४ वैशाख २०८१ मंगलबार
समाज

बाँकेमा दिनहुँ बढ्दै कोरोना संक्रमित, उपमहानगरपालिका सिल

कोरोना संक्रमित बढेपछि शिल गरिएको नेपालगन्ज उपमहानगरपालिका कार्यालय । तस्बिर : नागरिक

बाँकेमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले आइतबारबाट जिल्लाभर लागु गरेको निषेधाज्ञा जारी छ । जिल्लामा सोमबार पनि संक्रमितको संख्या बढेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार सोमबार नेपालगन्ज उपमहानगरपालिकाका एक जनप्रतिनिधीसहित ११ जनामा कोरोना संक्रमण देखिएको छ ।  

यसअघि आइतबार पनि डाक्टर सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण नियन्त्रण उन्मुख भइरहेका बेला बाँकेमा पुनः समुदाय स्तरमा संक्रमण फैलिन थालेको हो । केहीदिन अघि समुदाय स्तरमा एकै पटक २७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । नेपालगन्जको त्रिभुवन चोक क्षेत्र तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र बाँके जिल्ला अदालतबाट कोरोना संक्रमित फेला परेका थिए ।  

पछिल्लो पटक जनप्रतिनिधीसहित उपमहानगरपालिकाका अन्य ७ जना कर्मचारीलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना संक्रमित अन्य ३ जना भने बैंकिङसहित अन्य पेशा ब्यवसायमा आवद्ध व्यक्ति हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमित व्यक्तिलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, लायन्स डेन्टल अस्पताल र आर्दशनगर आइसोलेसन सेन्टरमा राखिएको छ ।

संक्रमित मध्ये ८ जनामा कुनैपनि स्वास्थ्य समस्या नभएको र तीन जना व्यक्तिमा ज्वरो, श्वास प्रश्वास सम्बन्धी लक्षण देखिएको उनले बताए । पछिल्लो पटक फेला परेका संक्रमितलाई चार वटा आइसोलेसन सेन्टरमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

जिल्लामा अहिलेसम्म ४ सय ४६ जना कोरोना संक्रमित फेला परिसकेका छन् । त्यसमध्ये ३ सय ८८ जना डिस्चार्ज भएका छन्, भने २ जनाको मृत्यु भएको छ । बाँकेका ५४ जना संक्रमित आइसोलेसनमा भर्ना भएका छन्, भने बर्दिया, दैलेख, जुम्ला र प्युठान लगायत जिल्ला बाहिरका ११ जनालाई आइसोलेसनमा राखिएको छ ।  

कार्यालयका जनप्रतिनिधी तथा कर्मचारीमा कोरोना संक्रमण भएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालय सोमबारबाट शिल गरिएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले कार्यालयका जनप्रतिनिधी तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भएकोले शिल गरिएको बताए । ‘संक्रमणको उच्च जोखिमका कारण अर्को सूचना जारी नभएसम्मको लागि कार्यालय पुर्ण रुपमा सिल गरिएको छ,’ उनले भने ।

प्रकाशित: १९ श्रावण २०७७ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App