१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा कोरोना समुदायस्तरमा फैलिएको आशंका

कर्मचारीमा संक्रमण पाइएपछि मालपोत कार्यालय ‘सिल’

कर्मचारी संक्रमित पाइएपछि सिल गरिएको मालपोत कार्यालय । तस्बिर : महेश्वर/नागरिक

पछिल्लो २४ घन्टामा एक कर्मचारी र दुई व्यापारीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै उदयपुरमा समुदायस्तरमा संक्रमण फैलिएको निश्कर्ष निकाल्दै प्रशासनले सतर्क रहन सबैलाई सचेत गराएको छ । बेलका नगरपालिका–९ रामपुर बजारका दुई व्यापारीमा संक्रमण देखिएको २४ घन्टा नबित्दै मालपोत कार्यालयकै कर्मचारीमा संक्रमण पुष्टि भएपछि समुदायस्तरमा कोरोना पैmलिएको निश्कर्ष निकालिएको हो ।  

बिहीबार विहान मालपोत कार्यालयका ३४ वर्षीय पुरुष कर्मचारी संक्रमित पुष्टि भएपछि शुक्रबार विहानदेखि कार्यालय ‘सिल’ गरिएको छ । बेलकाको रामपुर बजारमा अघिल्लो दिन विहानदेखि नै आउजाउ गर्न पूर्ण रोक लगाइएको छ ।

संक्रमित कर्मचारीलाई उपचारार्थ आईसोलेसनमा पठाउने तयारी गर्दै उनको ‘ट्राभल हिस्ट्री’ बुभ्mने र ‘कन्ट्याक्ट ट्रेसिङ’को काम भईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भाईरस समुदायस्तरमा फैलिएको निश्कर्ष निस्केपछि प्रशासन, प्रहरी र स्थानीय तहसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।  

बिहीबार बेलका ९ रामपुरका एक महिलासहित दुई व्यापारी संक्रमित पुष्टि भएका थिए । उनीहरू कपडा व्यापारी र होटल व्यवसायी भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताएका छन्। उनीहरूमा संक्रमण देखिएको २४ घन्टा नबित्दै मालपोत कर्मचारी संक्रमित पाइनुले कोरोना समुदायस्तरमा पुगिसकेको निश्कर्ष निस्केकाले सबै सचेत हुनुपर्ने सुवेदीले बताए ।  

पछिल्लो संक्रमितसँगै उदयपुरमा संक्रमितको संख्या ८८ पुगेको छ । जसमध्ये सदरमुकाम त्रियुगा नगरपालिकामा ५१, बेलकामा २४, कटारीमा ७ र चौदण्डीगढी नगरपालिकामा १ संक्रमित पत्ता लागेको छ ।  

त्यस्तै उदयपुरगढी गाउँपालिकामा २ तथा ताप्ली गाउँपालिकामा ३ जनामा संक्रमण देखिएको छ भने लिमचुङबुङ र रौतामाई गाउँपालिकामा अहिलेसम्म कोही संक्रमित नदेखिएको स्वास्थ्यले जनाएको छ । स्वास्थ्यले १ हजार २ सय ९९ महिला र ३ हजार ८ सय १४ पुरुषको स्वाब परीक्षण गरिसकेको छ ।  

स्वास्थ्य प्रमुख सुवेदीले सदरमुकाममा सुरुमै देखिएको संक्रमणलाई निकै मेहनेतका साथ नियन्त्रणमा लिन सफल भए पनि अन्ततः समुदायस्तरसम्म भाईरस फैलिएरै छाडेको बताए । लकडाउनको समेत पूर्ण पालना नहुनु तथा भारतबाट फर्कनेहरूमा धमाधम संक्रमण देखिदै गएकाले लकडाउन खोल्नुले भाईरस समुदायस्तरसम्म पुगेको उनको बुझाई छ ।

उदयपुरमा पहिलो पटक वैशाख ५ गते त्रियुगा ३ भुल्केस्थित नुरी मस्जिदमा ११ भारतीय र १ नेपाली जमातिमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि वैशाखभरी मस्जिद र भुल्के आसपासका ३२ जना मुस्लिम समुदायमा देखिएको र त्यसपछि जेठ १ गते एक पत्रकारमा देखिएको थियो । त्यसपछि झण्डै दुई महिनासम्म संक्रमित नदेखिएकोमा पछिल्लो समय भारतबाट फर्केर क्वारेन्टिनमा राखिएकाहरूमा धमाधम संक्रमण पुष्टि हुँदै आएको छ ।  

संक्रमितमध्ये १३ बाहेक अन्य सबै निको भएर डिस्चार्ज भईसकेका छन् । हाल १२ महिलासहित १ सय ११ जना बिभिन्न क्वारेन्टिनमा राखिएका छन् भने १३ जना चौदण्डीगढीको बेलटारस्थित कोरोना अस्पतालको आईसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्यका फोकल पर्सन लौकाजी राईले बताएका छन् ।

मास्क नलगाए कारबाही

एकपछि अर्को संक्रमित भेटिँदै गएपछि कोरोना समुदायस्तरमा फैलिएको भन्दै सकेसम्म बिना काम घरबाहिर ननिस्कन र निस्कनुपरे अनिवार्य मास्क प्रयोग गर्न, सेनिटाईजर र दुई मिटर दुरी कायम गर्न निर्देशन गरेको छ । निर्देशन उल्लंघन गरे कारबाही गरिने चेतावनी समेत दिइएको छ ।  

जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै कोरोनाबाट बच्न सबैले अनिवार्य मास्क लगाउन, दुरी कायम गर्न, अनावश्यक भेला र जमघट नगर्न आग्रह गर्दै त्यसो नगरेको पाइए संक्रामक रोग ऐन अनुसार पक्राउ गरी जरिवाना र थुनामा राख्ने चेतावनी दिएको छ ।

प्रकाशित: १६ श्रावण २०७७ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App