निकाल्ने काममा संलग्न हुने गरेका छन् ।  नदीजन्य पदार्थ उत्खननमा रोक लगाएपछि मजदुरहरूको सुरक्षा, प्राकृतिक सम्पदाको संरक्षण तथा त्रिशुली बचाउ अभियानमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।  

प्रकाशित: २० श्रावण २०७७ १०:३६ मंगलबार

अवैध उत्खनन् नदीजन्य पदार्थको दोहन